Logo
२३ बैशाख २०८१, आईतबार
(December 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कान्तिपुरका संचालक कैलाश सिरोहिया र अजय सुमार्गीबीचको विवाद उत्कर्शमा

काठमाडौं : कान्तिपुर मिडिया ग्रुपका सञ्चालक कैलाश सिरोहिया र व्यवसायी अजेयराज सुमार्गीवीचको विवाद उत्कर्शमा पुगेको छ । व्यवसायी सुमार्गीले सिरोहियाबाट आफू असुरक्षित भएको भन्दै सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दर्ता गराएपछि उनीहरुवीचको विवाद उत्कर्शमा पुगेको हो ।

कान्तिपुर दैनिकले गत ९ पुसमा सुमार्गीको ‘२२ अर्ब रकम अवैध’ शिर्षकमा समाचार प्रकाशित गरेको थियो । यसपछि उनीवीचको विवाद झन चर्किएको हो ।

सिरोहियाले आफूसँग बार्गेनिङ गर्दै आएको र उनको त्यस्तो प्रस्ताव अस्वीकार गरेपछि आफू र आफ्नो परिवार विरुद्ध धावा बोलिएको भन्दै सुरक्षाको माग गदै सुमार्गी बुधबार मात्रै जिल्ला प्रशासन पुगेका थिए । सुमार्गीले सिरोहियालाई मिडियाको दुरूपयोग गर्दै आफ्नो प्रतिष्ठामाथी आच आउने काम गरेको समेत आरोप लगाएका छन् ।

कान्तिपुर दैनिक र कान्तिपुरसम्बद्ध अन्य प्रकाशन तथा प्रसारण संस्थाहरूले बारम्बार एकतर्फी रूपमा आफूविरुद्ध भ्रामक समाचार प्रकाशन तथा प्रशारण गरेको सुमार्गीको आरोप छ । सुमार्गीको लगानीमा हाल हिमालयन अनटप, इन्को प्यानल प्रालि, नेपाल स्याटलाइट, थाहा सञ्चार समूहलगायत एक दर्जनभन्दा बढी कम्पनी सञ्चालित छन् ।

मुक्तिश्री सिमेन्ट इन्डष्ट्रिज प्रालिका अध्यक्षसमेत रहेका व्यवसायी सुमार्गीले बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शान्ति सुरक्षाको माग गर्दै दर्ता गराएको निवेदनमा निवेदनमा कान्तिपुरका सञ्चालक कैलाशले आफूलाई बेचेको जग्गा पुरानै मूल्यमा फिर्ता गर्न नमानेपछि आफूविरुद्ध आधारहीन समाचार प्रकाशन तथा प्रसारण गरेको उल्लेख छ ।

व्यवसायी सुमार्गीले प्रशासनमा दिएको निवेदनमा आफ्नो सामाजिक तथा व्यावसायिक मान प्रतिष्ठामा क्षति पुर्याउँदै आफू र आफ्नो परिवारविरुद्ध भौतिक आक्रमणसमेत गराउन सक्ने भन्दै आफू तथा आफ्नो व्यापार व्यवसायसमेतको सुरक्षा दिन अनुरोध गरेका छन् । २०७४ सालमा सुमार्गी अध्यक्ष रहेको मुक्तिश्री सिमेन्ट इन्ड्रष्ट्रिज प्रालिले कान्तिपुरका कैलाश र उनकी पत्नी स्वस्तिका शेयरधनी रहेको काठमाडौं मार्ट प्रालिका नाममा दर्ता भएको काठमाडौंको तीनकुनेस्थित जग्गा खरिद गरेको थियो । ५ रोपनी ९ आना क्षेत्रफलको उक्त जग्गा खरिद गरेको एक वर्षपछि कान्तिपुरका सञ्चालक कैलाशले सो जग्गा पुरानै मूल्यमा मागेको जिल्ला प्रशासनमा दर्ता गरिएको निवेदनमा उल्लेख छ ।

पुरानै मूल्यमा जग्गा दिन नसकेपछि कान्तिपुरका सञ्चालक कैलाशले ‘भनेबमोजिम नभएमा आफूलाई सिध्याउन जे जस्तो कार्य गर्न पनि पछि नपर्ने भनी धम्की दिएको’ पनि व्यवसायी सुमार्गीले स्पष्ट गरेका छन् । निवेदनमा भनिएको छ,‘सोपश्चात निजले आफ्नो कान्तिपुर पब्लिकेसन्सअन्तर्गतका कान्तिपुर दैनिक, द काठमाडौं पोष्ट अंग्रेजी दैनिक र नेपाल साप्ताहिक तथा कान्तिपुर टेलिभिजन र रेडियो कान्तिपुरको माध्ययमबाट म, मेरा परिवार तथा मेरा कम्पनीहरूको विरुद्धमा विभिन्न किसिमले कपोलकल्पित आधारहीन समाचार संप्रेषण गर्न थाल्नुभयो ।’

व्यवसायी सुमार्गीले दिएको निवेदन दर्ता गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंलेले बुधबार नै जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई आवश्यक कारवाहीका लागि पत्राचार गरिसकेको जनाइएको छ । यता उनीहरुवीचको विवाद उत्कर्शमा पुगेपछि कतिपय जानकारहरुले भने दुवैको नियत ठिक नभएको भन्दै दुवैमाथी सम्पत्ती अनुसन्धान विभागले छानविन गर्नुपर्ने र वास्तविकता बाहिर ल्याउनुपर्ने बताउन थालेका छन् ।

प्रकाशित मिति: Dec 28, 2017

प्रतिक्रिया दिनुहोस्