Logo
२६ बैशाख २०८१, बुधबार
(December 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जङ्गली जनावर मार्न पासो थाप्दै गरेको अवस्थामा एक शिकारी पक्राउ

ठिनी : थासाङ गाउँपालिका-२ कोवाङको छोङगुमा जङ्गली जनावर मार्न पासो थाप्दै गरेको अवस्थामा एक शिकारी थलामै पक्राउ परेका छन् ।अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमको नेतृत्वमा गएको गस्ती टोलीले साढे दुई किलो जङ्गली जनावरको मासु, दुई थान पासो र खुकुरीसहित शिकारीलाई पक्राउ गरेको हो ।

तीन हजार ५०० मिटर उचाइको जङ्गलमा मासु पकाउँदै र पासो थाप्दै गरेको अवस्थामा रोल्पाका ५७ वर्षीय मोहनबहादुर मगरलाई मङ्गलबार पक्राउ गरिएको कार्यालयले जनाएको छ ।

मासुको परीक्षण र थप अनुसन्धानका लागि मगरलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको पोखरास्थित कार्यालयमा पठाइने प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो ।

कोवाङको जङ्गलमा पछिल्लो समय जङ्गली जनावर र पक्षीको चोरी शिकार बढेपछि प्रहरी र एक्यापका कर्मचारीसहित गस्तीमा जाने क्रममा रङ्गेहात शिकारी पक्राउ गर्न सफल भएको संरक्षण क्षेत्र व्यवस्थापन समिति कोवाङका अध्यक्ष जीवन थकालीले बताउनुभयो ।

थकालीका अनुसार मगरको साथबाट बरामद गरिएको मासु कस्तुरी मृग र घोरलको हुनसक्ने अनुमान गरिएको छ । डेढ किलो पकाएको र एक किलो काँचो मासु बरामद भएको छ ।

प्रकाशित मिति: Dec 12, 2018

प्रतिक्रिया दिनुहोस्