Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौँ महानगरको नगर प्रहरीद्धारा पत्रकारमाथि आक्रमण

समाचार सङ्कलन गर्न पुगेका पत्रकारमाथि काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले आक्रमण गरेको छ । नेपाल पत्रकार महासंघ प्यूठान शाखाका सदस्य पदमप्रसाद पोख्रेललाई समाचार सङ्कलनका क्रममा नगर प्रहरीले आक्रमण गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको हो ।

महासंघ प्यूठान शाखाका अनुसार फागुन १६ गते बुधवार साँझ काठमाडौँको सुन्धारामा महानगर प्रहरीले सडक व्यापारीहरूलाई बलपूर्वक हटाइ रहेको थियो ।

सोही विषयको भिडियो खिचिरहेको अवस्थामा पत्रकार परिचयपत्र देखाउँदा देखाउँदै पनि नगर प्रहरीले आक्रमण गर्दै पत्रकार पोख्रेलको मोबाइलफोन, क्यामेरा, ल्यापटप तथा अन्य कागजपत्रहरू जफत गरेको शाखाले जनाएको छ ।

‘नागरिकलाई सुसूचित गराउने जिम्मेवारी वहन गर्ने पत्रकारलाई नगर प्रहरीले गरेको यो हर्कत अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो,’ महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, । ‘महासंघ घटनामा संलग्न नगर प्रहरीलाई कारबाहीको दायरामा ल्याउन तथा संविधानप्रदत्त प्रेसको अधिकारको ख्याल गरी आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिन आवश्यक कदम चाल्न र जफत गरिएका सामाग्री फिर्ता गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।’

प्रकाशित मिति: Feb 29, 2024

प्रतिक्रिया दिनुहोस्