Logo
२६ बैशाख २०८१, बुधबार
(May 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्ततः विराटनगर प्रदेश १ को राजधानी घोषित, संरचना निर्माणकालागि ५० विघा जमिन महानगरपालिकाले उपलव्ध गराउने

विराटगनर :  प्रदेश १ को स्थायी राजधानी माोरङको विराटनगर घोषणा भएको छ । प्रदेश सभाको सोमबार बसेको बैठकमा प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीले विराटनगरलाई प्रदेश १ को राजधानी बनाइयोस् भनी गर्नुभएको प्रस्ताव दुई तिहाइ मतसहित पारित भएको हो । प्रदेश सभा सचिवालयमा राजधानीको चार प्रस्ताव दर्ता भए पनि शनिबार सबै दलहरूबीचको सहमतिमा एउटा मात्र प्रस्ताव छलफलमा लगिएको थियो । अन्य प्रस्तावकहरूले आफ्नो प्रस्ताव फिर्ता गरेपछि राजभण्डारीले गर्नुभएको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिएको थियो ।

प्रस्तावको पक्षमा ८६ मत प्राप्त भएको थियो । प्रदेश सभामा तत्काल कायम रहेका ९३ सदस्यमध्ये चार जना अनुपस्थित रहनुभएको थियो भने नेपाली काँग्रेसका सांसद प्रतापप्रकाश हाङ्गाम असहमति राख्दै बैठक कक्षबाट बाहिरिनु भएको थियो ।

प्रदेश सभाको बैठकले स्थायी राजधानी विराटनगर रहने र कार्यपालिका, व्यवस्थापिका लगायत अन्य संरचनाहरू विराटनगर, इटहरी र सुन्दरहरैंचा क्षेत्र आसपासका क्षेत्रमा रहने छ भन्ने प्रस्ताव पारित गरेको हो ।

मुख्यमन्त्री शेरधन राईको पहलमा सोमबार दिउँसो बसेको सर्वदलीय बैठकमा दलहरुबीच एउटै प्रस्ताव लैजाने सहमति जुटेको थियो ।

विराटनगरलाई राजधानी घोषणा गरेसँगै प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य पनि भएको छ । प्रदेश प्रमुखबाट प्राप्त पत्र पढेर सभामुखले हिउँदे अधिवेश अन्त्य भएको जानकारी दिनुभएको हो ।

यसैबीच विराटनगर महानगरपालिकाले प्रदेश राजधानीका संरचना निर्माणकालागि आवश्यक पर्ने ५० विघा जमिन उपलव्ध गराउने घोषणा यस अघि नै गरेको छ । अब प्रदेश सरकारले उपयुक्त स्थानमा एकीकृत संरचना निर्माण गर्ने बताइएको छ ।

प्रकाशित मिति: May 7, 2019

प्रतिक्रिया दिनुहोस्