Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब राहदानीको आवेदन ’मोबाइल एप’ बाटै पठाउन मिल्ने

काठमाडौँ, १२ पुस । राहदानी विभागले राहदानीको आवेदन ’मोबाइल एप’ बाटै पठाउन मिल्ने व्यवस्थाको तयारी गरेको छ। यसको औपचारिक आरम्भ अर्को साता गरिने विभागका अधिकारीले जानकारी दिए। यसअघि नै वेबसाइटमार्फत आवेदन दिने र लाइभ इनरोलमेन्टको व्यवस्था मिलाएको विभागले एपबाट थप सहजता ल्याउने प्रयास गरेको हो।

’वेबसाइटको मोबाइल भर्सन तयार गरेका हौं, यसको एप पनि तयार भइरहेको छ,’ परराष्ट्र अधिकारीले भने। आफ्नो विवरण सबै भरेर पठाएलगत्तै दिएको समय र बारकोड भएको पृष्ठ सुरक्षित गरी तोकेको समयमा राहदानी विभाग गएर लाइभ इनरोलमेन्ट ९प्रत्यक्ष फोटो खिच्ने, हस्ताक्षर गर्ने, औंठा छाप दिने० गर्नुपर्ने हुन्छ। यसले भीड व्यवस्थापन गर्नुका साथै समयसमेत बचत हुनेछ । ’हामी कसरी चुस्त सेवा दिने भन्नेमै काम गरिरहेका छौं ।

प्रविधिलाई प्रयोग गरेर काम थप सहज बनाउन खोजेका हौं,’ राहदानी विभागका महानिर्देशक सुशील लम्सालले कान्तिपुरसँग भने। पहिलेको दाँजोमा अहिले निकै कम भीड भए पनि अझै दैनिक करिब एक हजारले राहदानी विभागमा नै पुगेर राहदानीको आवेदन दिइरहेका छन्। अन्य जिल्ला तथा विदेशस्थित कूटनीतिक नियोगबाट पनि थप दुई हजार आउने गरेकाले दैनिक तीन हजारभन्दा बढी राहदानी विभागले वितरण गरिरहेको छ।

राहदानी विभागले नागरिकता प्रमाणीकरण, जिल्लाबाट पठाइने सिफारिसजस्तामा प्रविधि प्रयोग गरी फास्ट ट्रयाक सेवा दिइरहेको छ। राहदानी विभागले गत सात महिनादेखि लाइभ इनरोलमेन्टको काम विभाग र १० नियोगबाट गरिरहेको छ।

अबको केही समयमा सबै लाइभ इनरोलबाट जाने गरी प्रविधि विकास गरिरहेको भन्दै लम्सालले जानकारी दिए। ’हामी अब विस्तारै इ-पासपोर्टमा जानुपर्ने हुन्छ। त्यसको तयारीका लागि अभ्यस्त हुँदै जानुपर्छ।’ विश्वका अधिकांश विमानस्थलमा इपासपोर्टका लागि छुट्टै गेट रहने, अन्य झन्झट नहुने सहजताका साथ आवागमन हुने हुनाले पनि त्यसमा जाने निर्णय सरकारले यसअघि नै गरेको हो।

एपमा गएपछि आफ्नो पासपोर्ट बन्दाको अवस्थादेखि भएको त्रुटिसमेत मोबाइलमै हेर्न सकिने छ। विभागले १५ हजार राजस्व लिएर एक दिनमा, १२ हजार राजस्व लिएर २ दिन र १० हजार राजस्व लिएर ३ दिनमा राहदानी उपलब्ध गराउँदै आएको कान्तिपुर दैनिकमा खबर छ।

प्रकाशित मिति: Dec 27, 2016

प्रतिक्रिया दिनुहोस्