Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेनासहित एक लाख सुरक्षाकर्मी परिचालन

काठमाडौं, बैशाख २० : स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्तासँगै गृह मन्त्रालयले पहिलो चरणको सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको छ । फागुन १८ मा गृहले निर्वाचनअघि, मतदान र मतदानपछि गरी २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गर्नेगरी तीन चरणको सुरक्षा योजना बनाएको थियो।

प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी गरी एक लाख सुरक्षाकर्मी खटिएको गृहका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए ।

पहिलो चरणमा निर्वाचन हुने तीनवटा प्रदेशमा गृह मन्त्रालयले करिब एक लाख सुरक्षाकर्मी परिचालन गरेको छ । प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी गरी एक लाख सुरक्षाकर्मी खटिएको गृहका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए ।

गृहका अनुसार गोरखा, बाग्लुङ, नुवाकोट, पर्वत, काभ्रे, सिन्धुपाल्चोक, स्याङ्जा, म्याग्दी, धादिङ, लमजुङ, कास्की, चितवन, तनहुँ, मकवानपुर, रसुवा, सुर्खेत, नवलपरासी, सिन्धुली, दोलखा, रामेछाप, दैलेख, कालीकोट, जुम्ला, जाजरकोट, सुर्खेत, सल्यान, रुकुमलगायतका जिल्लामा मंगलबारबाटै संयुक्त सुरक्षा बेसक्याम्प बसिसकेको छ ।

९५ हजार सेना, ६० हजार प्रहरी, ३० हजार सशस्त्र र ७५ हजार म्यादी परिचालन गर्नेगरी गृहले सुरक्षा योजना बनाएको थियो । निर्वाचन २ चरणमा हुने भएपछि उसले आधा सुरक्षा जनशक्ति परिचालन गरेको छ ।

करिब ७५ हजार म्यादी प्रहरीमध्ये पहिलो चरणको निर्वाचनमा २५ हजार परिचालित हुनेछन् । ५० हजार म्यादी दोस्रो चरणको निर्वाचनमा खटिनेछन् ।

पन्थीका अनुसार २३ हजार प्रहरी र १८ हजार सशस्त्र प्रहरी निर्वाचन सुरक्षामा परिचालित भइसकेका छन् । पहिलो चरणमा करिब ४५ हजार सेना खटिएका छन् ।

केन्द्रीय सुरक्षा समितिले पारित गरिसकेको स्थानीय निकाय निर्वाचन सुरक्षासम्बन्धी योजना २०७३ मा निर्वाचनअगाडि, निर्वाचन अवधि र निर्वाचनपछि गरी तीन अवस्थासहित विस्तृत सुरक्षा योजना बनाएको थियो ।

योजनाको पहिलो चरणमा निर्वाचन कार्यालयको सुरक्षा, उम्मेदवार र दलका नेताको सुरक्षा, निर्वाचन सामग्रीको सुरक्षा, चुनावी अभियान व्यवस्थापन र सुरक्षा उल्लेख छ ।

दोस्रो चरणमा निर्वाचन सामग्री ढुवानी, निर्वाचन कार्यालयको सुरक्षा, मतदान केन्द्रको सुरक्षा छ भने तेस्रो चरणमा मतपेटिकाको ढुवानी र व्यवस्थापन, मतगणना केन्द्रको सुरक्षा र विजय जुलुस व्यवस्थापन छ ।

वैशाख ३१ मा मतदान हुने निश्चित भए पनि मतगणना कहिले हुने, टुंगो नभएकाले तेस्रो चरणको सुरक्षा योजनामा मतपेटिका ढुवानी र सुरक्षामा सुरक्षाकर्मी परिचालन गर्ने उल्लेख छ ।

‘उम्मेदवारी दर्ता भइसकेकाले पहिलो चरणमा उम्मेदवार र निर्वाचन कार्यालयको सुरक्षामा सुरक्षाकर्मी केन्द्रित गरेका छौं,’ पन्थीले नागरिकसँग भने, ‘निर्वाचन कार्यालय, सामग्री र कर्मचारीको सुरक्षामा समेत सुरक्षाकर्मी परिचालित भइसकेका छन् ।’

विप्लव मुख्य सुरक्षा चुनौती

उम्मेदवारी दर्ताको अघिल्लो दिन नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार म्याग्दीका जसबहादुर पुन अपहरणमा परे । उनी मंगलबार अपहरणमुक्त भएर परिवारको सम्पर्कमा आए ।

गृहप्रवक्ता पन्थीका अनुसार नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताले उनको अपहरण गरेको पुष्टि भइसकेको छ । पन्थीका अनुसार प्रहरी उनको अपहरणमा संलग्नको खोजीमा खटिइसकेको छ ।

गृहले तराई क्षेत्रमा भूमिगत समूह, सिके राउत, विप्लव र निर्वाचन विरोधी समूहलाई मुख्य सुरक्षा चुनौतीको रुपमा विश्लेषण गरेको थियो । पहिलो चरणको निर्वाचनमा विप्लव समूह मुख्य सुरक्षा चुनौतीका रुपमा देखिएको छ ।

सो समूहले सार्वजनिक रुपमै उम्मेदवारको अपहरण गर्ने चेतावनी दिएको थियो । चेतावनीसँगै उम्मेदवार अपहरणसमेत गरेकाले राष्ट्रिय अनुसन्धान विभागलगायतका निकाय विप्लवको गतिविधितर्फ केन्द्रित भएका छन् ।

स्रोतका अनुसार गृहले विप्लवको प्रभाव रहेका क्षेत्रका उम्मेदवारलाई निर्वाचन प्रचारमा जानुअगाडि सुरक्षाकर्मीलाई जानकारी दिन र सुरक्षाकर्मीको साथमा मात्र जान जानकारी गराइसकेको छ ।

मुख्य सुरक्षा प्रहरीको, सेना र सशस्त्र सहयोगी

निर्वाचन सुरक्षा योजनाअनुसार कार्यालय, उम्मेदवार र प्रचारप्रसारको सुरक्षाको मुख्य जिम्मेवारी प्रहरीले पाएको छ । उम्मेदवारको सुरक्षामा आवश्यकताअनुसार सशस्त्रले समेत सघाउनेछ ।

निर्वाचन कार्यालय, दलको कार्यालयको सुरक्षामा म्यादी प्रहरीसमेत खटिएका छन् । गृहले एकीकृत सुरक्षा योजना बनाए पनि सेना भने आफ्नै सुरक्षा योजनाअनुसार परिचालित हुनेछ ।

‘सेनाको भूमिका पेट्रोलिङ, निर्वाचन सामग्री ढुवानी, मतदान केन्द्रको बाहिरी घेराको सुरक्षा मुख्य हो,’ गृहस्रोतले भन्यो, ‘उनीहरु आफ्नो जिम्मेवारीअनुसार आफ्नै चेन अफ कमान्डअनुसार परिचालित हुनेछन् ।’

नेपाल प्रहरी र सशस्त्रका तर्फबाट जनशक्ति बढाउन यी दुवै संगठन खटिएको महŒवपूर्ण प्रतिष्ठानको सुरक्षा, विमानस्थल र कारागारको सुरक्षामा समेत सेना खटिँदैछ ।

सशस्त्रले सुरक्षा विश्लेशणका आधारमा सुरक्षा जोखिम देखिने उम्मेदवारको सुरक्षा, चुनावी प्रचार, ¥यालीको सुरक्षामा खटिने र चुनावी सामग्री ढुवानीमा सेनालाई सघाउनेछ । नागरिकमा समाचार छ ।

मतदानको दिनका लागि गृहले बुथ केन्द्रित गरी तीन तहकै सुरक्षा रणनीति बनाएको छ जसअनुसार बुथको भित्री क्षेत्रमा प्रहरी म्यादीसहित खटिनेछ । प्रहरीको घेराबाहिर सशस्त्र प्रहरी खटिनेछ जसले बुथबाहिरको सुरक्षा प्रबन्ध गर्नेछ ।

प्रकाशित मिति: May 3, 2017

प्रतिक्रिया दिनुहोस्