Logo
७ बैशाख २०८१, शुक्रबार
(May 9, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शुरुदेखि नै चल्दै आइको छ, राजेन्द्र-महन्थ र उपेन्द्रबीच ठाकठुक

काठमाडौ, वैशाख २५ : यो संयोग हो कि सुनियोजित, जुन बाटोबाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव संघीय गठबन्धनको संयोजक बनेका थिए, सोही बाटोबाट राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि संयोजक बन्न पुगे । एकवर्ष अगाडि अर्थात २०७३ वैशाख २३ गते उपेन्द्र यादव संयोजक बनेका थिए, भने ठिक एकवर्षपछि अर्थात २०७४ वैशाख २३ गते नै महन्थ ठाकुर पनि संयोजक बन्न पुगे ।

एकवर्ष अघि उपेन्द्र यादवले संघीय गठबन्धनको बैठक बोलाएका थिए । अरु अरु एजेण्डामा छलफल गर्नका लागि बैठक बोलाएका थिए । गठबन्धनको एकजना संयोजक बन्नुपर्छ भन्दै तत्कालिन तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले प्रस्ताव ल्याएका थिए । प्रस्ताव बैठकमा आएपनि म बन्छु भनि कसैले भनेनन् ।

त्यही बेला महेन्द्र राय यादवले उपेन्द्र यादव संयोजक बनाउने प्रस्ताव ल्याएका थिए । त्यसमा तत्कालिन राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिह भण्डारी र मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले पनि समर्थन जनाएका थिए । तर, सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी र तमलेपाले खुलेर समर्थन गरेका थिएनन् । संयोग, त्यो दिनको बैठकमा यी तीनै दलका अध्यक्षहरु उपस्थित थिएनन् । महन्थ ठाकुरले हृदयश त्रिपाठीलाई पठाएका थिए भने राजेन्द्र महतोले लक्ष्मणलाल कर्णलाई । अनिल झाको पार्टीबाट त्यो दिन कोही उपस्थित थिएनन् ।

उपेन्द्र यादवले आफूलाई गठबन्धनको संयोजक घोषणा गरेपछि त्यही दिनदेखि उनको आलोचना शुरु भएको थियो । आफूहरुलाई नसोधीकन उपेन्द्र यादवले जवर्जस्ती आफ्नै मनले संयोजक बनेको आरोप लगाउँदै आलोचना गरिरहेका थिए भने यता, उपेन्द्र यादवले सबैसँग सोधेर आफू संयोजक बनेको दावी गर्दै आएका थिए । उपेन्द्र यादवको आलोचना मात्र होइन, महन्थ ठाकुर र राजेन्द्र महतो गठबन्धनले बोलाएको बैठकमा जान समेत छाडि सकेका थिए ।

यहाँसम्म कि उपेन्द्र यादवले राजधानी केन्द्रीत आन्दोलन गर्ने भनि गरेका घोषणाको पनि ती नेताहरुले सकारात्मक रुपमा लिएका थिएनन् । त्यतिबेलै जनकपुरमा बसेको तमलोपाको केन्द्रीय समितिको बैठकमा पनि उपेन्द्र यादवको आलोचना जमेर भएको थियो । उनीहरुको चाहना थियो कि कुनै पनि आन्दोलन मधेशी मोर्चाको तर्फबाट होस् । मधेशमा यत्रो आन्दोलन हुँदा सरकारले टेरेनन् अब राजधानी केन्द्रीत आन्दोलन गरेर के नै हुन्छ भनि उपेन्द्र यादवको खिल्ली उडाउने काम पनि त्यतिबेला भएको थियो । तर, उपेन्द्र यादवले हार मानेनन् । उनी विभिन्न आदिवासी जनजातिहरुको संगठनलाई जोड्दै गठबन्धनलाई बलियो बनाउँदै लगे । ३३ वटा दलसम्म पुर्याएका थिए । अहिले २३ दल मात्र छन् ।

राजधानी केन्द्रीत आन्दोलनको तयारीका लागि उपेन्द्र यादवले गठबन्धनको बैठक बोलाएका थिए । २०७३ वैशाख ८ गते बोलाएका बैठकमा पनि महन्थ ठाकुर र राजेन्द्र महतो अनुपस्थित रहे । यद्यपी त्यसअघि वैशाख ६ गते राष्ट्रयसभा गृहमा गठबन्धनले आयोजना गरेको वृहत अन्तरक्रिया कार्यक्रममा महन्थ र राजेन्द्र दुवैजना सहभागि भएका थिए । बैशाख ८ गते भएको छलफलमा उनीहरुले आफ्ना पार्टीका अरु अरु नेताहरुलाई पठाएका थिए । कार्यक्रम गर्ने कि नगर्ने भनि तीन दिनसम्म लगायत बैठकमा छलफल भयो । सहमति भइरहेको थिएन, उपेन्द्र यादवको संयोजकत्वमा गठन भएको गठबन्धनलाई असफल कसरी बनाउन सकिन्छ भन्दै भित्रभित्रै थुपै्र खेलहरु भए ।

अन्ततः निर्णय भयो । जेठ १ गतदेखि राजधानी केन्द्रीत आन्दोलन गर्ने सहमति भयो । आन्दोलनको कार्यक्रम घोषणा भइसकेपछि जेठ १ गते भएको सिहदरवार घेराउ कार्यक्रममा राजेन्द्र महतो सहभागी भए । तर महन्थ ठाकुर भएनन् । त्यसपछि बलुवाटार घेराउ तथा राजधानीमा विभिन्न ठाउँमा भएको कोणसभामध्ये कुनै मा यी दुईजना नेता सहभागि भएनन् । उनीहरुले औपचारिकताका लािग पार्टीका कुनै एकजना सानातिना नेतालाई पठाई दिन्थे । ती कार्यक्रममा तत्कालिन सद्भावना पार्टी र तमलोपाका खासै कार्यकर्ताको उपस्थिति हनेथिएनन् ।

उपेन्द्र यादव आफै सबै कार्यक्रममा सहभागी हुन्थे । कार्यक्रम सफल पार्नलाई उनले मधेशबाट आफ्ना पार्टीका कार्यकर्ता समेत ल्याएका थिए, तर तमलोपा र सद्भावना पार्टीले कुनै चासो लिएका थिएनन् । कार्यक्रम सफल पार्न उपेन्द्र यादवले त्यसलाई प्रतिष्ठाको विषय बनाएका थिए । उपेन्द्र यादवलाई त्यसबेला सबभन्दा बढी साथ शरतसिह भण्डारी र महेन्द्रराय यादवको पार्टीले दिएका थिए । उपेन्द्र यादव संयोजक बनेकोमा विरोध हुँदा त्यसको प्रतिवाद यी दुई नेताले मात्र गर्थे । त्यसपछि जेठ २५ गतेदेखि खुल्ला मञ्चमा रिले अनसन शुरु भएको थियो, उक्त अनसनमा पनि राजेन्द्र महतो र महन्थ ठाकुर सहभागि भएनन् ।

बरु उनले दिनभरि अनसन बसेर राती खाने यो कस्तो अनसन हो भन्दै अनसनको आलोचना समेत गर्थे । यद्यपी आफै नगएपनि आफ्ना दलका कुनै कार्यकर्तालाई पठाउने क्रम चलिरह्यो । त्यो रिले अनसन कार्यक्रम पनि भव्य सफल भयो । एकमहिनासम्म चलेको थियो उक्त रिले अनसन । रिले अनसनमा ऐक्यवद्धता जनाउन एमाले बाहेक सबै दलका नेताहरु पुगेका थिए । अन्तिम दिन माओवादीका अध्यक्ष प्रचण्ड पनि पुगेका थिए । तर एक महिनामा एकदिन पनि महन्थ र राजेन्द्र सहभागि हुन गएनन् । त्यसपछि पनि गठबन्धनले देशव्यापी विभिन्न कार्यक्रमहरुको आयोजना गरे तर कुनैमा उनीहरुले सहभागिता जनाएनन । रिले अनसनपछि त अलिन झा पनि गठबन्धनको साथ छाडे ।

उपेन्द्र यादव पनि के कम, उनले गठबन्धनको कार्यक्रमलाई जति महत्व दिन्थे त्यति मधेशी मोर्चाका कार्यक्रमलाई महत्व दिदैनथे । मधेशी मोर्चाको कार्यक्रममा आकल झुकल उपस्थित मात्र हुन्थे उनी । उनी गठबन्धनलाई बढी महत्व दिन्थे । राजेन्द्र र महन्थ जस्तै मोर्चाको धेरैजसो बैठकमा आफै नगएर आफ्ना पार्टीका कुनै प्रतिनिधिलाई पठाई दिन्थे । यसले गर्दा दुई पक्षमा आन्तरिक मनमुटाव शुरु भइसकेको थियो । गठबन्धनको संयोजक बन्ने इच्छा महन्थ ठाकुरको थियो, तर उपेन्द्र यादव बहुमत पुर्याएर आफै संयोजक बनेपछि असन्तुष्ट थिए उनीहरु । गठबन्धनको संयोजक नबनाए पनि महन्थलाई मधेशी मोर्चाको संयोजक बनाउन उपेन्द्रलाई पटक पटक आग्रह गरेको थियो तर उनी मानेका थिएनन् ।

त्यसले गर्दा झनै असन्तुष्ट बढी रहेको थियो । कहिले काही गठबन्धन र मधेशी मोर्चाले एकअर्काले गरेको निर्णयमाथि पनि हस्तक्षेप गथ्र्यो । एकैदिन दुई दुईटा विज्ञप्ति आउँथ्यो । उपेन्द्र यादवको चाहना हुन्थ्यो गठबन्धनले सरकारसँग वार्ता गरोस्, आन्दोलनहरु गरोस् तर राजेन्द्र महतो र महन्थ ठाकुरलगायतका नेताको चाहना मधेश मोर्चाले सरकारसँग वार्ता गरोस् र आन्दोलन गरोस् भन्ने थियो । त्यही भएर कहिले काही सरकारले वार्ताका लागि बोलाउँदा उपेन्द यादवले गठबन्धनमा रहेका अन्य आदिवासी जनजातिलाई लिएर बालुवाटार पुग्थे, जुन कुरा महन्थ र राजेन्द्र महतोलाई मन पर्दैन्थ्यो ।

कतिपय अवस्थामा त मधेशी मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गर्दा उपेन्द्र यादवले पनि गठबन्धनबाट आन्दोलनका कार्यक्रमहरु घोषणा गर्थे । उपेन्द्र यादवको तर्क हुन्थ्यो, आदिवासी जनजातिलाई नसमेटी कुनै पनि हालतमा मधेश आन्दोलन सफल हुँदैन । राजेन्द्र महतोको तर्क हुन्थ्यो, मधेश आन्दोलन गर्न मधेशी मोर्चा सक्षम छ, आदिवासीको साथ लिनुपर्छ तर भूमिका दिन नहुने तर्क उनको हुन्थ्यो ।
यस्तै दाउपेंचमा बित्यो एक वर्ष । मधेशी मोर्चामा रहेका छ दलले राजपा नेपाल गठन गर्यो भने उपेन्द्र यादव पहिलो चरणको स्थानीय तहको चुनावमा भाग लिए ।

जब कि उपेन्द्र यादवले सविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने भनि आन्दोलनका चेतावनी दिँदै आएका थिए तर, मधेशी मोर्चा तथा संघीय गठबन्धनमा कुनै सल्लाह नै नगरि उपेन्द्र यादव चुनावमा भाग लिए भन्ने राजपा नेपालका नेताहरुले आलोचना गरे । त्यही आलोचनाका विचमा वैशाख २३ गते महन्थ ठाकुरले आफ्नो अध्यक्षतामा गठबन्धनको बैठक बोलाएर आफू संयोजक भएको घोषणा गरे । सो दिनको गठबन्धनको बैठकमा राजपाबाहेक अन्य आदिवासी जनजातिहरुको दल तथा संगठनको सहभागिता थियो । २३ गते महन्थ ठाकुर गठबन्धनको संयोजक बनेपछि उपेन्द्र यादवले २४ गते एक विज्ञप्ति जारी गरि महन्थ ठाकुर गैरवैधानिक ढंगले संयोजक बनेको र त्यसको कुनै मान्यता नहुने भन्दै गठबन्धनको संयोजक आफू रहेको दावी गरेका छन् । महन्थ ठाकुरले आज पनि आफ्नै अध्यक्षतामा गठबन्धनको बैठक बोलाएका छन् । सो बैठकले आन्दोलनको कार्यक्रम घोषणा गर्ने बताइएको छ । @रातोपाटीबाट साभार

प्रकाशित मिति: May 9, 2017

प्रतिक्रिया दिनुहोस्