Logo
११ श्रावण २०८१, शुक्रबार
(November 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शुरू भयो पोखरा अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्य

कास्की । लामो समयदेखि चर्चामा रहेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढेको छ । चिनियाँ निर्माण कम्पनी सीएएमसीले आफ्नै परम्परा र संस्कृतिअनुसार पूजाआजा गरी निर्माण कार्य अघि बढाएको छ । पूजापछि निर्माण उपकरणसहित मजदूरलाई जमीन सम्याउने काममा खटाइएको ठेकेदार कम्पनीका पोखरा विमानस्थल परियोजना प्रमुख  जेरी याङले जानकारी दिए ।

पूजापछि विमानस्थल आयोजना प्रमुख इञ्जिनीयर प्रदीप अधिकारीले निर्माण कार्यको थालनी गरेका थिए ।

विमानस्थल निर्माणका लागि आवश्यक डोजर, एक्स्याभेटर, लोडर र ट्रिपरलगायत उपकरण विमानस्थल निर्माणमा परिचालन भएको कम्पनीले बताएको छ । शिलान्यास भएको करीब डेढ वर्षपछि पोखरा अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्य शुरू भएको हो । आगामी जेठसम्ममा जमीन सम्याउने काम सकिने बताइएको छ । उक्त आयोजना राष्ट्रिय गौरवको आयोजनामध्येको हो । विमानस्थलको निर्माण कार्यमा चीनको एक्जिम बैङ्कले करीब रू. २२ अर्ब ऋण उपलब्ध गराएको छ ।

विमानस्थल परियोजना प्रमुख जेरी याङले १ दर्जनभन्दा बढी उपकरण र १ सय मजदूर फिल्डमा खटिएको बताए । उनका अनुसार अधिकांश नेपाली कामदार काममा खटिएका छन् । मित्रराष्ट्र चीनसँग विमानस्थल निर्माणको ऋण सम्झौता भएपछि निर्माण कार्य थाल्न याङ नेतृत्वको चिनियाँ टोली साउनमा पोखरा आएर आवास र कार्यालय प्रयोजनको अस्थायी भवन निर्माणमा जुटेको थियो । सो काम पूरा भएपछि विमानस्थलका लागि जमीन सम्याउने काम थालिएको हो । दुई देशबीच सबै कानूनी जटिलता टुङ्गिएपछि निर्माण प्रक्रियामा गएको र अबको एक वर्ष डिजाइनिङ चरण रहने कम्पनीले बताएको छ । सम्झौताअनुसार निर्माण कार्य आगामी २०७८ असारभित्र सम्पन्न गरी नेपाललाई हस्तान्तरण गर्नुपर्ने छ ।

इपीसी (इञ्जिनीयरिङ, प्रोक्योरमेन्ट र कन्ष्ट्रक्सन) मोडलमा अन्तरराष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेशनको मापदण्डअनुसार ‘४ डी’ मोडेलमा विमानस्थल बन्न लागेको हो । यसमा बोइङ ७५७ र एयरबस ३२० जहाज अवतरण र उडान गर्न सक्नेछन् । विमानस्थलको धावनमार्ग २ हजार ५ सय मिटर लम्बाई र ४५ मिटर चौडाइको हुनेछ । राष्ट्रिय र अन्तरराष्ट्रिय टर्मिनल भवन, ४ ओटा बोर्डिङ कक्ष, ट्याक्सी वेलगायतका पूर्वाधार पनि बन्नेछन् । सीएएमसीले निर्धारित समयमा निर्माण पूरा नगरे नेपाल सरकारलाई क्षतिपूर्ति तिनुपर्ने सम्झौतामा उल्लेख छ। विमानस्थलका लागि आवश्यक जमीनको मुआब्जा वितरण पूरा भएको आयोजना प्रमुख प्रदीप अधिकारीले बताए ।

केही महीनाअघि ५० रोपनी जमीन अधिग्रहण गरिएको थियो । त्यसअघि ६ सय २९ र ४० वर्षअघि ३१ सय ५० रोपनी जमीन अघिग्रहण गरिएको थियो ।  विमानस्थलका लागि सरकारले २०३२ मा ३ हजार १ सय ६ रोपनी जग्गा लिएको थियो । त्यतिले नपुगेपछि ६ सय २९ रोपनी जग्गा थप अधिग्रहण गरिएको थियो । पूर्वप्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला दुई देशबीच ऋण सम्झौता भएपछि विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने निर्णय भएको थियो । विमानस्थलको २०७३ वैशाख १ मा तत्कालीन प्रधानमन्त्री केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत प्रमुख दलका नेताहरूले संयुक्तरूपमा शिलान्यास गरेका थिए ।

प्रकाशित मिति: Nov 17, 2017

प्रतिक्रिया दिनुहोस्