Logo
१८ बैशाख २०८१, मंगलबार
(February 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अडान कायम राख्दै प्रचण्डको जवाफ : सचिवालयले बोलिसक्यो, व्यक्तिले बोल्नुको अर्थ छैन

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेनेजुयलाबारे आफ्नो अडान दोहोर्‍याएका छन्।गृहजिल्ला चितवनमा बिहीबार बिहान पत्रकारहरूले उनलाई वक्तव्यमा उनी चिप्लिएको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबारे प्रश्न सोधेका थिए।

जवाफमा दाहालले प्रधानमन्त्रीले भनेको कुराले केही अर्थ नराख्ने बताए। ‘प्रधानमन्त्रीजीले कुन सन्दर्भमा कसरी भन्नुभयो मैले मिडिया हेरेको छैन। प्रधानमन्त्रीसमेत सहभागी भएको नेकपा सचिवालय बैठकले भेनेजुयलामा अमेरिकी हस्तक्षेपको भन्दै विरोधमा वक्तव्य जारी गरिसकेकाले अब कुन व्यक्तिले के भन्छ भन्ने कुराले अर्थ राख्दैन,’ दाहालले भने, ‘ किनभने त्यो वक्तव्य राजनीतिक वक्तव्य थियो। एउटा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा बाहिरबाट कुनै हस्तक्षेप नहोस् दिइएको थियो। पछि परराष्ट्र मन्त्रालयबाट पनि त्यही स्पिरिटबाट विज्ञप्ति आयो।’

उनले सचिवालयले जारी गरेको वक्तव्य नै पार्टीको आधिकारीक धारणा भएको बताए। यसअघि बुधबार साँझ ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भेनेजुयला वक्तव्यमा दाहाल चिप्लिएको बताएका थिए।

‘हिजो राजदूतसँगको भेटमा स्वभाविक रूपमा यो प्रसंग पनि चल्यो,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यो वक्तव्यको प्रसंगबाट यति धेरै तरंग आएको छ वा ल्याइएको छ। यो त्यस्तो जरूरी छैन। अलिकति स्लिप (चिप्लिएको) भएको हो। म भोलिपल्ट आउँदै थिएँ। अघिल्लै दिन वक्तव्य नदिई नहुने केही कारण परेको थिएन।’

उनले प्रचण्डको वक्तव्यमा प्रयोग गरिएको भाषा पनि उपयुक्त नभएको बताए। ‘आन्तरिक मामिलामाथिको यो हस्तक्षेप र साम्राज्यवादी कूको प्रयास अस्वीकार्य छ,’ प्रचण्डले विज्ञप्ति भनेका थिए, ‘अमेरिकाले गत दशकदेखि आर्थिक नाकाबन्दी लगाई सैनिक हस्तक्षेपको डर देखाएर भेनेजुयलामा अस्तव्यस्तता ल्याउन प्रयास गरिरहेको छ। यो संयुक्त राष्ट्र संघको बडापत्र र शान्तिपूर्ण सहअस्तित्वमाथि गम्भीर चुनौती हो।’

प्रधानमन्त्रीले प्रचण्डले यति कडा भाषामा विज्ञप्ति निकाल्नुपर्ने जरूरी नभएको बताए। ‘एउटा जरूरी विषय थिएन। अर्को जुन भाषा प्रयोग भयो त्यो पनि उपयुक्त भएन त्यसले एउटा तरंग ल्यायो,’ प्रधानमन्त्रीले भने,‘ तर कोही एक जना साथीले निकालेको वक्तव्यमा देश-देशको सम्बन्ध अडेको हुँदैन। सम्बन्ध त्यसैबाट उत्पन्न भएको पनि होइन त्यसैबाट अन्त्य हुने पनि होइन। जानेर नजानेर यस्ता स-साना घटना र उतारचढाव हुन सक्छन्। केही लाइनको वक्तव्यमा युद्धको घोषणा त गरिएको छैन।’

उनले अमेरिकालाई विशाल र सवल मुलुक भएकाले यस्तो सानो कुरामा चित्त दुखाउनु आवश्यक नभएको तर्क गरे। ‘केही जीव कुनै सानो चिजले छुँदा प्राणै जाने खालका हुन्छन्। विशाल जनावरको त टाउकामा केही बस्यो भने पनि त्यसले थाहा पाउँदैन। अमेरिका त्यत्रो देशले यस्ता स-साना कुरामा अल्झिराख्नु वाञ्छनीय हुँदैन’ प्रधानमन्त्री ओलीले भने, ‘सम्बन्ध बिग्रियो भन्ने धेरै हल्ला छ त्यस्तो होइन। अलिकति आफ्नो नाम लिएर बोलिएको प्रसंगमा अमेरिकालाई अलिकति चित्त दुखेको होला।’

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि बेलाबेलामा चिप्लिने गरेको बताए। केही दिनअघि अमेरिकी सञ्चारमाध्यमले ट्रम्पले नेपाल र भुटानलाई भारतको भूमि मान्ने गरेको समाचार लेखेका थिए। ‘ठूलाहरूका पनि स्लिप हुन्छन्। हामी देखिरहेका छौं। हामीजस्तो सानो देशलाई अर्को देशको अंग हो भनेर कसैले भन्यो भने अलि धेरै चित्त दुख्ने होइन र!,’ प्रधानमन्त्री ओलीले भने, ‘अलिक सानो र कमजोर भयो भने चित्त दुखाउन पनि नपाउने ठूलो भयो भने धेरै चित्त दुखाउनु पर्ने हो र?’

उनले आफू त्यतिबेला नेपालमै भएको भए नेकपाको यस्तो विज्ञप्ति नआउने बताए। माघ ११ गते प्रचण्डले विज्ञप्ति जारी गर्दा प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डमा थिए। ‘हाम्रा स्पष्ट र स्थिर नीतिहरू छन्। त्यस सम्बन्धमा हामीले हाम्रा धारणा स्पष्ट पारिसकेका छौं। जस्तो भयावह चित्रण गर्न खोजिरहेका छन् त्यस्तो होइन,’ प्रधानमन्त्रीले भने, ‘त्यो स्लिप भएको हो त्यसमा अल्झिनु वाञ्छनीय हुँदैन।’

प्रकाशित मिति: Feb 7, 2019

प्रतिक्रिया दिनुहोस्