Logo
१८ बैशाख २०८१, मंगलबार
(August 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२० वर्ष पुराना सवारी चलाउन नपाइने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई निर्देशन

२० वर्षे सवारी साधन संचालनमा रोक लगाउने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको सिंहदरबारमा बसेको बैठकले २० वर्षे प्रावधानमा निकै गुनासो आएको भन्दै पुनर्विचार गर्न सरकारलाई निर्देशन दिएको हो ।

सिंहदरबारमा बसेको बैठकले २० वर्षे हदम्यादभन्दा पनि यान्त्रिक परीक्षण गरेर अनुमति दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिइएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइएकी छन् ।

बैठकले स्मार्ट सवारी चालक अनुमतिपत्र छपाई सम्बन्धमा टेन्डर गर्दा प्राविधिक समस्या देखिएको भन्दै टेन्डर गर्ने जिम्मेवार पदाधिकारीलाई कारवाहीको दायरामा ल्याउन पनि सरकारलाई निर्देश गरेको छ ।

समितिका सदस्यहरुले स्मार्ट सवारी चालक अनुमतिपत्र व्यवस्थापनमा समेत चुकेको भन्दै सरकारको आयोचना गरेका थिए ।

सांसद सञ्जयकुमार गौतमले स्मार्ट चालक अनुमतिपत्र व्यवस्थापनमा कमिशनको खेल हुने लाजमर्दो अवस्था आएको टिप्पणी गरे । सांसद गणेशकुमार पहाडीले सार्वजनिक सवारी साधन व्यवस्थित भए निजी साधन स्वतः हटेर जाने तर्क गरे ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र यातायात व्यवस्था विभागका महानिर्देशक नयराज घिमिरेले स्मार्ट सवारी चालक अनुमतिपत्रको व्यवस्थालगायतका विषयमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिएका थिए ।

प्रकाशित मिति: Aug 4, 2021

प्रतिक्रिया दिनुहोस्