Logo
४ जेष्ठ २०८१, शुक्रबार
(June 19, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेश आफैंमा ठूलो शक्ति हो कुनै नेताले बनाएको होइन : राजकिशोर यादव

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवलाई विरोधीहरुले आत्मकेन्द्रित, अहङ्कारी जस्ता विभिन्न आरोप लगाउँदै आएका छन् । यस्तैखालका आरोप प्रत्यारोपका बीच उनले मधेशी, आदिवासी, जनजाति, महिला, मुस्लिम लगायत विभेदमा परेको समुदायको अधिकारको लागि निरन्तर संघर्ष गर्दै आइरहेका छन् । ‘मधेशवादी दल फुट्न मात्र जानेको हुन् जुट्न जानेका छैनन् भन्ने कुराले ओतप्रोत रहेको समाजलाई राजपा गठनले सकारात्मक संदेश दिएका छन् । नेता यादवको निरन्तर प्रयासले राजपा गठन हुन सकेक छन् । मुलुकको राजनीतिक अवस्था, स्थानिय तहको निर्वाचन, राजपाको रणनीति तथा कार्यनीति, आन्दोलन र मुलुकको राजनीतिक निकास जस्ता विषयमा केन्द्रित रहेर नेता राजकिशाेर यादवसँग विजय यादवले गरेको कुराकानीको सम्पादित महत्वपूर्ण अंशहरु ।

तपाई अहिलेको राजनीतिक अवस्थालाई कुन रूपमा लिनु भएको छ ?
— मुलुक बडो गम्भिर र संवेदनशील अवस्थाबाट गुज्रिरहेको छ । मुलुक एउटा लामो जनयुद्ध खेपेर शान्ति प्रक्रिया हुँदै १२ बुँदे सम्झौता हुँदै संविधान सभाबाट संविधान जारी गरेर मुलुकमा स्थायी अमन चयन हुनु पथ्र्यो, तर दुर्भाग्य संविधानसभाबाट जसरी संविधान बन्नु पथ्र्यो त्यसको ठिक विपरीत मतादेशलाई अपमान गरेर बनाइयो । संविधान एकपक्षीय खासगरि मधेशी आदीवासी, जनजाति, दलित महिला विरोधी संविधान बनाइयो । हिजोकै शाषकहरूलाई पक्ष पोषण गर्ने प्रपञ्च गरियो । त्यसको विरोधमा मधेशीहरूले ऐतिहासिक संघर्ष गरे जसमा हाम्रो पाँच दर्जनभन्दा बढी योद्धाहरूले शहादत दिए । हजारौंको संख्यामा अंगभंग भएर आज बसिरहेको स्थिति छ । निर्वाचनको नाममा मधेशसँग जसरी बेइमानी गरिरहेको छ त्यसको विरोधमा राजपा दतचित भएर मधेशी जनता, आदीवासी, शोषित जनताको पक्षमा खडा भएको छ । जसले गर्दा मुलुकमा ठूलो मुठभेडमा गइरहेको नेपाली जनतामा शंका बढेर गएको छ । मधेशीलाई पेलेर जान कोशिस गरियो भने त्यसको परिणाम जे पनि हुन सक्छ । त्यसको जिम्मेबारी यो सरकारले लिनुपर्छ । त्यसैले अहिलेको स्थितिलाई सरकारले गम्भिर रूपमा लिएर मधेशको समस्यालाई समाधान गरेर अगाडी बढनु पर्ने अवस्था रहेको छ ।

तपाईहरू सहमति गरेर पालैपालो प्रचण्ड र शेरबहादुर देउवालाई प्रधानमन्त्री निर्वाचनमा मतदान गर्नुभयो तर, सहमति पूरा किन हुँदैन ?
— हामी नेपाली शाषण सत्ताको विरूद्धमा लडाई लडिरहेका छौं । हाम्रो आन्दोलन, लडाई या मधेश विद्रोह सरकारको विरूद्धमा मात्र भएको होइन । हामीले के भनेका छौं भने यो संविधान मधेश विरोधी हो, यो संविधान नश्लीय हो । त्यसैले संविधान संशोधबन गर्नका लागि सरकारले मात्रै चाहेर हुने कुरा होइन । संविधान संशोधन गर्न सरकारले वा पार्टीले चाहेर हुँदैन । संविधान संशोधन हुनका लागि राज्यसत्ता पनि तयार हुनु पर्छ । तीन बुँदे सम्झौताले मधेशलाई रणनीति जीत दिलाएको छ । यो देशका संविधान निर्माताहरू भन्थ्यो कि ९० प्रतिशत जनप्रतिनिधिहरूले बनाएको संविधान हो । त्यो तीन बुँदे सम्झौताले गलत साबित गरिदियो नि । अहिले काँग्रेस एमाले र माओवादीले पनि भन्दै छ कि संविधान संशोधन गर्नु आवश्यक छ । यसले के भन्न सकिन्छ भने मधेश जितेको छ । अब देउवा सरकारसँग हामीले केही नयाँ कुरा गरेका छैनौँ । हामीले सहमतिको कागजलाई नवीकरण मात्रै गरेका हौं । वास्तवमा यो सरकारले हामीसँग गरेको बाचा, प्रतिवद्धता वा सहमति पुरा गर्न सकेन । त्यसैले कागज नविकरण गरेर उनीहरूलाई याद दिलाइ दिएको हो । तिमी हाम्रा ऋणी हौँ, हाम्रो बलमा सरकार निर्माण गरेका छौँ, तिमीले यो कामको जिम्मेवारी लिएका थियौँ, यति काम ग¥यौँ र यति काम बाँकी छ भनेर हामीले कागज नवीकरण स्मरण गराउनका लागि मधेशले देउवा सरकारलाई समर्थन गरेको हो ।

देउवा सरकारलाई राजपा र फोरम नेपाल दुईटै समर्थन गरेको हो । तर उपेन्द्र यादव छुटिएपछि राजपालाई आफ्नो मुद्दा सरकारसँग सम्बोधन गराउनका लागि कमजोर परेको हो वा उपेन्द्र यादवको खाँचो खटकिएको अवस्था छ ?
— उपेन्द्रजी त्यसरी किन जानु भो त्यो थाहा भएन । तर, उपेन्द्रजीको अध्यक्षतामा जो सहमति भएको थियो त्यो बुँदालाई नै सम्बोधन गराउनको लागि राजपा दतचित भएर लागि परेको छ । उपेन्द्रजी रातारात के पाउनु भो कोसँग के लिनु भो त्यो उहाँ नै जानून् । उहाँ आफैले एक महिना अगाडी यो संविधान पुनर्लेखनको कुरा गर्नु हुन्थ्यो । यो संविधानलाई कुनैपनि हालतमा लागु हुन दिदैनौँ भन्नुहुन्थ्यो । मधेशमा महाभारत गर्छु भन्नु हुन्थ्यो । म भन्न चाहन्छु उपेन्द्र यादवले बोलेका कुरा लागु गराउन सके त ? आज उहाँ के पाउनु भो जो सरकार र निर्वाचन आयोगको प्रवक्ता जस्तो बोलिरहनु भएको छ । मलाई लाग्छ यो भन्दा ठूलो राजनीतिक बेइमानी केही पनि हुन सक्दैन । उहाँले जनताका छोराछोरीलाई हत्या गराएर आफनो राजनीतिक दुनो सोझ्याउन जुन कुकर्म गर्नु भएको छ, शब्दमा जति भनेपनि कम हुन्छ । हामी क्रान्तिमा होमिएका शक्तिहरू हाम्रो छेउछाउमा को छ भनेर हेर्दैनौँ । हामी निरन्तर संघर्षको बाटोमा अगाडी बढिरहेका छौँ । यो मुलुकमा स्थायी शान्ति चाहिएको छ भने मधेशलाई अन्देखा गरेर हुन सक्दैन । मधेश आफैमा एउटा शक्ति हो, मधेशलाई कुनै नेताले शक्ति बनाई दिएको होइन ।

ठाउँ–ठाउँमा राजपा कार्यकर्ताले उपेन्द्र यादवको विरोध गरिरहेको छन्, राजपा र फोरम आफैमा लडिरहेको अवस्था छ । यसले गर्दा मधेश मुद्दा ओझेलमा पर्दैन ?
— राजपाको त्यस्तो कुनै रणनीति छैन र राजपा कार्यकर्ताले गरेको पनि होइन । उहाँले जनतासँग जुन कबुलनामा गरेको थियो, प्रतिवद्धता गरेको थियो, आन्दोलनमा जाउँ भनेका थिए ती पिटाइ खाएका जनताहरूले लखेटेका हुन् । मधेश अब कुनै एउटा नेताको मुख हेरेर बस्ने होइन । नेता अबको समयमा हराएर जान्छ समाप्त भएर जान्छ तर मधेशको माटोमा यति ठूलो शक्ति छ कि त्यो हजारौँ हजार नेताहरूको जन्म दिन सक्छ । मधेशका जनताहरू छातिमा गोली खान तयार रहेको अवस्थामा एकदुई जना नेता दलाल हुँदैमा मधेश मुद्दा ओझेलमा पर्दैन ।

राजपाले मधेशमा भइरहेको रंगभेद र कार्यगत पुर्वाग्रहको सवालमा के कस्तो काम गरेको छ अथवा गर्ने रणनीति बनाएको छ ?
— निश्चित रूपमा राजपा गठन हुनु आफैँमा मधेशको राजनीतिक इतिहासमा नयाँ ढँगबाट सुरूवात गर्ने पहलकदमी हो । हिजोसम्म कहावत थियो कि मधेशी दलहरू स्वार्थमा लागेर लोभलालचमा लागेर यिनीहरू फुट्न मात्रै जानेका छन् । जुट्न जानेकै छैन । हामीले जुटेर त्यो कुरालाई गलत शाबित गरिदियौँ । राजपा खाली राजनीतिक शक्ति मात्रै होइन, सम्पूर्ण शोषणमा परेको जनताको मुक्तिको लागि गठन भएको हो । राजपाले मधेशको मुक्तिको शिवाय अरू कुनै कुरा जाने कै छैन । त्यसमा हामीले बारम्बार भनेका छौँ भविष्यमा हामीले सफल अवतरण गर्न सक्छौँ । हामी त्यसका लागि विभिन्न नीति र कार्यनीति बनाएका छौँ । राजपा मधेशी जनताको अन्तिम विकल्पको रूपमा लडेको छ । मधेश मुदालाई र मधेश पक्षलाई सदाको समाप्त गर्नका लागि मनोवैज्ञानिक रूपमा दबाउनको लागि एउटा ठूलो ग्राण्ड डिजाइन अन्तर्गत काम गरिएको छ । त्यसैले उपेन्द्रजी जादैँमा केही हुदैँन । राजपाले जनताको भावनालाई शिरोधार्य गरेर जाँदैछ, त्यसले प्रमाणित हुन्छ कि मधेशी जनताको ढुकढुकी र आशाको किरणको रूपमा राजपा उदाएको छ ।

राजपा नेपालको अबको बाटो के हुनेछ ?
— हामीले जसरी आन्दोलनको शंखनाद ग¥यौँ त्यसलाई निश्चित रूपमा दतचित भएर अगाडी बढाउँछौँ । अब राजपा बिनाको चुनाव संभव छैन भन्ने कुरा हामीले पनि महशुस गरेका छौँ । राज्यले द्वन्द्व गर्ने तर्फ गयो भने राजपा त्यसको जवाफ दिन पछि पर्दैन । त्यसैले राजपालाई दबाउन खोज्यो भने राजपा यो भन्दा कडा र अप्रिय निर्णय लिन बाध्य हुनेछ । उपेन्द्रजी र विजय गच्छदारले साचिक्कै मधेशको मुक्ति चाहेका हुन भने अहिले पनि आफ्ना गल्तीलाई सुधारेर आउनुुपर्छ । राजपा स्वागत गर्न तैयार छ । जब शाषकहरू शाषण गर्न एक भएको छ भने हामी शोषितहरू एकजुट भएर त्यसबाट मुक्त किन हुन सक्दैनौँ ।

अन्त्यमा मुलुकलाई यस्तो गम्भिर परिस्थितिबाट निकास दिनका लागि राजपा नेपाल कतिको जिम्मेवार छ ?
— निश्चित रूपमा राजपा नेपाल पनि एउटा पक्ष हो । तर जोसँग साधन स्रोत सबै कुरा छ त्यो पक्षले पनि मुलुकमा शान्ति अमन–चयन दिनका लागि जिम्मेबार बन्नु प¥यो । बारम्बार हामीसँग सम्झौता गरे तर त्यो उल्लंघन गरियो । हामीले आजसम्म शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका छौं । यो निकासको लागि त हो नत्र आन्दोलनले अर्को रूप लिन सक्थ्यो । त्यसैले राजपा मधेशको मुद्दामा जिम्मेवार छ । तर, हामीभन्दा पनि बढी जिम्मेवार तिनीहरू हुन् जो मधेशसँग बेइमानी गरिरहेका छन् । जबसम्म मधेशको समस्या समाधान हुँदैन तबसम्म देशले राजनीतिक निकास पाउन सक्दैन । जसले अधिकार खोसेर बसेका छन्, उनीहरू नै बढी जिम्मेवार हुने हो । उनीहरू जिम्मेवार र विश्वासका साथ आए भने राजपा सधैं जिम्मेवार रूपमा अगाडि बढ्छ ।

प्रकाशित मिति: Jun 19, 2017

प्रतिक्रिया दिनुहोस्