Logo
२३ बैशाख २०८१, आईतबार
(December 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जापानको सफ्ट बैंकले किन्यो अमेरिकी उबरको ठूलो हिस्सा सेयर

प्रख्यात अमेरिकी ट्याक्सी सेवा प्रदायक कम्पनी उबरको ठूलो हिस्सा सेयर जापानको टेक कम्पनी सफ्ट बैंकले किन्ने भएको छ । सन् २०१९ मा पब्लिक सेयर अफरिङका लागि तयारी गरिरहँदा आफ्नो बोर्डको संरचना सुधार्ने र विगतका स्क्यान्डल एवं गलत कदमहरुबाट बाहिर निस्किने प्रयासका क्रममा उबरले यो कदम चालेको हो ।

सफ्ट बैंकले उबरको हालको मूल्यबाट ३० प्रतिशत छुटमा १५ प्रतिशत इक्वीटी सेयर हासिल गर्नेछ । यो सम्झौताले जनवरीमा पूर्णता प्राप्त गर्ने जनाइएको छ । सफ्टबैंकले १५ प्रतिशत सेयरको लक्ष्य हासिल गर्नका लागि लगानीकर्ताहरुसँग सहमति गरिसकेको पनि स्रोतको भनाई छ ।

मूल्यांकनको विस्तृत विवरण दुवै कम्पनीहरुले उपलब्ध गराएका छैनन् तर स्रोतका अनुसार उबरको ४८ अर्ब डलर मूल्यमा आधारित रहेर लगानी गरिएको हो । जबकि यसै वर्षको आरम्भमा उबरको मूल्यांकन ७१ अर्ब डलर गरिएको थियो । अब उबरमा सफ्ट बैंकको लगानी ७.७ अर्ब रहने छ, जसमा यसै वर्ष हालिएको १ अर्ब डलर पनि समावेश छ ।

यसअघिको लगानी उच्च मूल्यांकनमा गरिएको थियो र सेयर पुनः खरिद न्यून मूल्यमा गरिएको थियो । यसबाट उबरको समग्र मूल्यांकन ५४ अर्ब डलर कायम भएको छ । यो लगानी प्रविधिको संसारमा मुख्य खेलाडी बन्ने सफ्टबैंकको प्रयासको एक अंश हो । उबर संसारको ठूलो ट्याक्सी सेवा दिने कम्पनी हो, जसको आफ्नै ट्याक्सी भने एउटा पनि छैन । एपमा आधारित यो ट्याक्सी संसारका धेरै देशमा लोकप्रिय छ ।

प्रकाशित मिति: Dec 29, 2017

प्रतिक्रिया दिनुहोस्