Logo
१३ बैशाख २०८१, बिहीबार
(July 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृहकार्य तीव्र: अबको १२ दिनमा नयाँ प्रधानमन्त्री

New PM Newsकाठमाडौँ, १०  साउन  । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि प्रमुख दलहरुले नयाँ सरकार गठनको गृहकार्यलाई तीव्रता दिएसँगै मुलुकले डेढ हप्ताभित्रै नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत भई नयाँ सरकार गठनका लागि बाधा अड्काउ फुकाउ आदेशसमेत जारी भइसकेको छ ।
नेपालको संविधानअनुसार राष्ट्रपतिबाट प्रारम्भमा सहमतिका आधारमा सरकार गठन गर्न सातदिनको समयसीमा तोकेर आह्वान हुनेछ ।तर संविधान, संसदीय अभ्यास र परम्पराअनुरुप सहमतिको सरकार गठन गर्न राष्ट्रपतिबाट प्रदान गरिने सात दिनको अवधिभित्र सहमतिको सरकार गठन गर्ने सम्भावना भने न्यून देखिएको छ ।

प्रधानमन्त्रीविरुद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तले व्यवस्थापिका–संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरेकाले दलहरुबीच तत्काल सहमतिको सरकार बन्ने सम्भावना न्यून देखिएको हो । साथै संसद्को सबैभन्दा ठूलो दल काँग्रेस बहुदलीय व्यवस्थामा बलियो प्रतिपक्ष हुनुपर्छ भन्ने मान्यतामा उभिएकाले पनि त्यो सम्भावना नरहेको पुष्टि हुन्छ ।

संसद्को पहिलो ठूलो दल नेपाली काँग्रेस र तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रबीच नयाँ सरकार गठनका लागि सात बुँदे सहमति हुनुले पनि दोस्रो ठूलो दल नेकपा एमाले प्रतिपक्षमा रहने पक्कापक्की जस्तै भएको छ । संविधानको भाग ३३ अन्तर्गत सङ्क्रमणकालीन व्यवस्थाको धारा २९८ मा राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने प्रावधान छ ।

सहमतिका आधारमा सातदिनभित्र प्रधानमन्त्रीको चयन हुन नसकेमा राष्ट्रपतिबाट बहुमतीय आधारमा सरकार गठनसम्बन्धी संविधानको धारा उल्लेख गरेर प्रधानमन्त्री चयन गर्न संसद्लाई पत्राचार हुने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । सहमतीय प्रक्रियामा सात दिन, बहुमतीय प्रक्रियाको तीन दिन र यी प्रक्रियाका बीचमा दलहरुबीच छलफल गर्न दुई दिन गरी नयाँ प्रधानमन्त्री निर्वाचन हुन लगभग १२ दिन लाग्ने डेमोक्र्याटिक लयर्स एसोसिएसन डिएलएका पूर्व अध्यक्ष गोपालकृष्ण घिमिरेले बताए ।

नयाँ सरकार गठनमा संवैधानिक सहजताका लागि आजै राष्ट्रपति भण्डारीबाट बाधा अड्काउ फुकाउ आदेश जारी भइसकेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकको सिफारिसमा नेपालको संविधानको धारा ३०५ बमोजिम बाधा अड्काउ फुकाउने आदेश जारी गरेका हुन् । काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले सम्भवतः छिट्टै राष्ट्रपतिले सातदिनभित्र सहमतीय सरकार गठनका लागि दलहरुलाई आह्वान गर्ने बताए ।

संसद् नियमावली, २०७३ को धारा ४९ मा प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी व्यवस्था छ । नियमावलीअनुसार सरकार गठनमा सहमति हुन नसके प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी सूचना निकालेर निर्वाचन तालिका प्रकाशन गरिनेछ । बहुमतीय अवस्थामा प्रधानमन्त्रीको निर्वाचन संसद्मा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट हुन्छ ।

समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले राष्ट्रिय सहमतिको सरकार गठन हुने सम्भावना ज्यादै न्यून रहेका हुँदा सहमतिको सात दिन प्रक्रियामा मात्र सीमित हुने बताए । आठौँ दिनदेखि बहुमतीय प्रक्रियाका आधारमा प्रधानमन्त्री चयन हुने काम सुरु हुने भएकाले मुलुकले डेढ हप्ताभित्रै नयाँ प्रधानमन्त्री पाउने उनको धारणा छ । #नारायण न्यौपाने/भीष्मराज ओझाद्धारा लिखि राससबाट साभार

प्रकाशित मिति: Jul 25, 2016

प्रतिक्रिया दिनुहोस्