Logo
४ जेष्ठ २०८१, शुक्रबार
(November 19, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

“सेफ जोन” मा छैनन उपेन्द्र पनि : बागीको चुनौती, वाम पनि उत्तिकै मज्बुत

राजविराज : नेपालकै जेठो नगरपालिकाको परिचय बोकेको छ राजविराजले । मधेस आन्दोलन र मलेठ घटनासम्म आइपुग्दा दर्जन बढीले ज्यानसमेत गुमाएका छन् । त्यसो त नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंह विरासत बोकेको भूमिसमेत हो राजविराज । त्यही भूमिमा मधेस आन्दोलनका शीर्ष व्यक्ति उपेन्द्र यादव प्रतिस्पर्धामा उत्रँदा सप्तरी जिल्लाकै चुनावी माहोल तातेको छ  । चिया पसल दोकानदेखि मकानसम्म चुनावकै चर्चा परिचर्चा भइरहेको छ ।

शनिबार स्थलगत रिपोर्टिङका लागि मधेस आन्दोलनको उद्गमस्थल राजविराज पुगेको थियो । बुज्रुक मतदाताहरू गजेन्द्र नारायणसिंह चोकमा गफिँदै थिए । उनीहरूमध्ये अधिकांशको कौतूहल थियो– सुनसरी र मोरङबाट चुनाव लड्ने उपेन्द्र यादवले राजविराज नै किन रोजे ? त्यसो त सप्तरीसँग उपेन्द्रको नाता आजमात्रै जोडिएको होइन, उनी सप्तरीको ढिक्लीमा जन्मिएका हुन् । र, उनको शिक्षा–दीक्षा पनि सप्तरीमै भएको हो ।

तर, जनता मान्न तयार छैनन् । सुनसरी र मोरङबाट चुनाव जित्ने छाँट नदेखेपछि ‘मुन्टो लुकाउन’ सप्तरी छिरेका हुन् भन्ने मतदातासमेत राजविराजमा भेटिए । प्रतिनिधिसभाका ३२ सिटमा संघीय समाजवादी फोरम र राजपाले १७ र १५ सिटको भागवण्डा गरेर उमेदवारी तय गरेका थिए । र, भागवण्डाबाट असन्तुष्ट राजपाका सहमहामन्त्रीसमेत रहेका जयप्रकाश ठाकुरले सप्तरी–२ मा प्रतिनिधिसभातर्फ ‘विद्रोही’ उमेदवारी दर्ता गराएपछि उपेन्द्र यादव दबाबमा परेका छन् ।

सप्तरी–२ को केन्द्र हो राजविराज । स्थानीय निर्वाचनमा राजपाका शम्भुप्रसाद यादव ४ हजार ७७४ मतका साथ निर्वाचित भएका थिए । त्यतिमात्र होइन, सप्तरी–२ भित्र पर्ने तिलाठी कोइलाडी गाउँपालिकासमेत राजपाले नै जितेको हो । छिन्नमस्ता गाउँपालिकामा नयाँ शक्ति विजयी भयो भने महदेवामा संघीय समाजवादी फोरम निर्वाचित भयो ।
अतः सप्तरी–२ मा राजपा बलियो रहेको तर्कसहित आफूले टिकट पाउनुपर्ने दाबी गर्दै आएका ठाकुर उपेन्द्र चुनाव लड्न रातारात सप्तकोसी तरेपछि ‘विद्रोही उमेदवार’ बनेको बताउँछन्  । ठाकुर ०७० को संविधानसभामा सप्तरी–३ बाट उमेदवार थिए । तर, माओवादीका उमेश यादवसँग पराजित भएका थिए ।

सप्तरीमा किन आए उपेन्द्र ?
शनिबार बिहानको भेटमा उपेन्द्रले सप्तरीलाई मधेस प्रदेश बनाउन आफूले उमेदवारी दिएको दाबी गरे । त्यस्तै उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जो कुनै व्यक्ति देशको जुनसुकै कुनाबाट चुनाव लड्न पाउने प्रावधान रहेकाले आफूले उपयोगमात्रै गरेको तर्क गरे । मधेस आन्दोलनको उर्वर भूमि सप्तरीमा मधेसलाई नै जिताउन आफू उमेदवार बनेको उनको भनाइ छ ।

त्यस्तै राजपाका महासचिव मनिषकुमार सुमनले राजपाकै आग्रहमा उपेन्द्र सप्तरी–२ मा चुनाव लड्न आएको जिकिर गरे । उनले ‘महेन्द्रलाई नमान्ने हामी महेन्द्रले बनाइदिएको जिल्लाको सीमारेखाभित्र मात्रै चुनाव लड्नुपर्छ’ भन्ने मान्यतामा नरहेको भन्दै प्रतिवाद गरे । “मधेस आन्दोलनको शीर्ष व्यक्तित्व चुनाव लड्न आउने भएपछि मैले उहाँका लागि सिट छाड्दै प्रदेशमा लड्ने निष्कर्ष निकालेँ,” उनको भनाइ थियो ।

हामीले मनिषसँग जयप्रकाशको असन्तुष्टि र ‘बागी उमेदवारी’का बारेमा पनि जिज्ञासा राखेका थियौँ । जयप्रकाशको असन्तुष्टि आफूले टिकट नपाएकोमा भन्दा पनि गठबन्धन बनेकोप्रति नै रहेको सुमनको भनाइ थियो । जयप्रकाशले अलिकति मत तलमाथि पारेता पनि त्यो जित हारका लागि निर्णायक नहुने उनको दाबी छ ।

जयप्रकाश भन्छन्– जनताको उमेदवार हुँ
शनिबार गुलाफ चिह्न लिएर मैदानमा उत्रिएका जयप्रकाश ठाकुरसँग हामीले कुराकानी गरेका थियौँ । उनले आफूले कसैको विरुद्ध उमेदवारी नदिएको बताउँदै जनताको उमेदवारको रूपमा मैदानमा खडा भएको दाबी गरे ।“राजपा नेतृत्वले यहाँका कार्यकर्ता, मतदाताको भावनाको सम्मान गरेन । मोरङ र सुनसरीबाट टिपेर जसरी संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवलाई ल्याइयो, त्यसैको विरुद्ध उमेदवारी दिएको हुँ,” उनले प्रष्ट्याउन खोजे ।

हर आन्दोलनमा आफूले नैतिक, आर्थिक, शारीरिक रूपले सक्रिय रहेको भए पनि टिकट बाँड्ने बेलामा राणा शासनको शैली अपनाउँदै नेतृत्वले आफूलाई कोपभाजनमा पारेको भन्दै उनले आक्रोस पोखे । र, उनले जित्ने दाबी समेत गरे ।
“अरू पार्टीबाट मैदानमा खडा छन्, जनताले मलाई उमेदवार बनाएका छन्, भन्नूहोस् कसले जित्छ ?,” उनको प्रश्न थियो ।

उमेश भन्छन्– मधेसवादी भन्ने दलले मधेस शब्द फालिसके

०७० सालको संविधानसभामा विजयी बनेर सिँचाइमन्त्री भएका उमेश यादव उपेन्द्र यादवको प्रत्यासी बनेका छन् । उनले उपेन्द्र यादव ‘कहाँकहाँबाट आएर चुनाव लडेको’ भन्दै जित्न नसक्ने ठोकुवा गरे । आफूले मन्त्री हुँदा कसैले नगरेको विकास गरेको दाबी गर्ने उमेशले मधेसवादी दल मधेसका जमिन्दाकार पक्षपोषक भएको बताउँदै मधेस लाल क्रान्तिकारी र परिवर्तनकारीको भएको जिकिर गरे । “हिजो मधेसवादका नाममा आफूलाई हुर्काएका मधेसवादी दलले मधेस शब्द टपक्क झिकेर फालिसके, अब उनीहरूको दिमागमा अरू नै केही छ, मधेस छैन,” उनको आरोप थियो ।

के भन्छन् मतदाता ?
हामीले शनिबार १५ वडाका करिव २० मतदातासँग सप्तरीको चुनावी माहौल, मतदाताको मनोविज्ञान, चुनावको परिणाम नै तलमाथि पार्ने त्यहाँको जातीय फ्याक्टर आदिबारे जिज्ञासा राखेका थियौँ । त्यसमध्ये अधिकांशले प्रतिष्पर्धा कडा हुने अनुमान लगाए भने केहीले जितहारमा जयप्रकाशको भूमिका नै निर्णायक हुने जिकिर गरे ।

राजविराज–३ का चन्द्रदेव दासले निर्वाचन प्रचार–प्रसार शान्तिपूर्ण रूपले भइरहेको बताउँदै सप्तरीको चुनावी पारो उकालो चढ्दै गरेको धारणा राखे । त्यस्तै उनले उपेन्द्र यादव मधेस आन्दोलनको अगुवा भए पनि आफ्नै ठाउँबाट चुनाव लड्नुपर्ने तर्क गर्दै जहाँबाट पनि उमेदवारी दिन पाउने सुविधालाई उपयोग गर्ने बहानामा अरूको अधिकार कुण्ठित गर्न नहुने जिकिर गरे । उनले उपेन्द्र यादवकै कारण जयप्रकाशको पल्लाभारि हुनेतर्फ संकेत पनि गरे ।

त्यस्तै राजविराज–३ कै रेवतीरण चौधरीले भने मधेस आन्दोलनमा जनताको सहभागितालाई हेर्ने हो भने पनि उपेन्द्र यादवले चुनाव जित्ने आँकलन गरे । तर, स्थानीय, ०७० को संविधानसभाको निर्वाचनमा पराजित भएकाले जयप्रकाशपट्टि पनि ‘सेन्टिमेन्ट’ जानसक्ने सम्भावना भने उनले नकारेनन् ।
उता राजविराज–५ का विश्वेश्वर रायले भने राजविराजको मत जातीय भावनामा बग्ने गरेको औँल्याए । उनले भने, “यहाँ पार्टी, विचार, सिद्धान्त हेर्दैनन् जातीयतातिर ढल्किएर मत हाल्छन् ।”

राजविराज–१२ का रामेश्वरप्रसाद यादवले भने बेग्लै तर्क गरे । लामो समय मधेस आन्दोलन चलेको र मधेस आन्दोलनका क्रममा तराईका उद्योगधन्दा कलकारखाना ठप्प भएकाले त्यसबाट जनता वाक्क भएको बताए । त्यसको अन्त्यको आशमा पनि व्यापारिक वर्गको मत मधेसवादी दललाई नै जाने उनको भनाइ थियो ।
राजविराज–७ शिवराम यादवले सप्तरी–२ मा वामशक्ति पनि कमजोर नरहेको टिप्पणी गरे । “मैदानमा उपेन्द्र र जयप्रकाश देखिनुभएको छ तर, ‘सेन्टिमेन्ट’ उमेशप्रति पनि छ,” उनको भनाइ थियो ।

त्यस्तै स्थानीय शिक्षक जितेन्द्रकुमार सिंहले सप्तरीको मत जातीयता, क्षेत्रीयता, वर्ण धेरै फ्याक्टरमा बाँडिने भएकाले अहिले नै ठोकुवा गर्न हतार हुने निष्कर्ष निकाले । यी कुरामा कतिको सत्यता छ, त्यो भोलिको परिणामले बताउला । तर, यत्ति भन्न सकिन्छ– सप्तरी–२मा चुनाव जित्न सजिलो छैन उपेन्द्र यादवलाई ।

‘कांग्रेसको मत पाउने सम्भावना कम’

मधेस आन्दोलनका दुई अगुवा उपेन्द्र र महन्थ ठाकुरलाई सघाउने कांग्रेसले अनौपचारिक समझदारी गरेको छ । तर, कुराकानीका क्रममा हामीले दुई जना कांग्रेसका कार्यकर्ता फेला पारेका थियौँ । उनीहरूको आक्रोस उपेन्द्रतर्फ नै थियो । प्रतिनिधिसभामा कांग्रेसले उपेन्द्रलाई सघाउने अनौपचारिक समझदारी गरे पनि उपेन्द्रले आफ्नो उमेदवार रहेको प्रदेश (क) नछाडेकाले कांग्रेसका कार्यकर्ता मत नहाल्ने सोचाइमा पुगेको उनीहरूको भनाइ थियो ।

तीमध्ये एक थिए, गंगासागर गुप्ता । उनले ठोकुवा गरे– उपेन्द्रले कांग्रेसको १० प्रतिशत मत समेत पाउन मुस्किल छ । अर्का तीर्थनारायण दासले पनि उपेन्द्रको पछिल्लो व्यवहारले कांग्रेसका कार्यकर्ता भोट माग्न जानसमेत अप्ठ्यारोमा परेको बताए ।

स्थानीय निर्वाचनको मत परिणाम
महादेवा गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, छिन्नमस्ता गाउँपालिका र राजविराज नगरपालिका समेटेर बनेको हो, सप्तरी– २ । स्थानीय निर्वाचनमा ती गाउँ तथा नगरपालिकाको मत जोड्ने हो भने कांग्रेस एक्लैको ८ हजार ४९२ मत छ । कांग्रेससहित राजपा, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमका वडाध्यक्षले पाएको मत जोड्दा ३१ हजार ३२४ मत हुन आउँछ । त्यस्तै वाम गठबन्धनको भने ११ हजार ६४७ मत रहेको छ । #बाह्रखरी

प्रकाशित मिति: Nov 19, 2017

प्रतिक्रिया दिनुहोस्