Logo
१३ बैशाख २०८१, बिहीबार
(February 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा अमेरिकी कम्पनीको ‘अवैध’ आइपीओ: धितोपत्र बोर्ड भने चुपचाप

काठमाडौं । अमेरिकी सेनाबाट अवकाश पाएका एक गैर–आवासीय नेपालीले सञ्चालन गरिरहेको सामाजिक सञ्जाल तथा इ–कमर्श साईट ‘सगुन डटकम’ले २ अर्बभन्दा बढीको सार्वजनिक निष्काशन (आईपीओ) गरेको छ । सो कम्पनीले आईपीओको अधिकांश हिस्सा नेपाल र विदेशमा रहेको गैर–आवासीय नेपालीहरूबाटै उठाउने गरी मिडियाबाजी तथा विज्ञापन गरिरहेको छ । नेपालमै कार्यालय खोलेर अधिकांश नेपाली मिडियामार्फत् नेपाली कम्पनीकै आईपीओ जसरी सगुनको आईपीओको प्रचार–प्रसार भैरहेको छ ।

नेपालबाट विदेशी कम्पनीको सेयरमा लगानी अवैध रहेको भए पनि विदेशी कम्पनीले आईपीओ निकालेको प्रचार गरिरहँदासमेत धितोपत्र बोर्ड भने चुपचाप बसेको छ । यदि सगुनको आईपीओमा नेपालीले लगानी गर्ने हो त्यो रकम कसरी विदेश लगिन्छ ? नेपाली कानुनअनुसार विदेशमा रहेको कम्पनीमा लगानी गर्न पाईंदैन । नेपालबाट लगानीको रुपमा विदेश पु“जी पलायन गर्न नपाइने कानुन भएकाले पनि सगुनको आईपीओमा नेपालीको लगानी गैर–कानुनी र अवैध हुन्छ ।

तर, सगुनको प्रचार सामग्री र मिडियाबाजीमा नेपाली लगानीकर्ताहरूलाई नेपालबाट पूँजी पलायन गर्ने तरिकासमेत सिकाइएको छ । कतिसम्म भने नेपालमा रहेका नागरिकले विदेशमा रहेका आफ्ना आफन्तलाई सगुनको आईपीओमा रकम हालिदिन लगाउने र उनको परिवारलाई यता नेपाली मुद्रामा भुक्तानी दिने प्रपञ्च मिलाइएको छ ।

सोहीबमोजिमको समाचार मूलक आईडिया मिडियामा आइरहेको छ । यो हुण्डीको तरिका हो । नेपालबाट अर्बौं रुपैया हुण्डी स्टाइलले विदेश पु¥याई कम्पनी चलाउने रणनीति सगुनका सञ्चालकहरूले लिएका छन् । सोहीअनुसार उनीहरूले नेपालमा केही पत्रकारहरूलाई तलबी कामदारको रुपमा समेत राखेका छन् ।

अमेरिकामा दर्ता भएको कम्पनीले अमेरिकी कानुनअनुसार निष्काशन गरेको आईपीओमा नेपाली लगानीकर्तालाई तान्नका लागि अनेक प्रचार गरिनु र नेपालको पुपूँजी विदेश लैजाने योजनाले काम भैरहेकोमा
राष्ट्र बैंक र धितोपत्र बोर्डले यसबारे चासो दिएको छैन ।

यस आईपीओले नेपालभित्र पूँजी निर्माण गर्नुको बदला नेपालीहरूकै पैसा धुतेर अमेरिकामा जम्मा गर्ने भएकाले नेपालको अर्थतन्त्रलाई समेत नकारात्मक प्रभाव पार्नेछ । सगुनले नेपालबाट लैजान लागेको रकमले करिब १२ मेगावाटको जलविद्युत् आयोजना बन्नसक्छ ।

विद्यमान कानुनअनुसार विदेशमा निष्काशन हुने सेयरमा नेपालबाट लगानी गर्नु गैर–कानुनी हो । तर, विगत ६ महिनादेखि नै प्रचार गरिएको र अहिले निष्काशन हुने भनिएको सगुनको आईपीओमा नेपालबाट ठूलो पूँजी पलायन हुने सम्भावना छ ।

यसकारण स्वदेशी पूँजी बाहिरिन नदिन सरकारी निकायहरू सचेतहुनुपर्ने आवश्यकता छ ।अमेरिका र अन्य मुलुकमा रहेका गैर–आवासीय नेपालीहरूले सदाशयता देखाउनु र सगुनको मिनी–आईपीओमा सहभागिता जनाउनु बेग्लै कुरा हो ।

तर, नेपालमै प्रचार गरेर अनलाइनबाट दरखास्त दिने र विदेशका आफन्तलाई रकम हालिदिन भन्ने तरिका अपनाएर सगुनले राष्ट्रिय अर्थतन्त्रमा नै प्रभाव पार्न खोजेको छ । भोलि यसैगरी संसारभर रहेका नेपालीहरूले यस्तै कम्पनी खोल्ने र मिडियाबाजी गरेर आईपीओ खुलाएमा सर्वसाधारण नेपाली लगानीकर्ताहरू ठगिन सक्ने सम्भावना पनि हुन्छ ।

नेपालमै रकम बुझ्ने तयारी सगुनको आईपीओको विषयमा नेपालमा पनि लगानीकर्ताहरूबीच भ्रम रहेको छ । नेपाली कम्पनीको आईपीओ खुलेजस्तै धेरै सर्वसाधारणले चासो दिएको पाइएको छ । सगुनले काठमाडौंमा रहेको कार्यालय र विभिन्न केन्द्रहरूबाट समेत सो आईपीओमा लगानी गर्न चाहने नेपालीहरूलाई मध्यस्थता गरिरहेको पाइएको छ ।

उनीहरूले नेपाली मुद्रामा यही रकम बुझेर अवैध माध्यमबाट विदेश रकम पठाई आवेदन मिलाइदिने तयारीसमेत गरिरहेका छन् । नेपालमा आईपीओको लागि भन्दै नेपाली मुद्रा बुझ्ने र अमेरिकामा रहेको नेपालीहरूले पठाउने रेमिट्यान्सलाई त्यही बढी सटही दिएर साट्दै हुण्डी तरिकाले पूँजी पलायन गर्ने योजना छ ।

यसले खुल्लम्–खुल्ला प्रचार–प्रसार गरेर नेपालबाट पूँजी पलायन हुदा पनि नियामक निकायले कुनै चासो दिएको छै । साथै, यस्तो कम्पनीको सेयरमा लगानी गरेर कति फाइदा लिन सकिन्छ र त्यो कति वैध प्रक्रिया हो भन्ने विषयमा लगानीकर्ताहरू सचेत हुनु जरुरी छ ।

करोडौं लैजाने तयारी
कम्पनीको वेबसाइटमा जनाइएअनुसार २ हजार ८ सय २२ जनाभन्दा बढीले सगुनको आईपीओमा ३५ लाख २३ हजार डलरभन्दा बढी लगानी गर्ने इच्छा जाहेर गरिसकेका छन् । यो रकम ५० करोड नाघेको बताइएको छ । यो अधिकांश नेपालीको प्रतिवद्धता हो । नेपालबाट र विदेशमा रहेका नेपालीले यति रकम लगानी गर्ने प्रतिवद्धता फर्म भरिसकेका छन् ।

आईपीओ खुल्नुअघि लगानीकर्तालाई फर्म भर्न लगाएर सगुनले आईपीओको मार्केटिङ गरिरहेको छ । यसरी फर्म भरेकालाई सगुनले आईपीओ खुल्न लागेको इमेलबाट र फोनबाट जानकारी दिने अनि रकम अमेरिका पठाउने प्रपञ्च मिलाउने भएको छ । आईपीओ खुलेपछि अनलाइनबाटै आवेदन गर्न सकिने भएकाले संसारभरबाटै आवेदन गर्न सकिन्छ ।

के हो सगुनको आईपीओ
अढाई वर्षअघि ‘स्टार्ट अप’ कम्पनीको रुपमा अमेरिकाको वासिङ्टन डीसीमा स्थापना भएको ‘सगुन.इन्क’ले, सोसल ईकमर्स सञ्जालको विस्तारका लागि भन्दै आगामी महिना मिनि आईपीओमार्फत् २० मिलियन अमेरिकी डलर अर्थात् दुई अर्ब नेपाली रुपैया“ लगानी जुटाउन लागेको हो ।

यति धेरै रकम नेपालबाट बाहिरियो भने अहिले तरलता संकट झेलिरहेको नेपालको अर्थतन्त्रमा झन् समस्या थपिनेछ । गैरकानुनीरुपमा रकम विदेश लगेको पाइएमा नेपालको कानुनअनुसार सजायको भागीदार बन्नुपर्ने भएकाले लगानीकर्ताहरू सचेत हुनुपर्ने देखिएको छ । नेपालबाट रकम विदेश लैजान नेपाल राष्ट्र बैंकको स्वीकृति अनिवार्य छ ।

सगुनमा अमेरिकावासी गोबिन्द
गिरीसहित नौजना मुख्य सञ्चालक रहेको वेबसाइटमा देखाइएको छ । गिरी अमेरिकी सेनाबाट अवकाशप्राप्त सूचना प्राविधिक हुन् । एलेक्सा रेटिङमा विश्वस्तरमा लाख ४४ हजार ३०७ र नेपालमा ७२० वरियतामा रहेको सगुन कति लोकप्रिय छ भन्ने कुरा यसले नै देखाउ“छ । नेपालीहरूका लागि नै भनेर निर्माण गरिएको सामाजिक सञ्जाल भए पनि नेपालीहरूले यो साइट खासै चलाउ“दैनन् ।

फेसबुकजस्तै कपी साईट संसारभर लाखौं छन्, कुनैले फेसबुकलाई च्यालेञ्ज दिन सकेको छैन । सगुनले सर्वसाधारणका लागि २१ प्रतिशतले हुन आउने आठ लाख ६९ हजार पा“च सय ६५ कित्ता सेयर निष्काशन गर्न लागेको हो । उसले अमेरिकामा ‘स्टार्ट अप’ कम्पनीका रुपमा दर्ता भई रेगुलेसन ‘ए प्लस’ अन्तर्गत रहेर प्रतिकित्ता २३ अमेरिकी डलरमा उक्त सेयर निष्काशन गर्न लागेको हो । ‘फ्रि प्राईसिंग’ प्रणालीमा आधारित रहेर सगुनले निष्काशन गर्न लागेको उक्त सेयरमा लगानीकर्ताले कम्तीमा १३ कित्ताका लागि दुई सय ९९ डलर लगानी गर्नुपर्ने हुन्छ ।

सगुनको आठ लाख ६९ हजार पाँच सय ६५ कित्ता सेयर नसकिने समयसम्ममा जसले आवेदन दिन्छ उसलेमात्र सेयर पाउने छ भने सेयरको संख्या सकिएपछि स्वतः आवेदन बन्द हुनेछ । पहिले आवेदन गर्नेले पहिले सेयर पाउनेखालको निष्काशन नियम लागू हुनेछ । जसले गर्दा कति समयसम्मका लागि सेयर निष्काशन हुन्छ भन्ने नभई कसले छिटो आवेदन गर्छ र सबै सेयर बिक्री हुन्छ भन्ने मुख्य कुरा हो ।

यसअघि प्राइभेट
प्लेसमेन्टमेन्ट अफरिंगबाट लगानी जुटाउने क्रममा लगानीकर्ताका लागि तोकिएको मापदण्ड अहिलेको मिनी–आईपीओमा लागू नहुने सगुनले प्रस्ट पारेको छ । अमेरिकी सेक्युरिटीज एक्सचेञ्जको नयाँ नियमअनुसार सानो कम्पनीहरूले बढीमा ५० मिलियन डलर विभिन्न किसिमका लगानीकर्ताहरूबाट १२ महिनाको अवधिभित्र सेयर जारी गरेर उठाउन सक्ने प्रावधान रहेको छ ।

अमेरिकी ‘जब्स एक्ट २०१२’ को यो प्रावधानअनुसार मिनी–आईपीओ निष्काशन गर्न लागिएको हो । मिनी–आईपीओबाट उठेको रकम सगुनका विभिन्न चालू तथा आगामी परियोजनाहरूमा लगानी गरिने सगुनले जनाएको छ । अमेरिका, भारत र नेपालमा सगुनको आवश्यक जनशक्ति उत्पादन, सगुनको प्रयोगशाला स्थापना, प्रविधि विकास तथा सुदृढीकरण, अनुसन्धान, बजारीकरण, ब्रान्डिङ र अन्य कामका लागि सो रकम खर्च हुने सगुनले आव्हान–पत्रमा जनाएको छ ।

स्टार्ट अप कम्पनीको रुपमा सुरु
भएको सगुनको त्यस बेला ब्राण्ड भ्यालु दुई मिलियन अमेरिकी डलर हुँदा प्रतिकित्ता सेयरको मूल्यांकन ५० सेन्टमात्र रहेको थियो । त्यसको एक वर्षपछि नेपालमा दोस्रो संस्करण सार्वजनिक गर्नु पहिले १५ मिलियन डलरको ब्राण्ड भ्यालु तथा प्रतिकित्ता सेयर मूल्यांकन तीन डलर ७५ सेन्ट रहेको थियो । अहिले मिनी–आईपीओ आउनु पहिलेको भ्यालुएसनमा सगुनको ब्राण्ड भ्यालु ८९ मिलियन डलर तथा प्रतिकित्ता सेयर मूल्यांकन २३ डलर पुगेको छ ।

सोही भ्यालुएसका आधारमा सगुनले मिनी–आईपीओ ल्याउन लागेको हो । कम्पनीले सेयर निष्काशनका लागि अमेरिकी सेक्यूरिटी तथा एक्सचेञ्ज कमिशनमा आवेदन दिइसकेको छ । उक्त आवेदन स्वीकृत भएमा सगुनले ८ लाख ६९ हजार ५ सय ६४ कित्ता सेयर बेच्ने बताएको छ । सगुनको आईपीओमा लगानीकर्ताले न्यूनतम १३ कित्ता सेयर खरिद गर्नुपर्ने हुन्छ जसको कूल मूल्य २ सय ९९ डलर रहेको छ, सोभन्दा बढी खरिद गर्न चाहनेले आफूले चाहेजति सेयर खरिद गर्न सक्ने बनाइएको छ । सेयर बजार साप्ताहिकमा खबर छ।

प्रकाशित मिति: Feb 12, 2017

प्रतिक्रिया दिनुहोस्