Logo
१८ बैशाख २०८१, मंगलबार
(March 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शैक्षिक माफियाहरुको बिगबिगी : जनता जाग्नु आवश्यक

कपिलदेव यादव

नेपाल भित्रकै शैक्षिक माफियाहरुले गर्दा नेपालको शिक्षाको स्तर र हाम्रो अमुल्य संस्कृति दिनानुदिन खस्किँदै गएको छ । नीजि विद्यालयहरुले मनोमानी गर्दै लुटतन्त्र मच्चाएको छ भने सरकारी विद्यालयहरुको अभिभावकको रुपमा रहेको शिक्षा कार्यालयहरु घुसतन्त्रको अखाडा बनेको छ । सरकारी तथा सामुदायिक विद्यालयहरुमा बिद्यार्थीहरुमा मात्र नभई शिक्षकहरुमा समेत अनुशासन एवं शैक्षिक कार्यतालिका प्रतिको उदासिनता चरममा पुगेको छ ।

सिधा शब्दमा भन्ने हो भने शिक्षकहरु पाउने तलब बाहेक केही पनि देखिँदैन । बिद्यालयको अनुगमन गर्ने सरकारी कर्मचारी श्रोतव्यक्तिहरु अनुगमनमा जाने घटना विरलै घटने गरेको छ । प्रधानाध्यापकहरु महिनाको अन्त्यमा गएर तलब उठाउने र सो पछि बिद्यालयको मुख पनि हेर्न नजाने र आफु भन्दा जुनियर शिक्षकलाई बिद्यालयको जिम्मेवारी दिई जिल्ला शिक्षा अधिकारीको लगायतको व्यक्तिहरुको चाकडीमै बिताउने प्रवृति सामान्य बन्दै गएको छ । दुर्भाग्य त के हो भने यस्तो प्रवृतिलाई नागरिकको आँखाको रुपमा रहेको देशको तथाकथित चौँथो अंग संचार जगतले पनि सहजै पचाएको छ ।

विद्यालयको साटो जिल्ला शिक्षा कार्यालयमा गएर हाजिर बनाउनुलाई ठुलो शान ठान्ने प्रधानाध्यापकहरुको कारण सयौं बालबालिकाको भविष्य अनिश्चित बनेको विकराल अवस्था छ । बालविकास ,स्थायी एवं अस्थायी वा विभिन्न श्रोतबाट शिक्षक राख्नु पर्ने हुँदा एक लाख पचास हजारबाट सुरु भई तीन लाख पचास हजार वा सो भन्दा धेरैको चलखेल सामुदायिक तथा सरकारी विद्यालयहरुमा सजिलै हेर्न पाईन्छ । जिशिअ ,श्रोतव्यक्ति तथा प्रधानाध्यापकहरुको पेट हो कि जानकी मन्दिरको गेट बुझनै गाहै हुने अन्योलता छ । शिक्षा बिनाको जीवन मृत सरहनै मानिने यस युगमा यस्ता गैरजिम्मेवार व्यक्तिहरुको पेट कसले भरिदिने हो कानुनले कि जनताले या नेता वा विद्यार्थीहरुले भन्ने यक्ष प्रश्न उब्जेको छ ।

यता नीजि विद्यालयहरु बोर्डिंग विद्यालय हुन कि दमकल विद्यालय त्यो त मलाई थाहा भएन तर नीजि विद्यालयको आफनै खासियत भने रहेको छ । एका तिर नीजि विद्यालयहरुले ईयरली ,हाफयरली ,के के के विभिन्न बहानामा अभिभावकहरुलाई दिन दहाडै लुटने गरेको छ भने अर्को तर्फ कामदारहरुको चरम शोषण गर्ने गरेको छ । सरकारी तथा सामुदायिक विद्यालयहरुलाई नै सुधार गर्न सकिए देश हाँक्ने उर्जावान ,अनुशासित एवं सभ्य समाजको निर्माण गर्न सकिन्छ । मंगल ग्रहमा जाने तयारी भईरहेको विकासोन्मुख युगमा कुनै पनि मुलुकको समृद्धि ,विकास एवं प्रगतिको निम्ति शिक्षा अत्यन्त संवेदनशिल तत्व भएको हुनाले अब जनता जाग्नुको कुनै विकल्प छैन । जाग्नै पर्छ ।

प्रकाशित मिति: Mar 5, 2018

प्रतिक्रिया दिनुहोस्