Logo
१५ बैशाख २०८१, शनिबार
(February 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेद्वारा प्रतिनिधि सभाको बैठकमा मन्त्री ज्वालालाई कारबाहीको माग

नेकपा एमालेले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गर्ने भएको छ ।

एमालेका सचेतक महेश बर्तौलाका अनुसार संसदमा समय लिएर सरकारको ध्यानाकर्षण गर्न लागेको हो । यसअघि नै एमालेले मन्त्री ज्वालाको राजीनामा मागिसकेको छ ।

माघ ६ गते बसेको बैठकमा एमालेका सचेतक बर्तौलाले ललितपुरको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री ज्वालाको समेत कमजोरी रहेको प्रतिवेदन छानबिन समितिले दिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका थिए ।

जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रतिवेदन बुझ्न बाँकी रहेको र प्रतिवेदन बुझेपछि आवश्यक निर्णय लिने बताएका थिए ।

तर, अझैसम्म सरकारी छानबिन समितिले दोषी देखाएका व्यक्ति कारबाहीमा नपरेको भन्दै एमालेले पुनः सरकारको ध्यानाकर्षण गर्न लागेको हो ।

प्रतिनिधि सभाको बैठक शुरु भएलगत्तै समय लिएर बोल्ने एमालेको तयारी छ । एमालेको तर्फबाट सांसद रघुजी पन्तले सरकारको ध्यानाकर्षण गर्नेछन् ।

नेकपा एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागीमा प्रकाश ज्वाला ललितपुरको बालकुमारी घटनापछि निकै विवादित बने ।

गत पुस १३ गते दक्षिण कोरियाको इपीएस परीक्षामा भाग लिन पाएको भन्दै आन्दोलनमा उत्रिएका युवाहरुले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए ।

प्रदर्शनकारीले मन्त्रीको गाडीमा आगो लगाइदिएपछि प्रहरीले गोली चलाउँदा दुई युवा (दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाह)को मृृत्यु भएको थियो ।

यो घटनापछि सरकारले उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको नेतृत्वमा तीन सदस्यीय छानबिन आयोग गठन गरेको थियो । पूर्वडीआईजी अरुण बिसी र गृहमन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराई आयोगका सदस्य थिए ।

आयोगले एक महिनाभन्दा बढी समयपछि तयार पारेको प्रतिवेदनमा मन्त्री ज्वालासमेत दोषी रहेको देखाइएको छ ।

प्रदर्शनी स्थलमा मन्त्री ज्वाला सवार झण्डावाल गाडी पुगेपछि स्थिति तनावग्रस्त बन्न पुगेको छानबिन समितिको निष्कर्ष रहेको बताइन्छ ।

आयोगको प्रतिवदेनपछि एमालेले मन्त्री ज्वालाको राजीनामा माग्दै आएको छ । नैतिकताका आधारमा मन्त्री ज्वालाले राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने पनि उनीहरुको माग छ ।

माघ ६ गतेको प्रतिनिधिसभामा आकस्मिक समय लिएर एमाले सचेतक बर्तौलाले मन्त्री ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गरेका थिए ।

प्रकाशित मिति: Feb 22, 2024

प्रतिक्रिया दिनुहोस्