Logo
८ जेष्ठ २०८१, मंगलबार
(June 19, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीको मधेशी बाहुल्य क्षेत्रमा चुनाव र स्वतन्त्र मधेश अभियान सँगसँगै

इनरुवा । सुनसरीको मधेशी समुदायको बाहुल्यता रहेको क्षेत्रमा मिश्रित बसोवास रहेको क्षेत्र भन्दा चुनावी माहौल तातेको छ । सुनसरीको दक्षिणवर्ती क्षेत्रमा चुनावी माहौलमा दर्जन बढी राजनीतिक दलका नेता कार्यकर्ता समर्थक शुभ–चिन्तकहरु विभिन्न कित्तामा विभाजित भएर आफ्नो समर्थन खुल्ला रुपमा जनाउन थालेका छन । बजार चौक चौराहा दलहरुका चुनाव चिन्ह भएका झण्डाहरुले रङ्गिएका मात्रै छैनन शहरी क्षेत्र भन्दा फरक प्रत्येक मतदाताहरुको घरमा आस्था अनुसारको दलका झण्डा फहराईएका छन ।

इनरुवा नगरपालिकाको अन्तिम सीमा क्षेत्र रहेको जल्पापुर देखी भारतीय सीमा नाका सम्मको कप्तानगञ्ज सम्म प्रत्येक विजुलीका पोलमा सवै दलका चुनाव चिन्ह भएका झण्डा फहराईएका छन । ति पोलहरुमा स्वतन्त्र मधेश (फ्रि मधेस) को नारा अंकित पोष्टर देखी मधेश आन्दोलनबाट स्थापित भएको पार्टी संघीय समाजवादी फोरम नेपालको मसालसम्म अटाएका छन । विगतका चुनावमा कुनै दलको पकड क्षेत्रमा अर्को दलको तुल व्यानर झण्डा फ्याकिदिने चलन रहेको थियो तर यस पटक त्यो परिपाटी लगभग अन्त्य भएको सन्देश विजुलीका पोलमा राखिएका सवै दलका चुनाव चिन्ह अंकित झण्डाले दिईरहेका छन ।

भुटाहा बजार, हरिनगरा बजार, मध्यहर्षाही बजार, देवानगञ्ज बजार र कप्तानगञ्ज बजारका प्रायः पसलहरुमा दुई वा तीन दलका चुनावी झण्डा फहराउदै व्यापारीहरुले साझा समर्थन जनाएको देखिन्छ । सो क्षेत्रका स्थानीयहरुले प्रयोग गर्ने सवारी साधनहरुमा समेत विभिन्न दलका झण्डा फहराउदै सडक बाटोमा गुडाउने गरेका छन । दुई दशक पछि हुन लागेको स्थानीय निर्वाचनबाट जनप्रतिनिधि चयन गर्न मधेशी जनताहरु व्यग्र प्रतिक्षा गरिरहेको अनुमान लगाउन गाह्रो पर्दैन ।

मधेश आन्दोलनबाट स्थापित भएको मसाल र फोरम लोकतान्त्रिकको नमस्ते चिन्हलाई प्रायः जसो घरको मुल गेटमा गाडेर आफ्नो समर्थन जनाएका छन भने सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले समेत फ्रि मधेशको नारालाई स्थानीयहरु माँझमा लगेर आफनो असन्तुष्टी राखेका छन । स्वतन्त्र मधेश गठबन्धनले सो क्षेत्रका जनतालाई मतपत्रको कोठाभन्दा बाहिर मतदान गरेर निर्वाचन बहिस्कार गर्न आग्रह गर्दै विभिन्न खाले प्रचार अभियानलाई समेत अगाडि बढाएको छ ।

प्रकाशित मिति: Jun 19, 2017

प्रतिक्रिया दिनुहोस्