Logo
२६ बैशाख २०८१, बुधबार
(December 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तत्काल लोकसेवा नखुल्ने, कर्मचारी समायोजनपछि मात्र नयाँ विज्ञापन

काठमाडौ । मंसिरको अन्तिम साता खोल्ने तयारी गरिएको लोकसेवाको परीक्षा तत्काल नखुल्ने भएको छ । कर्मचारी समायोजन प्रक्रियाका कारण अब प्रक्रिया सकिएपछि मात्रै लोकसेवाको भर्ना प्रक्रिया खुल्नेछ । लोकसेवा आयोगले नेपाल सरकारबाट विभिन्न रिक्त पदमा पूर्तिका लागि माग नआएमा सो कार्यतालिका स्वतः निष्क्रिय हुने जानकारी दिएको छ ।

समायोजनपछि मात्रै कर्मचारी भर्ना प्रक्रिया खुल्ने भएकाले हाललाई लोकसेवाको परीक्षा स्थगित हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ । मन्त्रालयका अनुसार संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न कम्तीमा तीन महिना लाग्नेछ ।

सरकारले तीनवटै तहमा कर्मचारी समायोजन गर्ने उद्देश्यले समायोजन अध्यादेशलाई स्वीकृत गर्दै प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइसकेको छ ।

कर्मचारी समायोजनपछि मात्रै संघमा रहने दरबन्दीको अन्तिम टुंगो लाग्ने भएकाले मंसिरमा खुल्ने भनिएको लोकसेवा नखुल्ने निश्चित भएको हो ।

लोकसेवा आयोगले निजामती सेवाका विभिन्न पदमा आगामी २६ मंसिरमा विज्ञापन गर्नेगरी नयाँ कार्यतालिका सार्वजनिक गरेको थियो ।
जसअनुसार २६ मंसिरमा निजामती सेवाका अप्राविधिक र प्राविधिकतर्फका सहसचिव, उपसचिव र शाखा अधिकृतको परीक्षाको विज्ञापन गर्ने तयारी आयोगले गरेको थियो ।

समयमा कर्मचारी समायोजन प्रक्रिया सुरु हुने भएकाले लोकसेवाको परीक्षा पर धकेलिने अवस्था आएको सामान्य प्रशासन मन्त्रालय स्रोतको भनाइ छ ।

यसअघि असोजमा हुने परीक्षा सरकारकै आग्रहका कारण लोकसेवाले मंसिरमा सारेको थियो तर अहिले आएर पुनः सरकारले रिक्त पदसंख्या नै नपठाएपछि आयोगले लिने परीक्षा स्वतः स्थगित हुने अवस्था आएको हो ।

लोकसेवा आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग रिक्त दरबन्दीको विवरण पठाउन पटकपटक पत्राचार गर्दै आएको छ । तर, सामान्यले भने समायोजनपछि मात्रै भर्ना गर्नुपर्ने भएकाले रिक्त दरबन्दीको विवरण आयोगमा पठाउन इन्कार गर्दै आइरहेको छ ।

लोकसेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले सामान्य प्रशासन मन्त्रालयबाट १५ मंसिरसम्मै रिक्त दरबन्दी विवरण आइसक्नुपर्ने भए पनि हालसम्म नआएको जानकारी दिए ।

सूचना अधिकारी सुवेदीले सामान्य प्रशासनबाट निर्धारित समयमा रिक्त दरबन्दीको विवरण आउने सम्भावना क्षीण हुँदै गएकाले २६ मंसिरमा विज्ञापन हुने सम्भावना टरेर गएको बताए ।

सामान्य प्रशासन मन्त्रालयका अधिकारीका अनुसार अहिले केन्द्रमा रहेका ८९ हजार कर्मचारीलाई तीनवटै तहमा समायोजन नगर्दासम्म रिक्त दरबन्दीको विवरण निक्र्योल गर्न सक्ने अवस्था छैन ।

केन्द्रीय लोकसेवा आयोगले प्रदेश र स्थानीय तहका कर्मचारीको परीक्षा लिन पाउँदैन । प्रदेश र स्थानीय तहमा अब प्रदेश लोकसेवा आयोगले नै आवश्यक कर्मचारीको पदपूर्ति गर्नेछ ।

केन्द्रीय सरकारले यसअघि नै संघ, प्रदेश र स्थानीय तहमा रहने संगठन संरचना र कर्मचारी दरबन्दीको टुंगो भने लगाइसकेको छ । जसअनुसार संघमा ४५ हजार ८५८, प्रदेशमा २१ हजार ३९९ र स्थानीय तहमा ५७ हजार कर्मचारी रहनेछन् ।

सरकारले दरबन्दी टुंगो लगाए पनि कहाँ कति रिक्त छ भन्ने बारेमा भने स्पष्ट विवरण निकाल्न सकेको छैन । सरकारले टुंगो लगाएको कर्मचारी दरबन्दी र हाल कायम रहेका कर्मचारीको अन्तर भने झन्डै १५ हजारसम्म रहेको छ ।

यस हिसाबले १५ हजार दरबन्दी रिक्त रहेको देखिन्छ । तर, सरकारले रिक्त दरबन्दीका पदबारे निक्र्योल गर्न नसकेकाले समस्या आएको लोकसेवा आयोगका अधिकारी बताउँछन् ।

आयोगका सूचना अधिकारी सुवेदीले पद तथा श्रेणीअनुसार तीनवटै तहमा आवश्यक पर्ने कर्मचारी र हाल रहेका कर्मचारीबीचको अन्तर निकालेर सोहीअनुसार रिक्त पदलाई पूर्ति गर्न सक्ने सम्भावना भए पनि सरकारी पक्षले बेवास्ता गरेकाले तत्काल भर्ना प्रक्रिया नखुल्ने अवस्था आएको बताए ।

लोकसेवा आयोगले दोस्रोपटक सार्वजनिक गरेको कार्यतालिकामा निजामती सेवाका सहसचिव, उपसचिव र अधिकृतको परीक्षाको विज्ञापन मंसिरको अन्तिम सातामा गरी माघ-फागुनमा परीक्षा सञ्चालन गर्ने कार्यक्रम तय गरेको थियो ।

सुब्बा र खरिदारको विज्ञापन पुसको अन्तिम सातामा गरी फागुन-चैतमा परीक्षा सञ्चालन गर्ने कार्यतालिका बनाएको थियो । तर, अब यो कार्यतालिका प्रभावहीन हुने देखिएको छ ।

प्रकाशित मिति: Dec 6, 2018

प्रतिक्रिया दिनुहोस्