Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतिय राजदूत  रेको कसरतपछि प्रधानमन्त्री ढुक्क !

pm-prachand-jpg-1काठमाडौं, मंसिर १९ ।  आफ्नो माग सम्बोधन नभएको भन्दै मधेसी मोर्चाले संशोधन प्रस्तावप्रति असहमति जनाइरहेका बेला भारतीय राजदूत रन्जित रेले उनीहरू लचकता देखाउन तयार भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई शनिबार आश्वस्त गरेका छन् । शनिबार बिहान ब्रेकफास्टमा मोर्चाका पाँच शीर्ष नेतालाई बोलाई उनीहरूको भावी रणनीतिबारे छलफल गरेका राजदूत रेले अपराह्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी मधेसीहरूले लचकता देखाएको भन्दै तत्काल उनीहरूसँग वार्ता गर्न आग्रह गरेका थिए ।

रेकै सुझावअनुसार दाहालले शनिबार साँझ मधेसी नेताहरूसँग बैठक गरेपछि मोर्चाको सुरक्षित अवतरण र प्रतिष्ठाका लागि दुवैतर्फबाट संशोधनमा सामान्य परिमार्जन गर्ने सहमति भएको स्रोतले उल्लेख गरेको छ । बिहान दूतावास र बेलुका प्रधानमन्त्री निवासमा भएका छलफलमा सहभागी एक नेताका अनुसार राजदूत रेले संशोधनका पक्षमा एमालेको समर्थनसमेत जुटाइदिने आश्वासन दिएपछि प्रधानमन्त्री थप आश्वस्त भएका छन् । राजदूत रेकै सल्लाहअनुसार प्रधानमन्त्रीले साँझ ६ बजेदेखि एक घन्टासम्म मधेसी मोर्चाका नेताहरू तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराईमधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रप्रसाद यादवसँग भेट गरेका थिए ।

स्रोतका अनुसार मधेसी नेता त्रयले आफूहरू संशोधन प्रस्तावको विपक्षी नरहेको तर मधेस आन्दोलनलाई सुरक्षित अवतरण गर्न सक्ने गरी संसद्मा रहेको प्रस्ताव परिमार्जन गर्न आग्रह गरेका थिए । मधेसी नेताहरू राजदूत रे र दाहालसँग भएको गोप्य वार्ताबारे बैठकमा राखेरमात्र ठोस जबाफ दिने भन्दै बालुवाटारबाट फर्केको जानकारी स्रोतले दियो । प्रधानमन्त्रीसँग भेटबारे जानकारी दिँदै तमसपाका अध्यक्ष यादवले भने, ‘प्रधानमन्त्रीसँगको लामो कुराकानी संशोधन प्रस्ताव परिमार्जन गर्ने विषयमा केन्द्रित रह्यो ।’ यसका लागि मोर्चा र सत्तापक्षले आआफ्नो समूहमा परामर्श गरी पुनः भेट गर्ने सहमति भएको जानकारी यादवले दिए । सरकारले संसद्मा दर्ता गरेको संशोधन प्रस्तावमा पाँच नम्बर प्रदेश छुट्याएको विरोधमा पश्चिम नेपालका कतिपय क्षेत्र चार दिनदेखि अशान्त छ ।

‘सहमति कि आन्दोलन ? ‘
मधेसी मोर्चाका शीर्ष नेताहरूसँग बिहान रेले प्रश्न गरे, ‘संविधान संशोधननमा तपार्इंहरू सहमति वा आन्दोलन कुन डिजाइनमा हुनुहुन्छ ? ‘ भारतीय दूतावास लैनचौरमा पुगेका मधेसी मोर्चाका शीर्ष नेताहरू तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भवाना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराईमधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रप्रसाद यादव, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा र फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवसँग राजदूत रेले सरकारले ल्याएको संशोधन प्रस्तावमा तपार्इंहरूको धारणा के हो भनी प्रश्न गरेका थिए ।

राजदूत रेले ‘तपार्इंहरू असन्तुष्ट हुँदै आन्दोलनमा जाँदै हुनुहुन्छ भन्ने कुरा के हो ? ‘ भनी मधेसी नेताहरूसँग प्रश्न राखेका थिए । एक शीर्ष नेताले राजदूत रेसँग भएको भेटबारे भने, ‘उनले संशोधनका विविध पक्षमा प्रश्न राख्नुको उद्देश्य सत्ता पक्ष (सरकार) बाट आएको गुनासोलाई कूटनीतिक रूपमा बुझ्न खोजेको पायौं ।’ मधेसी नेताले राजदूत रेसँग मधेसमा भएको सातमहिने आन्दोलन र त्यसको निकासका रूपमा आफूहरूले सत्ता पक्षलाई दिएको २६ बुँदे र त्यसको संक्षिप्तीकरण ११ बुँदे मागको भावना र मर्मभन्दा फरक ढंगमा संशोधन प्रस्ताव आएको धारणा राखेका थिए ।

राजदूत रेले पुनः प्रश्न गरे, ‘त्यसो भए संशोधनको विरोधमा आन्दोलनमै जाने हो ? ‘ जबाफमा तत्काल एक नेताले आन्दोलन अहिलेको एजेन्डा नरहेको प्रस्ट पारेको स्रोतले बतायो । आन्दोलनभन्दा सहमति राम्रो हुने धारणा पुनः राजदूत रेले घुमाउरो भाषामा राखेको एक नेताले जानकारी दिए ।

रेसँगको बैठकमा तमलोपाका अध्यक्ष ठाकुरले संशोधन स्वीकार्य पनि नहुने र आफूहरूले त्यसलाई सहज रूपमा स्वीकार्न पनि नसक्ने परिवेश रहेको बताएका थिए । ठाकुरलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘आजभन्दा १४ महिनाअघि असोज ३ मा जारी संविधानभन्दा अहिलेको संशोधन २—४ प्रतिशत भए पनि सकारात्मक छ । तर हामीलाई मधेस र मधेसी जनताचबीच जाने आधारको ‘मटेरियल’ का रूपमा संशोधन भएन ।’

सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले ठाकुरको समर्थन गर्दै संशोधनमा परिमार्जन आवश्यक रहेकोमा जोड दिएका थिए । राजदूतले बैठकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव उपस्थित हुन नसक्नाको कारणबारे जिज्ञासा राख्दा तमसपाका अध्यक्ष यादवले उनी कामविशेषले बाहिर गएको जानकारी दिएका थिए । राजदूत रेसँगको भेटबारे नेसपाका अध्यक्ष अनिलकुमार झाले प्राप्त उपलब्धि रक्षा गर्दै थप उपलब्धिका लागि प्रयास गर्नुपर्नेमा आफूले जोड दिएको बताए ।

तमसपाका अध्यक्ष रायले मधेसको विकासका बारेमा कुरा हुँदा विद्यमान परिस्थितिबारे पनि छलफल भएको जानकारी दिए । नेपाल-भारत अनुमगन संयन्त्रका अध्यक्ष एवं परराष्ट्रसचिव शंकरदास बैरागीसँग आफूले वार्ता गर्ने क्रममा तराईको हुलाकी सडक, विद्यालय, पुललगायतको निर्माण कार्ययोजनाबारे परामर्श भएको जानकारी मोर्चाका नेताहरूलाई राजदूत रेले दिएका थिए । मोर्चाका नेताहरूले राजदूत रे विवाह पञ्चमीको दिन आइतबार जनकपुर जाने भएकाले रामसर्किट धनुषा, जनकपुर र अयोध्या जोड्ने प्रस्तावित सडकका विषयमा थप प्रतिबद्धता व्यक्त गर्न आग्रह गरेका थिए ।

राष्ट्रपतिले बोलाइन् सर्वदलीय बैठक

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने ३० दलका शीर्ष नेताहरूको सर्वदलीय बैठक आइतबार बोलाएकी छन् । सरकारले संसद्मा दर्ता गरेको विधेयकपछि भएको संसद् अवरुद्धलगायतका विषयमा नेताहरूसँग परामर्श गर्न राष्ट्रपति भण्डारीले बैठक आह्वान गरेको शीतलनिवास स्रोतले जानकारी दिएको छ । संविधान संशोधन र कार्यान्वयन तथा निर्वाचनका विषयमा राष्ट्रपति भण्डारीले प्रमुख तीन दलका शीर्ष नेताहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग गत सोमबार साँझ करिब दुई घन्टा परामर्श गरेकी थिइन् । आजको अन्नपुर्णमा समाचार छ ।

प्रकाशित मिति: Dec 4, 2016

प्रतिक्रिया दिनुहोस्