Logo
१२ श्रावण २०८१, शनिबार
(March 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसरी बिग्रिएको थियो ओली र मधेसी मोर्चाको सम्बन्ध

काठमाडौ । एमालेको मेची महाकाली अभियान अन्तर्गत सप्तरीको राजविराजमा फागुन २३ गते प्रहरी र मधेसीमोर्चाका कार्यकर्ताबीच झडप हुँदा मारिएका पाँच जनाको शनिबार सप्तरीको राजविराजदेखि सिरहाको लहानसम्म शबयात्रा गरिएको छ । ८८ किलोमिटर सो लामो यात्रामा मधेसी मोर्चाका नेताहरुसहित हजारौं सर्वसाधारणको सहभागिता रहेको थियो । शवयात्राका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्धको चर्का नारा लागेका थिए ।

किन कति धेरै एमालेविरुद्ध मधसी जनता आक्रोशित भए ? के एमाले मधेस विरोधी पार्टी नै हो त ? रातोपाटी यसको जवाफ खोज्न तिर लाग्दैन तर एमाले र सो पार्टीका अध्यक्ष ओलीबीच कसरी सम्बन्ध विग्रियो भन्ने चाही खोतल्ने प्रयास गर्नेछौं | रोचक त् के छ भने मधेशका अधिकांश नेताहरु एमालेले उत्पादन गरेका नेताहरु हुन् । जयकृष्ण गोइतदेखि उपेन्द्र यादवसम्मका नेताहरु एमालेबाट उत्पादित नेता हुन् । र, अहिले उनीहरु एमालेका विरुद्धमा आन्दोलन गरिरहेका छन् ।

जयकृष्ण गोइत ‘अलग मधेश’को माग गर्दै भूमिगत सशस्त्र आन्दोलन गरिरहेका छन् भने उपेन्द्र यादव संघीय समाजवादी फोरम नेपाल पार्टीमार्फत शान्तिपूर्ण आन्दोलन गरिरहेका छन् । त्यस्तै, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का उपाध्यक्ष जितेन्द्र देव र रिजवान अन्सारी पनि एमालेकै उत्पादन हुन् । त्यस्तै सीतानन्द राय यादवले (निधन भएको) पनि एमाले छाडेर फोरम नेपालमार्फत राजनीतिक गरेका थिए । यस्ता थुप्रै नेताहरु छन् जो एमालेका उत्पादन हुन् तर अहिले उसैका विरुद्ध आन्दोलन गरिरहेका छन् ।

यस्तो किन त ?
एमाले छाडेर तराई मधेश सद्भावना पार्टी गठन गरि त्यसको अध्यक्षको रुपमा क्रियाशिल महेन्द्र राय यादवले भने, ‘हामीले एमाले किन छाडेको कुरा अहिले आएर पुष्टि भएको छ । त्यसबेला पनि एमाले मधेशप्रति पोजेटिभ थिएन, त्यसका लागि हामीले पटक पटक आवाज उठाएका थियौं तर कहिले सुनुवाई भएन, बाध्य भएर पार्टी छाड्नुपर्यो, किन हामीले पार्टी छाडेको त्यसका जवाफ स्वयं एमालेले नै अहिले दिइरहेको छ ।’

मधेशको बारेमा उपेन्द्र यादव, सितानन्दन राय , महेन्द्रराय यादवलगायतका नेताहरुले आवाज उठाएपछि मधेशको अवस्था बारे अध्ययन गर्नका लागि २०५० सालमा सितानन्दन रायको संयोजकत्वमा कार्यदल गठन भएका थियो । कार्यदलले केहि काम पनि गर्यो । तर, कार्यदलको प्रतिवेदन कार्यान्वयनमा आएन । तत्कालिन एमाले महासचिव मदन भण्डारीको निर्देशनमा त्यो कार्यदल बनाइएको थियो । उनको निधनसँगै प्रतिवेदन पनि अलपत्र बनेको राय स्मरण गर्छन् । त्यसपछि नै मधेशी नेता र एमालेपार्टीबीच दुरी बढ्न थालेको बताइन्छ ।

अहिले नेपाल संघीय समाजवादी पाटी गठन गरी राजनीतिकमा क्रियाशिल रहेका रिजवान अन्सारीले भने, ‘मदन भण्डारीको हत्यापछि एमालेमा मधेशप्रतिको सोच हरायो । भण्डारी अग्रगमन पक्षधर थिए, उनी मधेशी, आदिवासी जनजाति, थरुहरुमा पार्टीलाई विस्तार गर्न चाहन्थे, तर अहिले एमालेका नेताहरुले मदन भण्डारीको ती सबै सपना चकनाचुर गरि पार्टीलाई मधेश विरोधी, जनजाति विरोध बनाएका छन् ।’

यो कुरामा राजनीतिक विश्लेषक चन्द्रकिशोर झा पनि ‘कन्भिन्स’ छन् । उनी भन्छन्, मदन भण्डारीको पालामा एमाले अहिले जस्तो थिएन, भण्डारीले मधेशको बारेमा केही गर्न चाहनु हुन्थ्यो, त्यही भएर एउटा कार्यदल गठन भएको थियो । तर उहाँको हत्यापछि त्यो कार्यान्वयन नै भएन ।’ यस्तो हुनुको कारणमा एमालेभित्र निर्णायक तहमा मधेशी नेता नहुनु पनि एक भएको चन्द्रकिशोरको बुझाई छ । ‘एमाले नेता माधव कुमार नेपालले मधेशी नागरिकको भोटले चुनाव जितेका छन् तर उनले ती मधेशी जनताको बारेमा संसदमा बोलेको कहिले सुनिएको छैन,’ झाले भने, ‘माधव नेपाल रौतहट आउन लाग्दा सिमरा एयरपोर्टबाट नै कुर्ता पाइजामा गम्छा लगाउँनु हुन्छ, स्थानीय भाषामा बोल्न थाल्नु हुन्छ तर काठमाडौ फर्केरपछि सबै विर्सिनु हुन्छ ।’

मधेश आन्दोलनले एमालेभित्रका मधेसी नेतालाई फाइदा 
मधेश आन्दोलनले एमालेभित्र रहेका मधेशी नेतालाई फाइदा भएको छ । मधेश आन्दोलनको दवावले पछिल्लो समय २१ जना मधेशीलाई पार्टीको केन्द्रीय समितिमा ल्याइएको छ । त्यो मधेश आन्दोलनको दवाव नै हो तर तीमध्ये कुनै पनि नेताहरु निर्णायक तहमा भने छैनन् । पहिलो सविधानसभा चुनावपछि रामपृत पासवानलाई राष्ट्रपतिको रुपमा एमालेले अगाडि सारेको थियो । तर उनको पार्टीमा कुनै भूमिका छैनm गुमनाम छन् । बरु सत्यनारायण यादव र लालबाबु पण्डितको पार्टीमा प्रभाव केहि छ ।

मधेशप्रति ओलीको रिस
ओलीले मधेशको झापाबाट चुनाव जितेका हुन् । जानकारहरु भन्छन्– अध्यक्ष ओली मधेशप्रति पहिला त्यति नकारात्मक थिएनन् । पहिलो सविधानसभा गठन हुनेबेलासम्म उनी मधेशप्रति सकारात्मक थिए । बरु झलनाथ खनाल, माधव कुमार नेपालले मधेशको बारेमा नकारात्मक टिप्पणीहरु गरिरहेका हुन्थे तर ओलीले कहिल्यै पनि त्यस्तो शब्दहरु प्रयोग गरेका थिएनन् । जब मधेशी नेताले अध्यक्ष अ‍ोलीलाई प्रधानमन्त्री बनाउनमा सहयोग गरेन । त्यसपछि उनी मधेशप्रति नकारात्मक हुँदै गए ।

संविधान निर्माणको कार्य शुरु हुनु लाग्दा सुशील कोइरालालाई हटाएर आफू प्रधानमन्त्री बन्नका लागि मधेशी मोर्चाका नेतालाई आफ्नो घरमा पटक पटक बोलाएर छलफल गरेका थिए । तर फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार बाहेक अरु कसैले सहयोग गरेनन् । मोर्चाको समर्थन बिनै प्रम भएसँगै बालुवाटारको बैठकमा ओलीले मधेशी मोर्चाका नेताहरुलाई ‘समथर भूभाग देख्नै नहुने, त्यसो भए युपी विहार पनि मधेशमा मिलाउ’ भनेर जवाफ दिएका थिए । त्यहीँबाट ओली र मधेसी नेताहरुबीच टकराव सुरु हुँदै अहिलेको अवस्थासम्म आइपुगेको हो । यो बीचमा यति सम्म भयो कि मधेशी मोर्चाले एमालेसँग हुने कुनै पनि बैठक र छलफलमा सहभागि नहुने घोषणा नै गरेको थियो ।

सम्बन्ध सुधार गर्ने प्रयास
बीचमा एकपटक उनले मधेशी मोर्चासँग सम्बन्ध सुधार गर्ने प्रयास पनि गरेका थिए । जुनबेला ओलीलाई प्रधानमन्त्रीबाट हटाउने चलखेल शुरु भएको थियो । त्यो बेला उनले मधेशी मोर्चासँग सम्बन्ध सुधार गर्ने प्रयास गरेका थिए । उनले मधेशी मोर्चाका नेतालाई बोलाएर भनेका थिए, ‘तपाईहरुको जे जे माग छ, त्यो म सबै पूरा गर्छु ।’ तर मधेशी मोर्चाका नेताहरुले प्रस्ताव अस्वीकार गरिदिए ।

काँग्रेसका नेताहरुले मधेशी मोर्चाका नेतालाई त्यतिबेला भनेका थिए, एमालेलाई जश किन दिने हामी सरकार बनाऔं र हामी आफैं सबै गरौला ।’ काँग्रेस र माओवादी केन्द्रको प्रभावमा परेर एमाले नेतृत्वको सरकार ढाल्न मधेशी मोर्चा तयार भए । त्यसपछि त अध्यक्ष अ‍ोली मधेशप्रति झन् नकारात्मक हुँदै गए । त्यही बेला आँप झर्ने र माखो साँग्लोको कुरा ओलीले गरेका थिए । संसद वहिष्कार गरेर बसेका मधेशी मोर्चाका नेताहरु एमालेको सरकार ढाल्नका लागि संसदमा फर्किए । त्यतिमात्रै होइन प्रचण्डलाई प्रधानमन्त्री बनाउनका लागि समर्थक नै बसे । यसले एमालेका अध्यक्ष ओली थप आगो भए ।

सरकारबाट हटेपछि उनले राष्ट्रियताको नारा लगाउँदै मधेशविरुद्ध आक्रामक शब्द प्रयोग गर्दैै हिड्न थाले । हुँदा हुँदै मधेशी मोर्चा र एमाले आमने सामुने नै भयो । यसबीचमा एमालेले दुई पटक तराई मधेश अभियान चलायो । पहिलो अभियानमा ओली आफैं मधेश जान सकेनन् तर दोस्रो चरणको अभियानमा उनी आफै मधेश गए भने फागुन २३ गते सप्तरीमा जनसभालाई सम्बोधन गर्दा गर्दै मधेशी मोर्चा र प्रहरीबीच झडप भएको थियो । जुन झडपमा ५ मधेसी मोर्चाका कार्यकर्ता मारिए।

मधेशी मोर्चाले यो घटनाको मुख्य दोषी एमालेलाई नै देखाएको छ । र, ओली विरुद्ध नारा लागिरहेको छ ।
समस्याको समाधान आपसी बेमेलले पक्कै गर्ने छैन तर सम्बन्ध सुधारको बाटो ठप्पै रहेको अवस्थामा अब एमाले र मधेसी मोर्चाबीचको सम्बन्धमा चामत्कारिक सुधार आउँछ या उस्तै रहन्छ त्यो भने भविष्यले नै बताउला । #रातोपाटीको रिर्पोटमा उल्लेख छ ।

प्रकाशित मिति: Mar 12, 2017

प्रतिक्रिया दिनुहोस्