Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली सरकारको एक वर्ष : डा. भट्टराई भन्छन् ‘एक वर्षमा पास मार्कसम्म ल्याउन सकेन’

काठमाडौं : नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले जनअपेक्षा अनुसार अहिलेको सरकार हिँड्न नसकेको आरोप लगाएका छन् । । स्वदेशमै रोजगारी प्राप्त, गरिबीको रेखामुनीबाट माथि पुग्ने, कलकारखाना खुल्ने लगायतका अपेक्षा जनताले राखे पनि यो सरकारले यतातर्फ ध्यान दिन नसकेको उनको ठम्याइ छ ।

उनले अलिअलि विकास त राणाकाल र पञ्चायती व्यवस्थामा पनि भएको भन्दै अहिलेको सरकारले विकासमा फड्को मार्न नसकेको आरोप लगाएका छन् । मेची-महाकाली यात्रामा रहेका डा भट्टराईले भने, ‘ प्रगति त अलिअलि सधै भइराख्छ अहिले पनि भा छ । राणाले पनि बिजुली बालेका थिए । त्रिचन्द्र क्याम्पस खोलेका थिए । त्यो ठूलो कुरा हैन । जनता के चाहन्छन् भन्ने हो ।’

आर्थिक क्रान्ति ल्याउनु पर्नेमा दुई तिहाइको सरकार आफै अलमलमा परेको भन्दै उनले चिन्ता समेत व्यक्त गरेका छन् । उनले केपी शर्मा ओलीको राष्ट्रवादप्रति कटाक्ष गर्दै भने,‘साथीहरु राष्ट्रवादको कुरा गर्दै हुनुहुन्छ हाम्रो सीमानामा एउटा पनि सुरक्षाकर्मी रहेनछन् उतापट्टीका सुरक्षाकर्मीमात्र रहेछन् ।’

भ्रष्टाचार बढ्नु दुःखद भन्दै उनले ‘सत्तामा पुगेपछि साथीहरु झिँगा कता लत्पतियो भनेजस्तो भएको छ, यो गलत भयो, भ्रष्टाचार बढ्योे । उनले वाइडबडी प्रकरण दुःखद भयो भन्दै कमिशनका लागि गराइएको घटनाको गम्भीर छानबिन गरी दोषीलाई कडा कार्वाही गर्न पनि माग गरेका छन् ।

ओली नेतृत्वको सरकारले एक वर्षमा पास मार्क ल्याउन सकेन
नयाँ शक्ति पार्टी गत माघ १५ गतेदेखि देश दौडामा छ । गाउँगाउँमा पुगेर जनताको समस्या जानकारी लिने काम गरिरहेको नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईसँग ऋषि धमलाले कुराकानी गरेका छन् । केपी ओली नेतृत्वको सरकार गठन भएको एक वर्ष पुग्न लागेको छ । यस अवधिमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै चर्को आलोचना भइरहेको छ । सरकारले गर्न नसकेका कामको चर्चा गरेर असफल भएको भनिरहँदा राम्रा काम चाँही केही पनि नगरेकै हो त ? यसै विषयमा केन्द्रित रहेर भट्टराईस‌ग गरिएको कुराकानीको सम्पादित अंश :

तपाई देश दौडाहामा हुनुहुन्छ । जनताको गुनासो के छ ?
हामी माघ १५ गतेदेखि पूर्वी नेपालबाट सुरु गरेको यात्रा गोरखा आइपुगेका छाँै । हजारौँ लाखौँ जनतासँग भेट्दैछु । जनताको चाहनाअनुसार देशले तिब्र फड्को मार्न सकेको छैन । सामान्य विकास भइरहेको छ, जुन निरन्तरता मात्रै हो । अपेक्षाअनुसारको काम हुन सकेको छैन ।

दुई तिहाई बहुमतको सरकारलाई तपाईले कसरी लिनुभएको छ ?
दुई तिहाई बहुमतको सरकार त हो । तर यो सरकारबाट जनताले जति अपेक्षा गरेका थिए, त्यसअनुसार काम गर्न सकेको छैन । जसका कारण जनता निराशा छन् ।

तपाईहरुको देश दौडाहाको लक्ष्य के हो ?
कतिपय कुरा पढेर जानिन्छ । धेरै कुरा परेर जानिन्छ । यही वर्ष म र हिसिला यमीले युरोपका ९ वटा देश घुम्यौँ । १ महिना अमेरिकाका ठूला विश्वविद्यालय पुग्यौँ । त्यसक्रममा हामीले विश्व कहाँ पुग्यो भनेर अध्ययन गर्यौँ । अहिले हामी नेपाली जनताको वास्तविक अवस्था बुझ्न देश दौडाहामा लौरी टेकेर हिँडिरहेका छौँ ।

नेपाली जनताको अवस्था कस्तो पाउनुभयो ?
ग्रामिण भेगमा जनजाती, महिला, दलितलगायतको प्रत्यक्ष अवलोक गर्यौ । एउटा उदाहरण – धादिङको खहरेमा कामी गाउँ रहेछ । २० घरमा २०० जना बसेका रहेछन् । उनीहरुको घर घडेरी केही पनि रहेनछ । रोजगारीको अवसर पनि छैन । यस्तो समस्या धेरै ठाउँमा छ ।

देश दौडाहाका क्रममा प्रदेश तीनको राजधानी काभ्रे बनाउनुपर्छ भन्नुभएछ । किन ?
हामी वास्तविक रुपमै संघीयतामा जाने हो भने नेपाली संस्कृति र भूगोलको ख्याल गर्नुपर्छ । बहुभाषा र बहुजातिलाई पनि संघीयताले सम्बोधन गर्नुपथ्र्यो । जनसंख्याका आधारमा संघीयता बनाउने र राजधानी तोक्ने हो भने सफल हुँदैन । नेपालमा बहुजाति र बहुभाषाको आधारमा १० वटा प्रदेश बनाउनुपथ्र्यो । प्रदेशको नाम पनि जुन समुदायको बाहुल्यता छ सोहीअनुसार राख्नुपथ्र्यो । जस्तै गण्डकी राख्नुको साटो तमुवान राख्नुपथ्र्यो ।

तपाई देश दौडाहाका क्रममा बुढीगण्डकी क्षेत्रमा पुग्नुभएको छ । बुढिगण्डकी जलायशययुक्त जलविद्युत आयोजना बन्छ त ?
मेरै पालामा बुढगण्डकीलाई राष्ट्रिय गौरवको परियोजना घोषणा गरेको हो । यो बनाउनका लागि पेट्रोलियम पदार्थमा कर लगाएर अहिले ३० अर्ब उठिसकेको छ । यो परियोजना हामी आँफैले सात वर्षमा बनाउन सकिन्थ्यो । तर कमिसनखोरहरुले चलखेल गरेर लागेर बुढिगण्डकीलाई भकुण्डोको खेल बनाएका छन् । मुआब्जा वितरण पनि सकिएको छैन । अब यो बन्ने हो कि नबन्ने हो भन्ने चिन्ता देखिएको छ ।

केपी ओली नेतृत्वको सरकारले बुढिगण्डकी बनाउन नसक्ला र ?
म कसैलाई पनि दोष दिन्न । १४ वर्ष जेल बसेर आएका साथीहरु सत्तामा हुनुहुन्छ । दशौँ युद्ध गरेर आउनुभएका साथीहरु हुनुहुन्छ । म यसले गर्यो यसले गरेन भन्दिन । म आफैँ पनि केही मात्रामा जिम्मेवार छु । तर सत्तामा पुगेपछि जसरी झिँगा गुलियोमा लटपटिन्छ, त्यसैगरी साथीहरु कमिसनमा लटपटिनुभएको छ । बुढिगण्डकी मात्रै होइन, वाइडबडी र एनसेल प्रकरणमा पनि कमिसनकै खेल छ । अरबौँका घोटाला भइरहेको छ । यस्तो भ्रष्टाचारको क्यान्सरको अन्त्य गर्नुपर्छ । भ्रष्टाचार अन्त्यका लागि अदालत र अख्तियारलाई बलियो बनाउनुपर्छ ।

केपी ओली प्रधानमन्त्री भएको एक वर्ष पुग्न लागेको छ । यो सरकारले गरेको कामलाई कसरी हेर्नुभएको छ ?
विगतको जस्तै सामान्य सरकारले भन्दा अरु थप केही गर्न सकेको छैन । यो सरकार भनेको त संविधान निर्माणपछिको पहिलो निर्वाचित बहुमतप्राप्त सरकार हो । एक वर्षको अवधिमा तिब्र आर्थिक विकास, सुशासन र समृद्धिको उदाहरण देखाउनुपथ्र्यो । त्यसमा चाँही चुक्यो । नयाँ युगमा नेपालको नेतृत्व गर्ने क्रान्तिकारी र परिवर्तनकारी सरकार बन्न सकेन । त्यसकारण म प्रधानमन्त्रीलाई पास मार्क दिन सक्दिन ।

प्रकाशित मिति: Feb 12, 2019

प्रतिक्रिया दिनुहोस्