Logo
१५ बैशाख २०८१, शनिबार
(June 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तपाइ पनि चिन्ने की, अधिकार माग्ने अन्नपूर्ण हिमाललाई !


पाेखरा । पहिलो पटक आरोहण भएको जेठो हिमाल अन्नपूर्णलाई किन हामीले गौरवका साथ प्रवद्र्धन र प्रचार गर्न सकेका छैनौं ? आज अन्नपूर्ण प्रथमले पनि आफू जेठो हिमाल भएको अधिकार खोज्दै छ ।आरोहण भएको सबैभन्दा जेठो हिमाल हो, अन्नपूर्ण प्रथम । सन् १९५० जुन ३ मा सर्वप्रथम फ्रान्सका मोरिस हर्जगले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका थिए । फ्रान्सेली टोलीद्वारा आरोहण गरिएको अन्नपूर्ण प्रथमको उचाई ८,०९१ मिटर छ ।
सन् १९५० मा अन्नपूर्णको सफलतापछि सन् १९५३ मे २९ मा सर्वोच्च शिखर सगरमाथामा स्व. तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सफल आरोहण गरेर विश्व किर्तिमान कायम गरेका थिए ।सगरमाथाभन्दा अन्नपूर्णको उचाई कम भएका कारण अन्नपूर्ण आरोहणको सफलताले त्यति ख्याती प्राप्त गर्न सकेन । तर अन्नपूर्ण हिमालले जेठो हिमालको उपाधि हासिल गरेको छ । अझ नेपालकै पर्यटन विकासमा समेत महत्वपूर्ण योगदान छ ।
सन् १९५० भन्दाअघि पोखरामा आउने विदेशी पर्यटकको संख्या नगन्य नै थियो । सन् १९५० मा मौरिस हर्जगको नेतृत्वको फ्रान्सेली पर्वतारोही टोलीले अन्नपूर्ण प्रथमको सफल आरोहण गरेपछि पोखरा पर्यटकीय स्थलको रुपमा राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरमा चर्चामा आयो ।आज पोखरामा पर्यटन व्यवसाय फस्टाउँदै गएको छ । पर्यटनको धेरै सम्भावना बोकेको पोखरा उपत्यकामा पर्यटनको विकासमा संघसंस्था क्रियाशील छन् । तर पनि नजिकको तीर्थ हेला भने जस्तै हाम्रो जेठो हिमालप्रति पोखरेलीको उदासीनता देखिन्छ ।
राज्य तथा स्थानीय निकाय पर्यटन संघसंस्थाबाट पनि अन्नपूर्ण आरोहण दिवस जुन ३ तारिखलाई वेवास्ता गरिएको छ । केही वर्षदेखि पोखरेली पर्यटन व्यसायीले अन्नपूर्ण दिवस मनाउँदै आएका छन् । नेपालमा प्रत्येक वर्ष मे २९ तारिखका दिन सरकारीस्तरबाट र विभिन्न संघसंस्थाले सगरमाथा दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम गरी मनाइन्छ ।
सगरमाथा दिवस मनाउने क्रममा राजधानी र सोलुखुम्बुका नागरिकले तेन्जिङ नोर्गे शेर्पा र हिलारीको सम्झनामा प्रार्थना सभा गर्छन् । तर सरकारले अन्नपूर्ण प्रथम हिमाललाई वास्ता नै नगर्ने र सौताको व्यवहार देखिन्छ ।अन्नपूर्ण आरोहण दिवस नेपालभरि मनाउने व्यवस्था राज्यले गर्नुपर्छ । सर्वोच्च शिखर सगरमाथा आरोहण महोत्सव केवल राजधानीमा मात्र होइन देशभरि खुसीयाली मनाउने दिनको रुपमा लिनुपर्छ । मे २९ तारिख सगरमाथा आरोहण महोत्सव काठमाडौंमा मात्र केन्द्रित हुने र अन्नपूर्ण आरोहण महोत्सव पोखरामा मात्र सिमित हुने । यसबाट हिमाल पनि भागबण्डामा परेको देखिन्छ ।
आज केही पोखरेली पर्यटन व्यवसायीको तदारुकताले गर्दा अन्नपूर्ण हिमालप्रति चासो बढ्दै गएको छ । विश्वमा ८ हजारभन्दा अग्ला १४ हिमाल छन् । जसमध्ये कास्कीको अन्नपूर्ण प्रथमदेखि सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्छ । नेपालका १ हजार ७ सय ९२ हिमालमध्ये हालसम्म ३ सय २६ हिमाल आरोहणको लागि खुला छन् ।
यस्तै कास्की जिल्लामा अन्नपूर्ण प्रथम (८०९१ मि.), अन्नपूर्ण दोस्रो (७९३७ मि.), अन्नपूर्ण तेस्रो (७५५५ मि.), कुमारी माच्छापुच्छ्रे (६९९३ मि.) छ । आज अन्नपूर्ण प्रथमले पनि आफू जेठो हिमाल भएको अधिकार खोज्दै छ । सम्पूर्ण पर्यटन व्यवसायी, पत्रकार, नागरिक समाजसँग अपेक्षा गर्दैछ । राज्य तथा सरकारले समान दृष्टिअनुसार प्राकृतिक सम्पदामाथि ध्यान पुर्‍याउनुपर्छ ।
जे होस् अन्नपूर्ण आरोहण दिवस बन्द कोठामा र औपचारिकतामा मात्र होइन, विश्वभरि नै सन्देश पुग्ने गरी मनाउन जरुरी छ । हामीले जेठा हिमालको काखमा बसेर किन गर्व गर्न सकिरहेका छैनौं । अब चाहिँ हामीले सोच्नुपर्छ ।सम्पूर्ण कस्केली नागरिक एकजुट भएर अन्नपूर्ण हिमालको संरक्षण तथा पर्यटन विकासको बारेमा दिर्घकानीन नीति निर्माण गराउन राज्यको ध्यानाकर्षण गराउन जरुरी छ ।
तब मात्र समुन्नत राष्ट्र निर्माण र राष्ट्रिय सम्पदाको संरक्षण हुनेछ । समाधान/प्रवीन तुलाचन

प्रकाशित मिति: Jun 3, 2016

प्रतिक्रिया दिनुहोस्