Logo
१७ बैशाख २०८१, सोमबार
(April 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीको पाँच पालिकामा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी

 दुई समुदायबीच विवाद बढेपछि सुनसरीका पाँच पालिकामा  जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको छ । एक युवकलाई कुटपिट गरेको विषयमा दुई समूहबीच झडप भएपछि प्रशासन कार्यालयले पाँच वटा पालिकामा कर्फ्यू आदेश जारी गरेको सुनसरीका कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले बताए ।

उनका अनुसार इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा  अनिश्चितकालका लागि कर्फ्यू  आदेश जारी गरिएको हो ।

साथै स्थानीय प्रशासनले पूर्व पश्चिम राजमार्गमा पनि सतर्कता बढाएको छ ।  राजमार्गमा लामा दूरीका सवारी साधनलाई  निगरानीमा राखेर मात्रै आवतजावत गर्न दिइएको छ । हरिनगर गाउँपालिका-१ भुटाहामा बिहीबार एक युवकमाथि स्थानीयले कुटपिट गरेका थिए । कुटपिट भएको विषयमा आज दुई समूहबीच झडप भएको थियो ।

दुई समूहबीचको  झडपले उग्ररुप लिएपछि अनिश्चितकालका लागि प्रशासनले पाँच पालिकामा कर्फ्यू आदेश जारी गरेको हो ।

भुटाहामा शुक्रबार भएको झडपमा परी चार जना घाइते भएका छन् । जसमा दुई जनालाई गोली लागेको छ । स्थीति नियन्त्रणका लागि प्रहरीले चार दर्जनभन्दा बढी अश्रुग्याँस र हवाई फायर गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले यसअघि झडप स्थल हरिनगर गाउँपालिका र देवानगंज गाउँपालिकाको १ र ७ नम्बर वडामा मात्रै निषेधाज्ञा जारी गरेको थियो । तर विवाद बढेपछि  कर्फ्यू  आदेश जारी गर्दै  सुरक्षा सतर्कता बढाएको छ ।

निषेधित स्थानमा सामाजिक, धार्मिक, राजनीतिक सभा, र्‍याली, भेला जम्मा, प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरू नगर्न र नगराउन प्रशानले जारी गरेको  कर्फ्यू  आदेशमा उल्लेख छ

प्रकाशित मिति: Apr 5, 2024

प्रतिक्रिया दिनुहोस्