Logo
८ बैशाख २०८१, शनिबार
(July 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चैतमा स्थानीय चुनाव गराउने कांग्रेस–माओवादी बिच नयाँ  समझदारी

prachanda-sher-bahadur-deuba

काठमाडौं । नयाँ सक्ता गठबन्धनको रुपमा स्थापित भइरहेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बिच चैत मसान्तभित्र स्थानीय निकायको निर्वाचन गराउने समझदारी भएको छ । कांग्रेस र माओवादी गठबन्धनबीच स्थानीय निकायको निर्वाचन माओवादी अध्यक्ष दाहालको नेतृत्वमा र प्रदेश तथा संघीय संसदको निर्वाचन कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गर्ने गरी सरकार बनाउने समझदारी यसअघि नै भइसकेको थियो ।

सिंहदरबारमा बुधबार बसेको यी दुई दलको बैठकले सरकार गठनलगत्तै एमाले र मधेस केन्द्रित दलहरूसँग छलफल गरेर निर्वाचन मिति तय गर्ने निर्णय गरेको हो । दुई दलबीच सातबुँदेसँगै भएको तर सार्वजनिक नगरिएको पाँचबुँदे लिखित समझदारीमा चैत मसान्तभित्र स्थानीय निकायको निर्वाचन सम्पन्न गरी कांग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गर्ने विषय समेटिएका छन् । स्थानीय निकायको पुनुर्संरचना गर्न गठित आयोगलाई फागुन मसान्तसम्ममा रिपोर्ट बुझाउने समय दिइएको छ । कांग्रेस नेता निधिले आयोगलाई ‘छिटोभन्दा छिटो’ प्रतिवेदन बुझाउन आग्रह गरिने पनि बताए ।

कांग्रेस नेता विमलेन्द्र निधिले लिखित रूपमै त्यस्तो सहमति भएको पुष्टि गर्दै त्यो अहिल्यै सार्वजनिक नगर्ने तय समेत भएको बताए । त्यही सहमतिअनुसार स्थानीय निकायको निर्वाचन चैत मसान्तभित्रै गर्ने समझदारी दुई दलबीच भएको हो । केपी ओली नेतृत्वको सरकारले केही समयअघि मंसिरमा स्थानीय निकायको निर्वाचन सम्पन्न गर्ने गरी तीन वटै निर्वाचनका कार्यतालिका सार्वजनिक गरेको थियो । स्थानीय निकायको पुनर्संरचना गरेर मंसिरमै निर्वाचन गर्न असम्भव देखिएको जनाउँदै कांग्रेस र माओवादीले चैतमा निर्वाचन उपयुक्त हुने बताउँदै आएका थिए ।

स्थानीय निकायको पुनर्संरचना र निर्वाचन तयारीबारे पुनर्संरचना आयोग र निर्वाचन आयोगसँग छुट्टाछुट्टै छलफल गरिने पनि निधिले बताए । ‘स्थानीय निकायको पुनर्संरचनापछि नै चैतमा निर्वाचन गर्ने समझदारी हामीले गरेका हौं,’ उनले भने । माओवादी नेता नारायणकाजी श्रेष्ठले पनि पुनर्संरचना गरिएको स्थानीय निकायको निर्वाचन चैतमा गर्ने गरी कांग्रेससँग पार्टीले सहमति गरेको बताए ।

स्थानीय निकायको निर्वाचनअघि आन्दोलनरत मधेसी मोर्चासँग पनि समझदारी गर्ने प्रयास दुई दलको छ । मधेसी, आदिवासी जनजाति र थारूहरूले उठाएका मागलाई दुई भागमा वर्गीकरण गरी सम्बोधन गर्ने तयारी नयाँ गठबन्धन दलहरूको छ । संविधान संशोधनसँग जोडिएका संघीय प्रदेशको सीमांकनलगायतका विषयमा एमालेसहितको सहमति जुटाउने र मन्त्रिपरिषद्ले निर्णय गरेर हुने विषयमा तत्काल समझदारी जुटाएर अघि बढ्ने तयारी कांग्रेस र माओवादीको छ ।

बुधबारको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाका अतिरिक्त वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, निधि, शेखर कोइराला र रामशरण महत सहभागी थिए । माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र मातृका यादवलगायत सहभागी थिए ।

प्रकाशित मिति: Jul 27, 2016

प्रतिक्रिया दिनुहोस्