Logo
२६ बैशाख २०८१, बुधबार
(December 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हात्तिको मुखमा जिरा, ४ लाख सार्वजनिक सवारी मध्ये ६ हजारले मात्र गरे कम्पनीमा दर्ता

काठमाडौं : सरकारले यातायात समितिहरुलाई सिण्डिकेट अन्त्य गर्न भन्दै कम्पनी रुपमा दर्ता गर्न दिएको समय अब मात्र एक दिन छ । समय सकिसक्दा पनि कम्पनी दर्ता गर्न बेवास्ता गरिरहेका छन् ।

करिब ४ लाख सार्वजनिक सवारी मध्ये ६ हजार मात्र कम्पनीमा दर्ता भएका छन् । यदि सरकार आफ्नो निर्णयमा कायमै रहृयो भने पुस १ बाट यातायात समितिहरु अबैध हुन्छन् । तर, फेरि पनि समितिको म्याद थप्ने चलखेल सुरु हुने लक्ष्यण देखिएको छ ।

यातायात कम्पनी दर्तामा भएको प्रगतिबारे समीक्षा गर्न सोमबार बसेको तीन विभागीय मन्त्री र सचिवहरुको बैठकमा त्यस्तै देखियो । छलफलमा गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र उद्योगमन्त्री मात्रिका यादवका साथै तीनै मन्त्रालयका सचिवहरु थिए ।

बैठकमा गृह मन्त्रालयका अधिकारीहरुले प्रश्न गरे, अहिलेसम्म कति समितिहरु कम्पनीमा दर्ता भए ? कम्पनीमा नगएका सवारीलाई पुस १ बाट रोक्ने कि ? भौतिकपूर्वाधार तथा यातायात मन्त्रालयले ६ हजार सवारी मात्र कम्पनी दर्ता भएको र देशभर करिब ४ लाख सार्वजनिक सवारी रहेको तथ्यांक प्रस्तुत गरेको छ ।

एक सहभागकिा अनुसार यातायातमन्त्री महमसेठले कम्पनी दर्तासम्बन्धी कानुनी झन्झटका कारण धेरै यातायात समितिहरु अझैसम्म दर्ता हुन नसकेको सुनाए । प्राइभेट कम्पनीमा जाँदा १०० मात्रै गाडी राख्न पाउने व्यवस्था संशोधन गर्नुपर्ने प्रस्ताव महासेठले उद्योगमन्त्रीसामू राखे ।

समितिहरु सबै गाडी लिएर एउटै कम्पनीमा रुपान्तरण हुन चाहे पनि कानुनले रोकेको तर्क उनले पेश गरे । ‘कम्पनीमा एकसय वटा मात्र गाडी राख्न पाइने व्यवस्था कारण व्यवसायीले कम्पनीमा जान मानेनन् । गाडी संख्याको सीमालाई खुला गर्नुपर्‍यो,’ महासेठले बैठकमा राखेको भनाइलाई उद्धृत गर्दै एक गहृका एक अधिकारीले भने ।

गृहका अधिकारीहरुले अहिलेसम्म यो प्रस्ताव किन नल्याएको त भन्ने प्रश्न गरेका छन् । ‘समय घर्किननबेला कानुनी झन्जट देखाएर फेरि म्याद थप्ने प्रस्ताव आएको छ’, गृहका एक अधिकारीले भने, ‘अब फेरि म्यद थप हुने पक्कापक्की छ ।’

वैशाखमा यातायात क्षेत्रको सिण्डिकेट अन्त्य यर्ने घोषणा गरेको सरकारले त्यसबेला साउन १ बाटै यातायात समितिहरु नवीकरण नगर्ने निर्णय गरेको थियो । तर, कम्पनीमा जान समय नपुगेको भन्दै मंसिर मसान्तसम्म म्याद थपियो । सरकारले जसरी साउनसम्मको समय खेर फाल्यो, मंसिरसम्म पनि त्यसरी नै कटायो । न यातायात व्यवसायीहरुसँग सम्वाद भयो न कानुनी झन्जट हटायो ।

रोक्का भएका समितिका बैंक खाताबाट भुत्तानी दिने बाहेक केही गरेन ।सरकारको मौनताको फाइदा उठाउँदै यातायात समितिहरु म्याद थपको निर्णय गराउन सक्रिय भए । व्यवसायीका नेताहरुले म्याद थप गराउने ‘नजराना’ बुझाउनुपर्ने भन्दै यातायात समितिहरु १ देखि ३ लाखसम्म रकम उठाएका छन् ।

प्रकाशित मिति: Dec 13, 2018

प्रतिक्रिया दिनुहोस्