Logo
१३ बैशाख २०८१, बिहीबार
(June 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज नयाँ प्रधानमन्त्रीः एमालेले संसद चल्न दिने

काठमाडौँ : सदन खुलाउने प्रयास स्वरुप प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा सहमति जुटेको छ । बैठकपछि एमाले नेता झलनाथ खनालले भोलिको संसद बैठक अवरोध नगर्ने सहमति भएको जानकारी दिए ।

सभामुखको च्याम्बरमा प्रमुख दलका शीर्ष नेताहरुको सहभागितामा बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भोलिको संसद बैठक अवरोध नगर्ने बताएको हो ।

बैठकमा प्रमुख तीन दलबीच तीन वटै तहको निर्वाचन सहमतिमै निष्पक्षताका साथ सम्पन्न गर्ने सहमति पनि भएको छ । एमालेले भरतपुर महानगरपालिकामा भएको मतदान विवाद समाधान गर्न माग गर्दै यस अघि संसद बैठक अवरुद्ध पार्दै आएको थियो ।

तर सत्ता पक्षले अव त्यस्तो हुन नदिने प्रतिवद्धता जनाएपछि एमाले संसद बैठक सुचारु गराउन सहमत भएको हो । सत्तारुढ दल नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रले चार बुँदे प्रतिबद्धता जनाएपछि  सहमतिको वातावरण बनेको हो ।

प्रधानमन्धी निर्वाचनका विषयमा सदनबाट हुने प्रकृयामा सहयोग गर्न आग्रह गर्न गृहमन्त्री बिमलेन्द्र निधी र काँग्रेस नेता प्रदिप गिरी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए ।

करिब डेढ घण्टा भएको छलफलमा गृहमन्त्री र नेता गिरीले सहयोगको अपेक्षा सहित ओलीसँग आफ्ना कुरा राखेको अध्यक्ष ओलीका निजी सचिव अनिस दाहालले जानकारी दिएका थिए ।

भोलि संसद अवरुद्ध नहुने भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने पक्का भएको छ । दलहरुबीचको सहमति अनुसार मंगलबार संसद बैठक दुई चरणमा सम्पन्न हुनेछ । पहिलो चरणमा प्रमुख दलका शिर्ष नेताहरुले सम्बोधन गर्नेछन् । त्यसपछि पुनः बस्ने बैठकले प्रधानमन्त्री चयन गर्नेछ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भोलि दुईवटा संसद बैठक बस्ने र पहिलो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने तथा दोस्रो बैठकले नयाँ प्रधानमन्त्रीका लागि मतदान गर्ने जानकारी दिए ।

प्रकाशित मिति: Jun 6, 2017

प्रतिक्रिया दिनुहोस्