Logo
१२ श्रावण २०८१, शनिबार
(October 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गच्छदार फर्किएपछिको प्रभाव : पुर्वी नेपालमा कांग्रेस बलियो वाम गठबन्धन कमजोर

विजयकुमार गच्छदारले आफ्नो पार्टी नेपाल लोकतान्त्रिक फोरमलाई कांग्रेसमा विलय गराएपछि मोरङमा चुनावी प्रतिस्पर्धा तीव्र हुने देखिएको छ । कांग्रेस मोरङमा उत्साह छाएको छ भने वाम गठबन्धन सजग भएको छ । पहिले कांग्रेसमै रहेर राजनीति गरेका गच्छदार पहिलो संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरमबाट मोरङको तत्कालीन क्षेत्र नम्बर ७ बाट प्रतिस्पर्धा गरेका थिए ।

उनले कांग्रेसका शेखर कोइरालालाई हराएका थिए । तर, दोस्रो संविधानसभा निर्वाचनअघि मधेसी जनअधिकार फोरमबाट फुटेर आफैँले फोरम लोकतान्त्रिक पार्टी बनाए । दोस्रो निर्वाचनमा उनी कोइरालासँग थोरै मतान्तरले हार बेहोरे । त्यतिवेलाको क्षेत्र नम्बर ७ अहिले क्षेत्र नम्बर ६ भएको छ । क्षेत्र नम्बर ४ र ६ मा थारूको बाहुल्यता छ । गत स्थानीय तह निर्वाचनमा क्षेत्र नम्बर ४ को ग्रामथान गाउँपालिका र ६ को बुढीगंगा गाउँपालिकामा लोकतान्त्रिक फोरमले जित हासिल गरेको थियो ।

गच्छदार कांग्रेसमा आएपछि अधिकांश थारू समुदायको मत कांग्रेसलाई आउने कांग्रेस नेताको अपेक्षा छ । यसैले वाम गठबन्धनले मोरङमा चुनौतीपूर्ण मानेका क्षेत्र नम्बर ४ र ६ मा आफ्नो प्रभाव बलियो बनाउन शक्ति, खर्चन थालिसकेका छन् । क्षेत्र नम्बर ६ मा वाम गठबन्धनका तर्फबाट एमाले पोलिटब्युरो सदस्य लालबाबु पण्डितले कांग्रेसका शेखर कोइरालासँग प्रतिस्पर्धा गर्ने भएका छन् । माओवादी मोरङका संयोजक गोपी अछामीले मोरङका सबै निर्वाचन क्षेत्रमा वाम गठबन्धनको मत कांग्रेसको भन्दा बढी रहेकाले सहजै जित हुने दाबी गरे ।

क्षेत्र नम्बर ४ मा पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य महेश आचार्य र एमालेका पूर्वजिल्ला अध्यक्ष महेश रेग्मी सम्भावित उम्मेदवार हुन् । यस क्षेत्रमा विराटनगर महानगरपालिकाका विभिन्न वडासँगै थारू बाहुल्य भएको ग्रामथान गाउँपालिका र बेलबारी नगरपालिकाको दक्षिणी क्षेत्र पर्छन् ।

क्षेत्र नम्बर १ मा दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेसका डिकबहादुर लिम्बूले एमालेका घनश्याम खतिवडा र माओवादीका वर्षमान पुनलाई पराजित गरेका थिए । एमालेका उम्मेदवार खतिवडा थोरै मतान्तरले मात्र पराजित भएका थिए भने माओवादीका वर्षमान पुनले पनि प्रतिस्पर्धी मत पाएका थिए । यस क्षेत्रमा वाम गठबन्धन नै बलियो देखिन्छ ।

क्षेत्र नम्बर २ मा कांग्रेसका डा. मिनेन्द्र रिजाल प्रतिस्पर्धा गर्दै छन् । यहाँ दोस्रो संविधानसभामा कांग्रेसका आमोद उपाध्याय एमालेका ऋषि पोखरेलबाट पराजित भएका थिए । क्षेत्र नम्बर ३ मा कांग्रेसबाट विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मा चुनाव लड्ने पक्का भएको छ । वाम गठबन्धनबाट एमालेका भानुभक्त ढकाल र माओवादीका सावित्रीकुमार काफ्ले सिफारिस भएका छन् । नयाँ पत्रिकामा समाचार छ ।

क्षेत्र नम्बर ५ मा कांग्रेसबाट पूर्वसांसद अमृत अर्याल प्रतिस्पर्धा गर्ने निश्चित छ । यता वाम गठबन्धनबाट माओवादीका युवा नेता शिवकुमार मण्डलले प्रतिस्पर्धा गर्ने निश्चित छ । यस क्षेत्रमा संघीय समाजवादी फोरमको पनि राम्रो प्रभाव भएकाले त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति: Oct 26, 2017

प्रतिक्रिया दिनुहोस्