कांग्रेस संसदीय दलको नेतामा शाही निर्विरोध चयन
सुर्खेत : प्रदेश नम्बर ६ मा नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गरेको छ । कांग्रेसको प्रदेश सभा संसदीय दलले जीवनबहादुर शाहीलाई दलको नेतामा चयन गरेको हो । पूर्व पर्यटन मन्त्रीसमेत रहेका शाही मुख्यमन्त्रीको आकांक्षासहित प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बनेका थिए तर यो प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने भएको छ ।
दलको नेताका लागि शाहीको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन् । प्रदेश सभामा हुम्लाबाट विजयी भएका शाही कांग्रेसका केन्द्रीय सदस्य हुन्। प्रदेश सभाको निर्वाचनमा प्रत्यक्षतर्फ कांग्रेसबाट शाही मात्र निर्वाचित भएका थिए । हाल प्रदेश सभाका कांगे्रसका ६ जना मात्र सांसद छन् । संसदीय दलको नेताका लागि शुक्रवार वीरेन्द्रनगरमा निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको थियो ।
६ जना सांसद मध्ये शाहीले मात्र दलको नेताका लागि उम्मेदवारी दिएपछि उनी निर्विरोध चयन भएका हुन् । दलको नेतामा चयन भएपछि शाहीले प्रदेश सभाका सशक्त भूमिका निर्वाह गर्ने बताए।प्रदेशको समृद्धिका लागि सरकारलाई रचनात्मक सहयोग गर्ने उनको भनाइ छ । शाहीलाई दलको नेता चयन भएको प्रमाणपत्र प्रदान गर्दै कांग्रेस केन्द्रीय सदस्य हृदयराम थानीले प्रदेशको विकासमा नेतृत्वदायी भूमिका खेल्न आफ्नो पार्टी तयार रहेको बताए ।