Logo
८ जेष्ठ २०८१, मंगलबार
(December 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन् राजपाका नव-निर्वाचित सांसदहरु (सम्पुर्ण परिचय सहित)

महन्थ ठाकुर, महोत्तरी-क्षेत्र नं. ३, २७००५ मत प्राप्त गरी बिजयी
राष्ट्रिय जनता पार्टी (राजपा) को अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरको जन्म २००४ सालमा महोत्तरीको इकारियामा भएको हो । राजनीतिक थलोका रुपमा लामो समय सर्लाहीमा बिताएका ठाकुरले निरन्तरको पराजयपछि निर्वाचन क्षेत्र परिवर्तन गर्नु भएको छ । निरन्तर सर्लाहीबाट उठ्दै आएका ठाकुर यो चुनावमा महोत्तरी क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्नु भएको हो । यसअघि २०६४ र २०७० सालको चुनावमा उहाँ सर्लाही ६ बाट पराजित हुनु भएको थियो । २०७० सालको चुनावमा सर्लाही ६ बाट उठेका ठाकुर कांग्रेसका अमरेशकुमार सिंहसँग पराजित भएका थिए ।

२०६४ सालमा पनि उहाँ तत्कालीन मधेशी जनाधिकार फोरमका उम्मेदवार शिवपूजन रायसँग पराजित हुनु भएको थियो । यस पटक पनि उहाँलाई समानुपातिकमा सिफारिस गरिएको थियो तर सूचि सच्याउने क्रममा ठाकुरले प्रत्यक्ष उम्मेदवार बन्ने निर्णय गर्नुभएको थियो । यसअघिका चुनावमा उम्मेदवार बनेका ठाकुर मतदानमा भने सहभागी हुनु भएको थिएन । २०७० को चुनावमा ठाकुरले उम्मेदवार भए पनि आफैलाई भोट दिनु भएन । स्थानीय तहको चुनावमा सर्लाहीको मलंगवा –८, का मतदाता ठाकुर भोट हाल्ने अघिल्लो दिन नै काठमाडौं फर्किनु भएको थियो । नेपाली कांग्रेस छाडेर तराई मधेश लोकतान्त्रिक पार्टी गठन गरेका ठाकुर तमलोपाको अध्यक्ष हुनुहुन्थ्यो । उहाँले स्नातकोत्तर सम्मको अध्ययन पूरा गर्नु भएको छ ।

राजेन्द्र महतो, धनुषा-क्षेत्र नं. ३, ३०७४२ मत प्राप्त गरी बिजयी
राजपाको अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोको जन्म २०१५ साल मंसिर ४ गते बबरगञ्ज ८, सर्लाहीमा भएको हो । उहाँका बुबाको नाम खोभारी महतो र आमाको नाम राजकुमारीदेवी महतो हो । महतोका एक छोरी र एक छोरा छन् ।उहाँले मानविकी संकाय र कानून विषयबाट स्नातकोत्तर गर्नुभएको छ । महतोले २०४६ सालदेखि राजनीति सुरु गर्नुभएको हो । यसअघि महतो सद्भावना पार्टीका अध्यक्ष हुनुहुन्थ्यो ।

उहाँ २०६४ सालको चुनावमा सर्लाही क्षेत्र नम्बर ४ बाट तमलोपाका उम्मेदवार रामचन्द्र राय यादवलाई पराजित गर्दै विजयी हुनु भएको थियो । तर २०७० सालको चुनावमा उहाँ यही क्षेत्रमा पराजित हुनुभयो । महतोले आपूर्ति, स्वास्थ्य लगायतका मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।

महिन्द्रराय यादव, सर्लाही-क्षेत्र नं. २, २९१९१ मत प्राप्त गरी बिजयी
राजपाका अध्यक्ष मण्डलका नेता महिन्द्र राय यादवले सर्लाही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँको जन्म विक्रम संवत २०११ साल वैशाख २ गते सर्लाहीको हरिपुर्वामा भएको थियो । उहाँको बुवाको नाम शुभकरण यादव र आमाको नाम पुलियादेवी यादव हो । २०७० सालको संविधानसभा चुनावमा पनि सोही क्षेत्रबाट तराइृ मधेश सदभावना पार्टी तमसपाबाट संविधानसभा सदस्यका लागि निर्वाचित हुनुभएको थियो । सर्लाहीमा राजपा अध्क्षय मण्डलका नेताहरुले चुनावी प्रतिस्पर्धा गर्ने चर्चा चले पनि नेता महिन्द्र राय एक मात्र राजपा अध्यक्ष मण्डलका नेता सर्लाही बाट चुनावी मैदानमा प्रतिस्पर्धामा रहनुभएको छ ।

पटकपटक ठूला मन्त्रालयको जिम्मेवारी पाइसक्नु भएका नेता रायलाई यस पालीको चुनाव भने त्यती सजिलो नहुने अनुमान गरिएको छ । २०५१ सालमा नेकपा एमालेबाट सर्लाही १ मा विजयी भएका यादव यातायात राज्यमन्त्री बन्नुभएको थियो । उहाँले एसएलसी पास गर्नुभएको छ । मधेश आन्दोलनसँगै तमलोपामा प्रवेश गर्नु भएका नेता रायले २०६४ सालमा भएको संविधानसभा चुनावमा तमलोपाको तर्फबाट सर्लाही क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिनुभएको थियो ।

शरतसिंह भण्डारी, महोत्तरी-क्षेत्र नं. २, ३०७२२ मत प्राप्त गरी बिजयी
तराईका पूराना नेतामध्ये शरत सिंह भण्डारी पनि एक हुनुहुन्छ । उहाँको जन्म २०१२ सालमा महोत्तरीको औरहीमा भएको हो । पदम विद्या सदन ललितपुरबाट एसएलसी पास गरेका भन्डारीले अमृत साइन्स क्याम्पसबाट आइएस्सी र त्रिचन्द्र कलेजबाट बिएस्सीसम्मको अध्ययन पूरा गर्नुभएको छ ।

२०३३ सालमा नेपाल विद्यार्थीमार्फत सक्रिय राजनीति सुरु गरेका भण्डारी कुनै बेला नेपाली कांग्रेसका तराईको प्रभावशाली नेता मानिनुहुन्थ्यो । २०६४ सालको चुनावमा महोत्तरीको क्षेत्र नम्बर ६ बाट चुनाव जितेका भण्डारी त्यसैबेला रक्षामन्त्री पनि हुनुभएको थियो । नेपाली कांग्रेस छाडेका नेता शरत सिंह भण्डारी अहिले राजपा अध्यक्ष मण्डलका सदस्य हुनुहुन्छ ।

अनिलकुमार झा, रौतहट-क्षेत्र नं. १, २१०८५ मत प्राप्त गरी बिजयी
पूर्व उद्योगमन्त्री अनिलकुमार झा २०२४ साल असोज १५ गते रौतहटको मत्सरीमा जन्मिनु भएको हो । प्रारम्भिक शिक्षा गाउँकै सरस्वती मावि पिपरा भलोहीयाबाट पूरा गरेका झाले अमृत साइन्स क्याम्पस, काठमाडौंबाट स्नातक गर्नुभयो । २०४६ सालको जनआन्दोलनमा १ महिना थुनामा परेपछि पूर्णकालीन राजनीतिमा होमिएका झा बहुदलीय व्यवस्था आएपछि खुलेको दल नेपाल सद्भावना पार्टीमा स्थापनाकालदेखि नै आबद्ध हुनुभयो । पार्टीको महासचिवसम्म भएका झा पार्टी विभाजनपछि बनेको संघीय सद्भावना पार्टीको अध्यक्ष हुनु भएको थियो ।

हार्वर्ड विश्वविद्यालय अमेरिकाबाट द्वन्द्व व्यवस्थापनसम्बन्धी तालिम लिएका अनिल झा एकदर्जनभन्दा बढी यस्ता तालिममा सहभागी भइसक्नु भएको छ । २०७० सालको चुनावमा संघीय सद्भावना पार्टीबाट उठेका झा रौतहट क्षेत्र नं. १ बाट पराजित हुनुभएको थियो । राजपा अध्यक्ष मण्डलका सदस्य झा हाल दुर्गा भगवती गाउँपालिका मत्सरीमा बस्नुहुन्छ ।

राज किशोर यादव, सिरहा-क्षेत्र नं. ४, २११४४ मत प्राप्त गरी बिजयी

मधेशी गठबन्धनबाट उम्मेदवार बन्नुभएका राजकिशोर यादव राजपा नेपालको अध्यक्ष मण्डलका सदस्य हुनुहुन्छ । सिराहाकै क्षेत्र नं. ४ मा पर्ने नरहा गाउँपालिका ३, चोहर्वामा २०३० सालको भदौ ७ गते उहाँको जन्म भएको हो । सिराहको जनता माध्यमिक विद्यालय चोहर्वाबाट एसएलसी र भारतको चण्डिगढ पञ्जावबाट एयर इन्जिनियरिङ गर्नुभएका यादव २०६० सालबाट राजनीतिक क्षेत्रमा आउनु भएको हो ।

उपेन्द्र यादवको नेतृत्वमा सबै मधेशवादी पार्टी र स्वतन्त्र मधेशीहरुको साझा संगठनको रुपमा स्थापना भएको मधेश अधिकारवादी फोरम, मधेशी जनअधिकार फोरमबाट २०६० सालमा उहाँ सक्रिय हुनु भएको थियो । त्यसलगत्तै २०६३ सालको मधेश आन्दोलनमा सक्रिय हुनुभएका उहाँ २०६४ को संविधानसभामा सिरहाको तत्कालीन क्षेत्र नं. ६ बाट फोरमबाटै विजयी हुनु भएको थियो । उपेन्द्र यादवसँग फूटेर विजयकुमार गच्छदारको लोकतान्त्रिक फोरम हुँदै जयप्रकाश गुप्ताको गणतान्त्रिक फोरममा पुग्नुभयो । २०६८ सालमा जयप्रकाश गुप्ता भ्रष्टचारको अभियोगमा जेल परेपछि राजकिशोर याद फोरम गणतान्त्रिकको अध्यक्ष बन्नुभयो ।

अध्यक्ष भएको केही समयमै उहाँ सूचना तथा सञ्चार मन्त्री पनि बन्नुभयो । २०७० सालको चुनावमा भने उहाँ यसै क्षेत्रबाट नेपाली कांग्रेसका गणेश मण्डलसँग पराजित हुनुभएको थियो । उहाँको नेतृत्वमा रहेको दलले सामानुपतिकतर्फ एक सिट मात्रै पाएपछि उहाँले आफ्नै श्रीमतीलाई सभासद बनाउनु भएको थियो । यो निर्णयका कारण पार्टीमा उहाँले चर्को आलोचना खेप्नु परेको थियो । पार्टी नै संकटमा पर्दै गएकाबेला मधेशवादी दलको एकतासँगै राजपाको स्थापना भएको र उहाँ अध्यक्ष मण्डलको सदस्य बन्नुभयो ।

लक्ष्मणलाल कर्ण, पर्सा-क्षेत्र नं. ४, २०७३८ मत प्राप्त गरी बिजयी

राजपाका नेता लक्ष्मणलाल कर्णको जन्म २००३ सालको चैत १५ गते भएको हो । उहाँले कानुन र शिक्षा संकायमा स्नातक गर्नु भएको छ । सद्भावना परिषदको सचिव भएर २०४० सालमा राजनीति सुरु गरेका कर्णले अहिलेसम्म प्रत्यक्ष चुनाव जित्न सक्नु भएको छैन ।

पर्सा क्षेत्र नं १ बाट २०४८ र २०५६ सालको चुनावमा उहाँ पराजित हुनुभयो । त्यसपछि २०६४ र २०७० सालको चुनावमा उहाँ प्रत्यक्षतर्फबाट उम्मेदवार बन्नु भएन । तर दुवै पटक समानुपातिकतर्फबाट सभाषद बन्नुभयो । माधव नेपाल नेतृत्वको सरकारमा १४ महिना विनाविभागीय मन्त्री भएका कर्ण सद्भावना पार्टीको निरन्तर उपाध्यक्ष बन्नुभयो । मधेसवादी दलको एकतासँगै राजपामा आवद्ध भएका नेता कर्णले फेरि प्रत्यक्ष तर्फको प्रतिस्पर्धा रोज्नु भएको हो ।

चन्द्रकान्त चौधरी, सप्तरी-क्षेत्र नं. ३, २२८५४ मत प्राप्त गरी बिजयी

चन्द्रकान्त चौधरीले लामो राजनीतिक समय नेपाली कांग्रेसमा बिताउनु भएको छ । २००४ सालमा सप्तरीको डाक्नेश्वरी नगरपालिकामा जन्मिएका चौधरीले स्थानीय तहको चुनावदेखि नेपाली कांग्रेस छाड्नु भएको हो । स्थानीय तहको चुनावमा नेपाली कांग्रेसले टिकट नदिएपछि डाक्नेश्वरी नगरपालिकाको मेयर पदमा स्वतन्त्रबाट उम्मेदवारी दिनु भएको थियो । तर, पराजित हुनु भएको थियो । फोरम नेपाल र राजपा गठबन्धनबाट उम्मेदबार बनेका चौधरीले आफ्नै भाइ ताराकान्त चौधरीसँग प्रतिस्पर्धा गर्नु पर्ने भएको हो । ताराकान्त वाम गठबन्धनबाट यस क्षेत्रमा उम्मेदवार बन्नु भएको छ ।

एक‍वाल मियाँ, बारा-क्षेत्र नं. ४, २२२७५ मत प्राप्त गरी बिजयी

इकवाल मियाको जन्म २०२६ सालको जेठमा बाराको बुनियाद –४, मा भएको हो । श्री ३ चन्द्र मावि कलैयाबाट एसएलसीसम्मको अध्ययन गरेका मियाले वनविज्ञान संस्थान हेटौंडाबाट आइएस्सी र पटना विश्वविद्यालय भारतबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गर्नुभएको छ । २०४३ सालबाट राजनीति सुरु गरेका मिया अहिलेसम्म सांसद हुनुभएको छैन् । उहाँ २०७३ सालको चैतदेखि राजपाका केन्द्रीय सदस्य हुनुहुन्छ ।

प्रमोद साह, सर्लाही-क्षेत्र नं. १, २२०३६ मत प्राप्त गरी बिजयी

राष्ट्रिय जनता पार्टी (राजपा)बाट सर्लाही क्षेत्र नम्बर १ मा प्रमोद साहले प्रतिनिधिसभा सदस्यका लागि टिकट पाउनुभएको छ । आमा मझीदेवी तथा बुवा गणेश साहबाट उहाँको जन्म विक्रम संवत २०३५ साल पुष ८ गते सर्लाहीको मलंगवामा भएको थियो । विद्यार्थी मञ्चको केन्द्रीय सदस्य हुँदै सदभावना पार्टीका जिल्ला अध्यक्ष बन्नुभएको थियो । उहाँले जनकपुरको आरआर क्याम्पसबाट समाजशास्त्रमा स्नातक तह उत्तीर्ण गर्नुभएको छ । तराइ मधेशमा रहेका दलहरु मिलेर बनेको राजपा नेपालबाट उम्मेदवार बन्नु भएका साह तराइ मधेश आन्दोलन पछि राजनीतिमा सक्रिय हुनुभएको हो । उहाँ विगतमा सदभावना पार्टीको जिल्ला अध्यक्ष हुनुहुन्थ्यो ।

प्रकाशित मिति: Dec 11, 2017

प्रतिक्रिया दिनुहोस्