Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीन चरणमा स्थानीय तहकै निर्वाचन गर्ने आयोगको तयारी

काठमाडौं, माघ २३ । निर्वाचन आयोगले स्थानीय तहकै निर्वाचन तीन चरणमा गर्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रमुख आयुक्तले गरेको भेटमा पनि तीन चरणमा स्थानीय तहको निर्वाचन गर्न सकिने बारेमा छलफल भएको स्रोतले जानकारी दियो । प्रदेश–प्रदेशमा गरेर तीन चरणमा स्थानीय तहको निर्वाचन गर्ने तयारी भएको आयोग स्रोतले जानकारी दियो ।

निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधि प्रसाद यादवले पनि यसबारेमा कुराकानी भइरहेको बताए । तर अहिले नै कति चरण भन्ने टुंगो नलागेको उनको भनाई थियो । उनले स्थानीय तहकै निर्वाचनका लागि तयारी थालिएको बताउँदै दुईदेखि तीन चरणमा निर्वाचन गर्न सकिने बताए ।

निर्वाचन आयोगले प्रमुख राजनीतिक दलका नेताहरुसँग पनि छलफल गर्ने भएको छ । प्रधानमन्त्री दाहालसँगको भेटपछि आयोगले यस्तो तयारी गरेको हो ।  प्रधानमन्त्री दाहालले पनि शनिबार बेलुका नेपाल टेलिभिजनबाट प्रसारित ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ मा पनि आफूले आयोगले राजनीतिक दलका नेताहरुसँग निर्वाचनको प्राविधिक पक्षका विषयमा छलफल गर्न भनेको बताएका थिए ।

“राजनीतिक समझदारी बनाएर आउने माघ ७ सम्म होइन, मंसिरभित्रै प्रादेशिक र संघीय निर्वाचन सम्भव छ,” प्रधानमन्त्रीको भनाई थियो,“यसमा हाम्रो राजनीतिक समझदारी र प्रतिवद्धताको खाँचो छ । माघ २५ गते निर्वाचन आयोगलाई दलीय प्रतिनिधि बोलाएर निर्वाचनको प्राविधिक विषयबारे छलफल गर्न भनेको छु ।”

प्रधानमन्त्री दाहालले कार्यक्रममार्फत निर्वाचनबारे भ्रम नपाल्न पनि आग्रह गरेका थिए । “निर्वाचनबारे भ्रम पाल्नुपर्ने कुनै जरुरी छैन । सरकार पहिला स्थानीय र त्यसपछि प्रदेश र केन्द्रको निर्वाचन गर्न गम्भीर छ,” दाहालको भनाई थियो,“यो बीचमा निर्वाचन सम्बन्धि कानुनहरु बनिसकेका छन् ।

सरकार गम्भीर नभएको भए यी सबै कानुन पारित हुन सम्भव थिएन । सरकार आउँदो माघ ७ भित्रै सबै निर्वाचन गर्न प्रतिवद्ध छ । निर्वाचन आयोगलाई निर्वाचनको तयारी गर्न स्पष्ट निर्देशन दिइएको छ । स्थानीय तह पूनर्संरचना आयोगको प्रतिवेदनबारे संविधानविद र कानूनविदसँग राय लिएको छु । मधेशमा प्रतिवेदनबारे आवश्यक परामर्श भएको छैन, मधेशी मोर्चा पनि सन्तुष्ट छैनन् ।

त्यसैले स्थानीय विकास मन्त्रीको नेतृत्वमा कार्यदल बनाइएको छ । त्यसलाई १५ दिनको समय दिइएको छ, त्यसले अन्तिम प्रतिवेदन दिनपछि स्थानीय निर्वाचनको ठोस मिति तोकिन्छ । कुरा एकदमै प्रष्ट छ, यसमा भ्रम पाल्न जरुरी छैन । प्रतिपक्षी दलले पनि यसलाई भ्रामक प्रचार गर्नुहुँदैन ।” ब्राहखरीमा समाचार छ ।

प्रकाशित मिति: Feb 5, 2017

प्रतिक्रिया दिनुहोस्