Logo
२६ बैशाख २०८१, बुधबार
(July 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लव समूहले लियो धनगढी विष्फोटको जिम्मा : मृतकले भनेका थिए ‘दोेषी मै हुँ, मर्न देऊ’

काठमाडौँ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिहीबार धनगढीमा भएको शक्तिशाली बम विष्फोटको जिम्मा लिएको छ ।

उक्त घटनामा पार्टीका कार्यकर्ता रामबहादुर सिंहको मृत्यु हुनुका साथै अन्य चार जना घाइते छन् ।

पार्टीका सेती महाकाली व्युरो इन्चार्ज निर्माणले विज्ञप्ति जारी गर्दै घटनाको जिम्मा लिएका हुन् ।

पार्टीको कामको सिलसिलामा आत्म रक्षाका लागि बोकेको बम विष्फोट भएको विज्ञप्तिमा उल्लेख छ ।

सिंह आफैले बोकेको बम विष्फोट हुँदा भएको योघ टनाको मुख्य जिम्मेबारी भने फासीबादी ओली सरकारले लिनु पर्ने विज्ञप्तिमा उल्लेख छ ।

यसअघि पार्टीका कैलाली जिल्ला इन्चार्जले यो घटनामा आफ्नो पार्टीको संलग्नता नरहेको बताएका थिए ।

मृतकले भनेका थिए ‘दोेषी मै हुँ, मर्न देऊ’

यसैबीच बिहीबार बेलुका बम विष्फोटमा परी मृत्यु भएका राम सिंह पूर्वमाओवादी लडाकु भएको खुलेको छ ।

शान्ति प्रक्रियापछि केही समय घरमा बसे पनि मोहन वैद्य नेतृत्वको माओवादी पार्टीबाट विप्लव अलग भएपछि उनी विप्लव समूहमा सक्रिय थिए ।

उनी गाउँमा भने सहयोगी र मिलनसार भएको जयपृथ्वी नगरपालिका–६ नौराका जीवन सिंहले बताए ।

‘राम समाज, गाउँ र राष्ट्रको भलाइका लागि केही गर्नुपर्छ भन्ने मान्यता राख्थे,’ जीवनले भने । पछिल्लो समय उनी कञ्चनपुरको महेन्द्रनगर बस्दै आएका थिए ।

सिंहले आफ्नै झोलाको टिफिन बक्समा बम बोकेका थिए । चिया खान बेन्चमा बस्दा बममा प्रेसर परेपछि पड्किएको हुनसक्ने प्रहरीको अनुमान छ ।

धनगढी नगरपालिका–४ स्थित नीलम होटलमा चिया खाँदै गर्दा भएको विष्फोटमा परेर उनी गम्भीर घाइते भएका थिए ।

प्रत्यक्षदर्शीका अनुसार घाइते भएपछि उनी आफूलाई ‘मर्न देऊ’ भन्दै कराइरहेका थिए। प्रत्यक्षदर्शी रामु चौधरीले भने, ‘घटनाको दोषी म नै हो, मलाई मर्न देऊ भन्दै राम सिंह कराइरहेका थिए, घटनाको सबै जिम्मेवारी आफैं लिने पक्षमा देखिन्थे ।’

घाइते राम सिंहको माया मेट्रो अस्पतालमा उपचारका क्रममा बिहीबार राति साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

बझाङको जयपृथ्वी नगरपालिका–६ नौरा स्थायी घर भएका सिंह महेन्द्रनगरबाट काठमाडौं जान भनी बिहीबार से७प ३१४४ नम्बरको मोटरसाइकलमा कञ्चनपुरको बेलडाँडी घर भएका लक्ष्मण सेरालालाई लिएर हिँडेका थिए ।

मृतक सिंहसँगै मोटरसाइकलमा हिँडेका सेराला पनि विप्लव समूहकै कार्यकर्ता भएको खुलेको छ । उनले भिरेको झोलाभित्र रहेको बम भित्तामा अडेस लाग्दा प्रेसरले पड्किएको हुनसक्ने प्रहरीको अनुमान छ ।

विस्फोटमा परी कमर पछाडिको भाग गुमाएका सिंहको अस्पताल र्पुयाएको केही समय पछाडि मृत्यु भएको हो ।

राम र लक्ष्मण सँगै होटलमा आएको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरीले घटनास्थलबाट एक थान ९ एमएमको चाइनिज पेस्तोल पनि बरामद गरेको छ ।

प्रकाशित मिति: Jul 19, 2019

प्रतिक्रिया दिनुहोस्