Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गर्भवती भएको ७ महिनामै  जुम्ल्याहा, बच्चा स्वस्थ्य

विराटनगर, १३ पुष । गर्भवती भएको ७ महिनामै ‘जटिलता’ देखिएपछि आमालाई सुरक्षित राख्न गरिएको शल्यक्रियापछि जन्मिएको जुम्ल्याहा बच्चाको अवस्था पनि स्वस्थ्य छ । गर्भवती भएको २६ हप्ता ५ दिनमै दास उपचारकालागि विराटनगरको गोल्डेन अस्पताल आइपुगिन्। गर्भमा पानी निकै जमेकाले दासलाई सास फेर्न पनि समस्या भएपछि उनी उपचारका लागि यहाँ आइपुगेकी हुन्।

गर्भमा अत्याधिक पानी जमेकाले गर्भवती महिलाको स्वास्थ्य स्थिति बिग्रन थालेपछि शल्यक्रिया गर्दा कम तौलको बच्चा जन्मिएको थियो। भारत, विहार राज्यको सुपौल फुलकाहा बस्ने २४ वर्षीया अनितादेवी दासको गर्भमा जटिलता देखिएपछि विराटनगरस्थित गोल्डेन हस्पिटलमा डाक्टर केएम गुड्डीले शल्यक्रिया गरेकी थिइन् ।

दासको गर्भमा रहेका जुम्ल्याहा बच्चामध्ये एउटा बसेको ठाउँमा अत्याधिक पानी जमेको थियो। अर्को बच्चा बसेको ठाउँमा भने पानी नै थिएन। ‘निकै नै जटिल समस्या थियो,’ स्त्रीरोग विशेषज्ञ डा. गुड्डीले भनिन, ‘पानी अत्याधिक जमेकाले भिडियो एक्सरे गर्दा पनि बच्चाको अवस्था थाह भएन।’  ‘गर्भमा निकै पानी जमेकाले तत्कालै शल्यक्रिया गर्न समस्या देखियो,’ डा. गुड्डीले भनिन, ‘पानी कम गर्ने औषधिी दिए, त्यसको केही दिनपछि गर्भबाट डेढ लिटर पानी भिकियो ।’ उनका अनुसार गर्भबाट पानी भिकिएपछि दासलाई अलि सञ्चो भएको थियो । १० दिनपछि फेरी अस्पताल आइपुग्दा दासको गर्भमा फेरी अत्याधिक पानी देखियो।

‘दासको स्वास्थ्य समस्या निकै जटिल हुन थाल्यो, हामीले राम्रो ठाउँमा लगेर उपचार गराउनु भन्यौ,’ गोल्डेन अस्पतालका निर्देशक सनातन मण्डलले भने, ‘बिरामीको परिवारले जे गर्नुछ, यही गर्नुस भनेपछि डाक्टरको टिमले ठूलो जोखिम मोलेर दासको शल्यक्रिया गर्यो ।’ शल्यक्रियापछि दासको अवस्था समान्य भयो। तर, डाक्टरकालागि अर्को आपद् आइलाग्यो।

शल्यक्रिया गरेर जन्मिएको जुम्ल्याहा बच्चा मध्ये एउटाको तौल सारै कम थियो । ७ सय ५० ग्राम तौल भएको एउटा बच्चा झण्डै मुसाकै जत्रो थियो । बच्चा जन्मिदा समान्य २ किलो ५० ग्रामको हुनुपर्छ । एक किलोसम्म तौल भएको बच्चाको हुर्किने सम्भावना बढी हुन्छ । त्यस भन्दा मुनिको तौल भएको बच्चा हजारौंमा एकजना बाँच्छ । जुम्ल्याहामध्ये अर्को बच्चाको तौल १ हजार ५० ग्राम थियो । तर, उनको स्वास्थ्यमा पनि समस्या थियो ।

गोल्डेन अस्पतालकै डाक्टर मनोज श्रीवास्तवले आइसियूमा राखेर दुबै बच्चाको उपचार गर्न थाले । ‘७ सय ५० ग्राम तौल भएको बच्चा जन्मिदा रुँदै रोएन,’ बच्चाका डाक्टर श्रीवास्तवले भने, ‘त्यो बाच्ला भने लागेकै थिएन, त्यसैले १ हजार ५० तौल भएको बच्चालाई बचाउन बढी ध्यान दिए ।’ उनका अनुसार ७ सय ५० ग्राम तौल भएको बच्चालाई सुम्सुम्याउँदा रुन थालेपछि उनको उपचारलाई पनि प्राथमिकतामा राखियो ।

३० दिन लामो सघन उपचारपछि ७ सय ५० तौल भएका बच्चाको तौल अहिले १ हजार ५० ग्राम र १ हजार ५० ग्राम तौल भएका बच्चाको तौल १ हजार २ सय ग्राम पुगेको छ । ‘दुबै बच्चाको हुर्किने बृद्धि आश्चर्यजनकरुपमा बढेको छ,’ डा. श्रीवास्तवले भने, ‘बिरामीका परिवार पनि सहयोगी भूमिका निर्वाह गरेकाले बच्चा र आमा दुबैलाई जोगाउन सकियो ।’ सफल उपचारपछि आमा र जुम्ल्याहा बच्चा बुधबार घर फर्किएका छन् । नागरिकमा समाचार छ ।

प्रकाशित मिति: Dec 28, 2016

प्रतिक्रिया दिनुहोस्