Logo
१८ बैशाख २०८१, मंगलबार
(February 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विकास र समृद्धिको बाटोमा अघि बढ्दै सरकार, काँग्रेसलाई संयम बन्न मुख्यमन्त्री पोखरेलको सुझाव

बुटवल : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रमुख प्रतिपक्षी काँग्रेसलाई संयम अपनाउन सुझाव दिएका छन् । खेल मैदानमा हार व्यहोरेपछि खेलाडी हार स्वीकार्दै संयम भएजसरी नै विपक्षी दललाई पनि संयमता अपनाउन मुख्यमन्त्री पोखरेलले सुझाव दिएका हुन् । बुधबार सहिदहरुको स्मृतिमा बुटवलमा भएको आयोजना गरिएको शहिद स्मृति कप खुल्ला नकआउट फुटबल प्रतियोगिता २०७५ को उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले नेपालका हरेक राजनीतिक परिवर्तनमा सहिदको योगदानलाई भुल्न नहुने तर्क गरे ।

राजनीतिक परिवर्तनपछि शान्तिको बाटोमा अघि बढ्दै विकास र समृद्धिको बाटोमा अघि बढाउने काममा सरकार लागेको उनको भनाई थियो । नेपालको संविधान जनतामैत्री रहेको दाबी गर्दै समाजवादउन्मुख बाटोमा अघि बढ्न यसले सहयोग गर्ने बताए । सरकारले आजैको दिनबाट प्रधानमन्त्री युवा रोजगार घोषणा कार्यक्रम गरेर बेरोजगार युवाहरुलाई सम्बोधन गर्न सुरु गरको उनको भनाई छ । ‘प्रत्येक बेरोजगार युवालाई सय दिनको सुनिश्चितता हुनेछ’ उनले भने ।

देशका विभिन्न राजनीतिक परिवर्तनमा शहिद भएका परिवारका सदस्यहरुलाई प्रमुख मुख्यमन्त्री पोखरेल, मदन भण्डारी स्र्पोटस एकेडेमी केन्द्रीय उपाध्यक्ष धु्रव आचार्य, पूर्व सभासद बिनोद पहाडी, वामदेव क्षेत्री, प्रदेशसभा सदस्य निर्मला विक र अध्यक्ष योगेन्द्र गौतमले कदरपत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा सहिद परिवार जया पौडेल, महेन्द्र भुषाल, प्रभा ढकाल, राधा पौडेल, अमर चमार, शिव घिमिरे, भरत रेग्मी, देवीलाल गौतमलाई सम्मान गरिएको थियो ।

यसैगरि सुस्ता बचाउ अभियानका अभियन्ता नुरजहा बेगम, गोपाल गुरुङ्ग, आदम खान तथा शिक्षा क्षेत्रमा योगदान दिएका कालिका माविका प्राचार्य घनश्याम पाठक,राजनीतिक तथा साहित्यक क्षेत्रबाट रामचन्द्र भट्टराई,समाजसेवी कदरबहादुर रायमाझी, कमल प्रताप थापा, चित्रमान गौचन, विमला श्रेष्ठ, बबिता बस्नेतलाई समेत सम्मान गरिएको थियो । पत्रकारिता क्षेत्रमा स्वस्तिक श्रेष्ठ, विश्वास ढकाल, रुद्रहरि कुँवर, दिपक ज्ञवाली, दामोदर खनाल, कपिल ज्ञवाली, विनोद परियार, मिना ढकाल, मोहन न्यौपानेलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: Feb 13, 2019

प्रतिक्रिया दिनुहोस्