Logo
२४ मंसिर २०८१, सोमबार
(June 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आयोगले सरकारलाई भन्यो, ‘पटक पटक निर्वाचन सार्दा राम्रो हुन्न’

काठमाडौं, असार १: निर्वाचन आयोगले पटक पटक निर्वाचन सार्दा राम्रो नहुने प्रस्ट पारेको छ । सत्तारुढ दलका शीर्ष नेताहरुसँग बिहीबार सिंहदरबारमा भएको छलफलमा आयोगका पदाधिकारीहरुले असार १४ गतेको निर्वाचनका लागि सम्पूर्ण तयारी अवस्थामा रहेकोले निर्वाचन सार्नु नहुनेमा जोड दिएका हुन् । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले छलफलमा निर्वाचन तयारी, सुरक्षा व्यवस्थालगायत विषयमा छलफल भएको बताउँदै आयोगले निर्वाचन सार्न नहुने सल्लाह सरकारलाई दिएको कान्तिपुरलाई जानकारी दिए ।

यसअघि राजपालाई चुनावमा ल्याउन भन्दै सरकारले वैशाख ३१ गतेको लागि तोकिएको स्थानीय तह निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको थियो । त्यसपछि जेठ ३१ मा सारिएको चुनाव असार ९ हुँदै १४ पुर्‍याइएको छ । सरकारले राष्ट्रिय जनता पार्टीलाई चुनावमा ल्याउन छलफल जारी राखिएकै बेला आयोग पदाधिकारीसँग छलफल गरेको हो । केही दिन निर्वाचन सारेर भएपनि राजपालाई चुनावमा सहभागी गराउन सकिन्छ कि भन्ने पक्षमा सत्तारुढ दलहरु छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तापक्षले पछिल्लो समय लगातार राजपालाई चुनावमा ल्याउन गरेको प्रयास असफल हुँदै आएको छ । बिहीबार सिंहदरबारमा प्रमुख दल कांग्रेस, एमाले, माओवादी र राजपाको संयुक्त बैठक बस्दैछ । बुधबार बेलुकीको बैठक बिनानिष्कर्ष टुंगिएको थियो । राजपाले संविधान संशोधन नगरिएको, जनसंख्याको अनुपातमा तराईमा स्थानीय तहको संख्या नबढाइएको भन्दै आन्दोलन जारी राखेको छ । कान्तिपुरमा समाचार छ ।

प्रकाशित मिति: Jun 15, 2017

प्रतिक्रिया दिनुहोस्