Logo
८ बैशाख २०८१, शनिबार
(February 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘हाई प्रोफाइल’भारतीय अभियुक्त नेपाल हुँदै भाग्ने आशंका

भारतको केन्द्रीय अन्वेषण ब्युरो (सिबिआई) को निगरानीमा रहेका हतियार कारोबारी सञ्जय भण्डारी।

काठमाडौं, १२ फागुन   । भारतीय रक्षा मन्त्रालयका गोप्य दस्ताबेज चोरेको आरोपमा निगरानीमा रहेका अभियुक्त सञ्जय भण्डारी नेपाल भएर भाग्नसक्ने आशंकामा त्यहाँको केन्द्रीय अन्वेषण ब्युरो (सिबिआई) ले नेपाली पक्षलाई औपचारिक आग्रह गर्ने तयारी गरेको छ। सिबिआईले भारतीय परराष्ट्र मन्त्रालयमार्फत नेपालको गृह मन्त्रालयलाई औपचारिक पत्र पठाएर ती व्यक्तिलाई नेपालबाट उम्कन नदिन आग्रह गर्ने तयारी थालेको हो।

सिबिआईको अनुसन्धानमा भण्डारीको निकटता नेपालका दलका नेता र व्यापारीसँग देखिएपछि उनी नेपालमा हुन सक्ने आशंका बढेको हो। यस्तै भण्डारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर बेलायत जान सक्ने आशंकामा भारतले नेपाली पक्षसँग भण्डारीलाई पक्रन सहयोग माग्ने भएको हो।

भारतीय पक्षले यसअघिसम्म नेपालमा आफ्ना मान्छे पक्रन अनौपचारिक च्यानल प्रयोग गर्ने गर्दै आएको थियो। नेपालमा आफ्नै गुप्तचर एजेन्सी सक्रिय बनाउने र नेपाल प्रहरीको सहयोगमा पक्राउ गरी गोप्य रूपमा लैजाने आपसी समझदारी थियो।

सन् २००४ मा रिसर्च एन्ड एनालाइसिस विङ (र) का एक वरिष्ठ अधिकारी नेपाल भएर अमेरिका भागेपछि भारतीय पक्षले खोजीमा रहेका अभियुक्तविरुद्ध नेपालसँग सहयोग माग्न थालेको हो। ‘र’ का सहसचिव रणवीर सिंह गोप्य दस्ताबेजसहित नेपाली विमानस्थलबाट अमेरिका उडेका थिए। भारतीय पक्षले नेपालबाट भाग्न सक्ने सम्भावनालाई बेवास्ता गर्दा घटना भएको भन्दै आलोचना भएपछि ‘हाई प्रोफाइल’ र अन्तर्राष्ट्रिय आतंकवादीका विषयमा भारतीय पक्षले अति गोप्य औपचारिक आग्रह गर्न थालेको हो।

नेपाली पक्षले भने भण्डारीका विषयमा भारतीय दूतावासमार्फत उच्च तहलाई धेरै अघि जानकारी गराए पनि पछिल्लो समय कुनै पत्र आएको छैन। गृह मन्त्रालय उच्च स्रोतका अनुसार भण्डारीका विषयमा भारतीय पक्षले काठमाडौंस्थित दूतावासमार्फत जानकारी गराएको थियो।

‘आजसम्म औपचारिक पत्र पाएका छैनौं, तर सम्बन्धित व्यक्तिका विषयमा नेपाली सुरक्षा निकायका केही अधिकारीलाई जानकारी छ र काम पनि भइरहेको हो,’ गृह मन्त्रालयका एक उच्च अधिकारीले भने।

सिबिआईले गोप्य दस्ताबेजविरुद्ध अपराधमा कारबाही थालेका भण्डारी त्यसयता फरार छन्। भारतीय संसद्मा भण्डारीका विषयमा सत्तापक्ष र विपक्षबीच विवाद हुँदै आएको छ। रक्षा मन्त्रालय, र, नेसनल इन्भेस्टिगेसन ब्युरो र इन्टिलिजेन्स ब्युरोको अनुसन्धान घेरामा रहेका भण्डारीविरुद्ध दिल्ली प्रहरीको स्पेसल सेलले जाहेरी लिएर कारबाही गरिरहेको छ।

भारतले फरार रहेका रक्षा सामग्रीका ठूला कारोबारी भण्डारी नेपाल भएर बेलायत भाग्न सक्ने भन्दै नेपाललाई औपचारिक पत्र पठाउने भएको हो। भारतमा अर्बौं रपैयाँको घोटाला, कालो धन आर्जन र रक्षासम्बन्धी गोप्य दस्ताबेज चोरेको आरोप लागेका उनको खोजीमा जुटेको सिबिआई टोली नेपालमा समेत सक्रिय छ।

भारतीय सञ्चारमाध्यममा प्रेषित समाचारअनुसार भण्डारी रक्षासम्बन्धी उड्डयन सामग्री, सानाठूला हतियार र प्रतिरक्षा तथा आन्तरिक सुरक्षा सामग्रीका ठूला कारोबारी हुन्।

कांग्रेस आई अध्यक्ष सोनिया गान्धीका ज्वाइँ रोबर्ट वाड्रासँग निकट रहेका भण्डारीले आफ्नो अफसेट इन्डिया सोलुसनमार्फत भारतीय रक्षा मन्त्रालय, गृह मन्त्रालय र खुफिया एजेन्सीका लागि हतियार, लडाकु विमान र आन्तरिक सुरक्षा र गुप्तचरसम्बन्धी सामग्री बेच्दै आएका थिए। भारतीय रक्षा मन्त्रालयसँग भएको एउटा कारोबारमा एक सय १६ करोड भारतीय रुपैयाँ बराबर घोटालामा मुछिएपछि सिबिआईले अनुसन्धान अघि बढाएको थियो।

भण्डारीका कम्पनी बेलायत, संयुक्त अरब इमिरेट्स र पनामामा छन्। गान्धी परिवारका ज्वाइँसहित भारतीय विशिष्ट व्यक्तिसँग निकट सम्बन्ध रहेका भण्डारीको कम्पनीले २०१४ सम्म भारत सरकारलाई रक्षा र राष्ट्रिय सुरक्षा सामग्री बेच्दै आएको थियो । नागरिकमा समाचार छ ।

प्रकाशित मिति: Feb 23, 2017

प्रतिक्रिया दिनुहोस्