Logo
१६ बैशाख २०८१, आईतबार
(August 24, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णाली सरकारले गर्‍यो ५७ जना कर्मचारीको सरुवा

कर्णाली प्रदेश सरकारले मन्त्रालय, प्रदेश मातहतका विभिन्न कार्यालयमा कार्यरत ५७ जना कर्मचारीहरूको सरुवा गरेको छ । गत ३२ साउनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निजामती कर्मचारीको सरुवा गरेको हो ।

विशेष गरी सहायकस्तर पाँचौँ तहका कर्मचारीहरूको सुरुवा गरिएको छ भने स्वास्थ्य क्षेत्रका कर्मचारीको पनि कार्य जिम्मेवारीमा हेरफेर गरिएको छ । यस्तै सहायकस्तर छैटौँ, नायब सुब्बा र अधिकृतहरूको पनि सरुवा भएको छ । मुख्यमन्त्रीको कार्यालयले अहिले कार्यरत कार्यालयबाट प्रदेश मातहतकै अर्को कार्यालयमा सुरुवा गरेको हो ।

भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका चारजना कर्मचारीलाई सरुवा गरिएको छ । मन्त्रालयमा लामो समयदेखि कार्यरत अधिकृत राजेन्द्र पौडेललाई योजना आयोगमा सुरुवा गरिएको छ ।

योजना आयोगमा कार्यरत अधिकृत सुनिल लिम्बुलाई पौडेलको ठाउँमा ल्याइएको छ । लिम्बुले आयोगमा हुँदा निमित्त कार्यालय प्रमुख भएर समेत काम गरेका थिए भने त्यसअघि उनी सामाजिक विकास मन्त्रालयमा थिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत शाखा अधिकृत नृपजङ्ग शाहीलाई कानुन मन्त्रालयमा कामकाजका रूपमा पठाइएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका पनि तीन जना कर्मचारीलाई सरुवा गरिएको छ । सरुवा हुनेमा एक जना शाखा अधिकृत, एक जना अधिकृत र एक जना सहायक रहेका छन् । शाखा अधिकृत जनकबहादुर हमाललाई प्रदेश सभा सचिवालयमा कामकाजका लागि खटाइएको छ भने भीमबहादुर कार्कीलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पठाइएको छ ।

यस्तै अर्थ मन्त्रालयका चार जना कर्मचारीको सरुवा गरिएको छ । अर्थ मन्त्रालयका दीपक प्रसाद शर्मालाई जलस्रोत मन्त्रालयमा पठाइएको छ भने गणेश प्रसाद श्रेष्ठ र जनक चपाइलाई प्रदेश अस्पताल सुर्खेतमा पठाइएको छ । यस्तै अर्थ मन्त्रालयकी कम्प्युटर सहायक इन्द्राकुमारी शाहीलाई प्रदेश वन निर्देशनालयमा पठाइएको छ ।

सबैभन्दा बढी सामाजिक विकास मन्त्रालयका पाँच वटा कर्मचारीको सुरुवा गरिएको छ । अन्य स्वास्थ्य संस्थाका कर्मचारीको पनि कार्यालय हेरफेर गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

जिल्लामा रहेका प्रदेश सरकार मातहतका कार्यालयका कर्मचारीको पनि हेरफेर गरिएको छ । पूर्वाधार विकास कार्यालय सल्यानमा कार्यरत टेकबहादुर क्षेत्रीको डिभिजन वन कार्यालय सल्यानमा सरुवा गरिएको छ ।

कृषि विकास कार्यालय हुम्लामा कार्यरत वीरेन्द्र बहादुर माझिलाई सामाजिक विकास मन्त्रालयमा तानिएको छ ।

शिक्षा विकास निर्देशनालयका दीपेन्द्रबहादुर शाहीलाई लोक सेवा आयोगमा पठाइएको छ भने लोक सेवा आयोगका भीमबहादुर गुरुङलाई स्वास्थ्य सेवा निर्देशनालयमा पठाइएको छ ।

शाखा अधिकृत रुपा विकलाई पदस्थापन गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कामकाजका लागि खटाइएको छ ।

सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले नियमित रूपमा गर्ने गरिएको सरुवा भएको बताए

‘कर्मचारी एउटै ठाउँमा र आफ्नो रोजाइमा बस्ने भन्ने हुँदैन,’ उनले भने,‘ कतिपय ठाउँमा काम नपाएर बस्ने अवस्था छ भने कतिपय ठाउँमा कर्मचारी नपुगेर काम रोकिने अवस्था छ ।’

सेवा प्रवाहलाई मध्यनजर गरेर कर्मचारीहरूको सरुवा गरिएको जिसीको भनाइ छ । अन्य मन्त्रालयहरूले पनि अब आवश्यकता अनुसार कर्मचारीको सरुवा गर्न सक्ने छन् ।

कर्णाली प्रदेश निजामती कर्मचारीको सरुवा तथा काज सम्बन्धी मापदण्ड, ०७७ अनुसार कर्मचारीको सरुवा गरिएको हो । सरकारले समायोजन भएका र कामकाज गर्न खटिएका निजामती कर्मचारीको सरुवा तथा काज सम्बन्धी कार्यलाई थप व्यवस्थित र पारदर्शी बनाउन उक्त मापदण्ड बनाएको हो ।

हेर्नुहोस् मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले सरुवा गरेका कर्मचारीको विवरण

प्रकाशित मिति: Aug 24, 2023

प्रतिक्रिया दिनुहोस्