चार महिनामै दिइने कोरोनाविरुद्धको बुस्टर डोज खोपले रोग प्रतिरोधी क्षमतामा असर पर्न सक्ने
युरोपेली स्वास्थ्य निकायले कोरोना भाइरसविरुद्धको खोप चार महिनामै बुस्टर डोजका रुपमा दिँदा रोग प्रतिरोधी क्षमतामा असर पार्न सक्ने चेतावनी दिएको छ ।
छोटो समयको अन्तरमा धेरै बुस्टर डोज दिँदा मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर गर्ने युरोपेली सङ्घ अन्तर्गतको स्वास्थ्यसम्बन्धी नियामक निकायले चेतावनी दिएको हो ।
युरोपेली मेडिकल नियामक निकायले लामो समयको अन्तर पारेर मात्रै बुस्टर डोज दिन सम्बन्धित देशलाई अनुरोध गरेको समाचार संस्था एफपीमा उल्लेख गरिएको छ ।
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण सङ्क्रमितको सङ्ख्या बढेपछि विभिन्न देशले बुस्टर डोज दिने तयारी गरेका छन् । बेलायत र इजरायलले दोस्रो पटक बुस्टर डोज दिने तयारी गरेका छन् ।
अमेरिका, फ्रान्सलगायतका देशमा पनि दोस्रो बुस्टर डोज दिनेबारेमा छलफल सुरु भएको छ ।