Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैकल्पिक राजनीतिका लागि युवाहरु राजनीतिमा आउनुपर्छ:भट्टराई

ललितपुर । नयाँ शक्ति नेपालका संयोजक डा।बाबुराम भट्टराईले देशमा विद्यमान पट्यारलाग्दो अवस्था चिर्दै विकास र समृद्धिको नेतृत्व गर्न सक्षम युवाहरु राजनीतिमा आउनुपर्ने बताउनुभएको छ । नयाँ शक्ति अन्तरिम जिल्ला परिषदले शुक्रबार ललितपुरमा आयोजना गरेको वृहत अन्तरक्रियालाई सम्बोधन गर्दै संयोजक भट्टराईले परिवर्तनकारी र मुलुकको समृद्धि र प्रगति चाहनेहरुलाई नयाँ शक्ति निर्माण अभियानमा सहभागी हुन आव्हान पनि गर्नुभयो ।

‘समय परिवर्तनशील छ, हरेक कुरा जन्मिन्छ, हुर्कन्छ र मर्छ,’ उहाँले भन्नुभयो, ‘यही प्रक्रियामा पुराना दलहरुको विकल्पमा नयाँ शक्ति वैकल्पिक राजनीतिको रुपमा अगाडि आएको हो ।’ नयाँ शक्ति नयाँ सोच, नयाँ ढंग र नयाँ चिन्तनका साथ समाज परिवर्तन गर्नेगरी वैकल्पिक राजनीतिक धार निर्माणमा सक्रिय रहेको उहाँले बताउनुभयो । ‘उमेरमा त म बुढो भएँ, तर नयाँ विचार लिएर नयाँ शक्ति निर्माणमा सक्रिय छु,’ उहाँले भन्नुभयो, ‘अब यो प्रक्रियाको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्छ, सक्षम पुस्ताले गर्नुपर्छ ।’

अबको राजनीति विकास र समृद्धिलाई केन्द्रमा राखेर हुने भन्दै संयोजक भट्टराईले समय परिवर्तनशील भएकोले हामीले पनि समयअनुसार परिवर्तित हुनसक्नुपर्ने उहाँको तर्क थियो । ‘नेपाली समाज पनि नयाँ अवस्थामा पुगेको छ,’ उहाँले भन्नुभयो, ‘नयाँ अवस्थामा ज्ञान र विज्ञानको सहायताले समाजको गाँठो फुकाएर समृद्धिको नेतृत्व गर्नुपर्छ ।’ समाज नयाँ अवस्थामा पुगेपनि परम्परागत राजनीतिक पार्टी र नेतृत्व पुरानै पाराले अगाडि बढिरहेको र यसरी मुलुक अगाडि बढ्न नसक्ने उहाँको तर्क थियो । नयाँ शक्ति नेपालका अन्तरिम जिल्ला परिषद संयोजक रोशन पोख्रेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । 

प्रकाशित मिति: Jun 4, 2016

प्रतिक्रिया दिनुहोस्