Logo
१५ आश्विन २०७९, शनिबार
(June 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्यूज अप्रेशन साहित्य : म पात्र रागैरागले भरिएको !


गणेश श्रमण , 

पानी उम्लनुको पनि एउटा सीमा हुन्छ ।

पानी उम्लेर पनि आगो बन्द गरिएन भने पानी पानी रहँदैन ।
पानी सिद्धिन्छ । पानी उम्लेर तातेपछि अबको क्रम भनेको पानी सेलाउनु नै हो ।
जसरी राग–विराग, क्रिया–प्रतिक्रिया, घटना–दुर्घटनाले तात्दै गएपछि अन्त्यमा म पात्रको राग पनि थाकेर सेलाउन पुग्छ, पानीजस्तै । र, अन्त्यमा निर्वाण वा मुक्तिको यात्रामा अगाडि बढ्न बाध्य हुन्छ म पात्र ।

म पात्र रागैरागले भरिएको छ । सोच्छ एउटा कुरा भइदिन्छ अर्को, ठीक सोचेभन्दा विपरीत र बिब्ल्याटो परिस्थिति तेर्सिन्छ अगिल्तिर । म पात्रसँग जोडिएर आएका छन् अरु पात्र पनि, जसको अवस्था पनि ठीक उल्टा र अप्रिय घटनाले भरिएका छन् ।
उपन्यासकारले म पात्रलाई यसरी अन्त्यमा शिथिल बनाउनकै लागि गतिशील र सक्रिय बनाइरहे पूरै उपन्यासभरि र अन्त्यमा सबै घटना परिघटनाबाट थाकेपछि गोविन्द गुरूको शरणमा शरणगत बनाइदिए र जसलाई सहयोग गरिन् मोनिकाले ।

उपन्यासको सुरूमै भेटिन्छिन् मोनिका र पाठकलाई लाग्छ, उनले पहिल्यै निर्वाण प्राप्त गरिसकिन् । एक बोतल वाइन रित्याउँदा पनि उनी मात्तिन्नन् । उनलाई नशा लाग्दैन, मन चञ्चल हुँदैन अथवा कुनै राग र वासना आउँदैन ।
आनन्दले एउटै खाटमा मस्तसँग सुत्न सक्छिन्, म पात्रसँग । तर, बाहिरी दुनियाँमा रम्दै हिँड्ने सामान्य म पात्रको मानसिक स्थिति कस्तो हुन्छ ? के–के सोच्न पुग्छ ? र, अन्त्यमा आफूबाट कुनै दुर्घटना हुन नपुगोस् भनेर मोनिकाको खाटबाट भागेर घर पुग्छ राति नै ।

उपन्यासको खास स्वाद अलि पछाडि मात्र आउँछ । उपन्यासको अगाडिको भाग पढ्नु भनेको नरिवलको बाहिरी जटा फोर्नेजस्तै गाह्रो छ भने पछाडिको भाग नरिवलजस्तै रसिलो र स्वादिलो छ, जसको आनन्द लिनका लागि पाठकले अगाडिको भाग बिस्तारै पढ्ने धैर्य टुटाउन हुन्न । तर, धैर्यको बाँध टुट्न सक्ने सम्भावना बढी नै छ ।

योग, साधना र ध्यानले चित्र निर्मल हुँदै गएपछि मानिस आफैँले आफैँलाई जित्न सक्छ, आफैँले आफ्नो मनलाई नियन्त्रण गर्न सक्छ । संसारमा सबैभन्दा ठूलो प्राप्ति वा विजय भन्नु नै आफैँले आफैँलाई जित्नु हो ।
आफ्नो खराब भावनालाई परित्याग गरेर आफू विजयी बन्नु नै महानता हो । उपन्यासको अन्त्यमा विजयी भएको छ, म पात्र यसरी नै । म पात्रले प्रमाणित गरिदिएको छ कि दुई विपरीत लिंगीबीचको आकर्षण हुन्छ भनी प्रतिपादन गरिएको फ्रायडको मनोविज्ञानको सिद्धान्त पनि गलत हुँदोरहेछ भन्ने ।

उपन्यासको गति कतै स्वाभाविक त कतै अस्वाभाविक, कतै प्राकृतिक त कतै अप्राकृतिक, कतै सहज त कतै असहज गतिमा अगाडि बढ्छ । कतै–कतै त छिटोछिटो फेरिरहने परिवेशहरुले गर्दा उपन्यास पढिरहेको होइन कि सिनेमा हेरेकोजस्तो पनि लाग्छ ।
आख्यान एउटा सपना हो र देखेको सपनामा संशोधनको के काम ? भनेर उपन्यासकारले यस उपन्यासलाई एक सहज रुपमा जे आयो त्यही पस्किएको भनेका छन् ।
पूर्वीय दर्शनका अगाडि पाश्चात्य विचारहरु कमजोर र लुलालङ्गडा भएको प्रमाणित यस उपन्यासले गरेको छ ।
उपन्यासमा कुनै पात्रले पनि निर्वाण प्राप्त गरेका छैनन्, न त निर्वाण प्राप्त गर्ने बाटो नै देखाउन उपन्यासले सकेको छ । निर्वाण अन्तिम गन्तव्य हो, जसलाई मुक्ति वा कैवल्य पनि भन्न सकिएला ।
सोभिता, गोविन्द त गुरू भइहाले निर्वाण–यात्राको बाटो देखाइदिने । उनीहरु आफैँले कति निर्वाण–यात्रा गर्न सकेका छन्, उपन्यास यसमा मौन छ । तर, निर्वाणको यात्रामा केही अघि बढेकी छिन् मोनिका, पछि उनले नै ताते–ताते गरी डोराउँदै सिकाउँदै छिन् निर्वाणको गोरेटोमा म पात्रलाई ।

निर्वाण पनि आफैँमा एउटा स्वैर कल्पना वा भ्रम हो । अरु सबै भौतिकतालाई भ्रम भनी आफ्नो गन्तव्य मात्र निर्वाण हो भन्नु पनि आफैँमा एउटा भ्रम हो । निर्वाणको भ्रम–यात्रामा हिँड्दा क्षणिक आनन्द भने लाग्न सक्छ पात्रहरुलाई ।
आनन्द, खुसी र वितराग प्राप्तिको अवस्थामा छन्, उपन्यासको अन्त्यमा दुई पात्रहरु मोनिका र म पात्र । वर्तमानमा भौतिकतामा रूमल्लिइरहेका पात्रहरुलाई उपन्यासले केही परको अलौकिक विषयका बारे सोच्न बाध्य पार्छ ।
दुःख, तनाव, छटपटीबाट क्षणिक रुपमा नै किन नहोस्, शान्ति र आनन्दको खोजमा लाग्नका लागि ध्यान, साधना र योगतर्फको पूर्वीय पद्धतिको मार्गमा पाठकलाई डोराउनका निम्ति उपन्यासले प्रेरित गर्दछ ।

मानिसको शरीरबाट मात्रै कुनै प्राणीले निर्वाण प्राप्त गर्न सक्छ भन्ने रहस्य बुझेका बुबा नै एउटा मुक्त आत्मा र निर्वाणका अनुयायी हुन् । उनको तुलनामा गोविन्द, वासुदेव, शोभिता, मोनिका सबै ढोँगी लाग्छन् । कर्मयोगी भएर पनि जीवनबोध गर्न सकेका र निर्वाण प्राप्त गर्न सकिन्छ भनेर उनले विश्वास गरेका छन् ।
आफ्नी श्रीमती, छोरा र आफ्नो जीवनमा जो–जो ठोकिन आए, ती सबैलाई गुरू मान्ने उनको जीवन–चिन्तन साँच्चै आदर्श र उच्च छ । हरेक मानिसले आफ्नो जीवनलाई आफ्नै ढंगले र आफ्नै सर्तले बाँच्न पाउनुपर्छ भनी विश्वास गर्ने उनी प्रगतिशील विचारका र व्यक्तिगत स्वतन्त्रताका पक्षपाती देखिन्छन् । कर्म गरेर गृहस्थी जीवनमा पनि उनी कुनै सिद्ध योगीजस्ता लाग्छन् ।

उपन्यास सपना होइन, जीवन हो । उपन्यास लेख्नु र सपना देख्नु फरक कुरा हुन् । ‘निर्वाण’ उपन्यास पनि एउटा मान्छेको जीवनजस्तै छ, मह¤वाकांक्षी मान्छेको । त्यसैले, कतै–कतै घटित पात्र, प्रवृत्ति र परिवेशप्रति अविश्वास रहन सक्छ । आखिर कुनै एक मान्छेको जीवनमा घटित घटनाक्रम र परिस्थिति पनि अर्को मान्छेलाई विश्वास नलाग्न सक्छ र यस्तो पनि हुन सक्छ र ?
भन्नेजस्तो शङ्का लाग्न सक्छ । अर्थात्, पत्यार नलाग्न सक्छ । तर, वास्तविक सत्य उसलाई मात्र थाहा हुन सक्छ । र, अरुलाई मिथ्या कल्पना लाग्न सक्छ । त्यसैले उपन्यास जीवनजस्तै छ, आममानिसको जस्तो नभई कुनै विशेष मानिसको ।

जीवन एउटा कठिन परीक्षा हो । धेरै मानिसहरु यस परीक्षामा असफल हुने गर्छन् । किनकि, उनीहरु अरुको नक्कल उतार्छन् । उनीहरु जान्दैनन् कि सबैका प्रश्नपत्रहरु बेग्लाबेग्लै छन् भनेर । यो उपन्यास म पात्रले भोगेका जीवनको प्रश्न–उत्तर हो ।

जहाँ समस्या र अप्ठ्यारा क्षणहरु प्रश्न बनेर आएका छन् भने अन्तिमतिरको निर्वाणको अविदित यात्रा उत्तर बनेर आएका छन् । ‘निर्वाण’ यी र यस्तै प्रश्न–उत्तरको कथा हो जीवनको । [email protected] ,@ चितवन पोष्ट

प्रकाशित मिति: Jun 18, 2016

प्रतिक्रिया दिनुहोस्