Logo
१८ बैशाख २०८१, मंगलबार
(April 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवनमा प्यारामोटर उडाएर मिनी एयरक्राफ्ट बनाउने तयारी

चितवन : प्यारामोटर उडाएर मिनी एयरक्राफ्ट (मिनी जहाज) बनाउने तयारीमा जुटेका चितवन राप्ती नगरपालिकाका सरोज चेपाङको प्रतिभालाई प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रशंसा गरेका छन् ।

चेपाङले निर्माण गर्न लागिएको मिनी जहाजको स्थलगत निरीक्षणपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले पैसाको अभावमा कुनै काम नरोकिने प्रतिवद्धता व्यक्त गरे ।

भरतपुरमा आज सरोजसँग भेट गर्नुहुँदै मुख्यमन्त्री पौडेलले भने, “तपाईंमा क्षमता छ, नआत्तिनुस्, निर्र्धक्क भएर काम गर्नुस्, पैसाको कारणले काम रोकिँदैन ।”

चितवन उद्योग संघको आयोजनामा आजदेखि शुरु औद्योगिक प्रदर्शनीमा सहभागी हुन मुख्यमन्त्री पौडेल चितवन आएका थिए । प्रदर्शनीको उद्घाटन समारोह सकिएपछि उनले चेपाङसँग भेट गरेका हुन। प्रदर्शनीमा चेपाङको प्रतिभालाई उजागर गर्ने उद्देश्यले स्टल उपलब्ध गराइएको छ ।

सो क्रममा प्रदेश नं ३ का उद्योग तथा पर्यटनमन्त्री अरुण नेपालले प्रतिभाको प्रशंसा गर्दै आवश्यक सहयोग हुने प्रतिबद्धता जनाए ।

भेटमा सरोज चेपाङले भने, “हजुरहरु सबैले सहयोग गर्नुहोला, मसँग पैसा छैन ।” उनले पैसा भए मिनी एयरक्राफ्ट चार महिनामा उडाएर देखाउने दाबीसमेत गरे ।

चितवनको राप्ती नगरपालिका–२ गड्यौलीका सरोजले स्थानीय स्रोतसाधनको प्रयोग गरेर निर्माण गरेको प्यारामोटर चैत ४ गते उडाकन थिए। ६ कक्षासम्म मात्रै अध्ययन गरेका सरोजले एक महिना लगाएर एक्लैले प्यारामोटर निर्माण गरेको बताए ।

प्यारामोटर निर्माण गर्न उनले मोटरसाइलकोे एउटा पुरानो इन्जिन, एउटा प्यारासुट, ठेलाको टायर, क्लज, ब्याट्री, स्टिल, आलमुनियम र काठको पंखा बनाएर प्रयोग गरिएको थियो ।

परीक्षणस्वरुप सरोजले उडाएको प्यारामोटर ४० मिनेटसम्म आकाशमै घुमेको थियो । आर्थिक अभावका कारण मिनी एयरक्राफ्ट निर्माणमा समस्या भएको उनकी आमा लीला प्रजाले बताए । सरोज अहिले चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा प्यारामोटर र निर्माणाधीन मिनी एयरक्राफ्ट लिएर बसेका छन् । (रासस)

प्रकाशित मिति: Apr 6, 2018

प्रतिक्रिया दिनुहोस्