भारतद्वारा अली एक्सप्रेससहित ४३ वटा मोबाइल एप्समाथि प्रतिबन्ध
छिमेकी देश भारत सरकारले मंगलबार सपिङसम्बन्धी वेबसाइट अली एक्सप्रेससहित ४३ वटा मोबाइल एप्सलाई प्रतिबन्धित गरेको छ ।
प्रतिबन्धित एप्सहरुमा सीमा विवाद जारी रहेका चीनका एप्सहरु पनि रहेका छन् ।भारतीय सूचना प्रविधि मन्त्रालयले प्रतिबन्धित एप्सहरुले भारतको सार्वभौमसत्ता र अक्षुण्णतालाई चुनौती दिएको जनाएको छ ।
प्रतिबन्धित एप्सहरुमा चीनको बहुराष्ट्रिय कम्पनी अलिबाबा ग्रुपसँग सम्बन्धित चारवटा एप्सहरु रहेका छन् ।
भारतले केही महिनाअघि लोकप्रिय भिडियो सेयरिङ एप टिकटक र मोबाइल खेल पब्जी समेतका चिनियाँ स्वामित्वमा रहेका केही मोबाइल एप्सहरुमाथि प्रतिबन्ध लगाएको थियो ।
भारत सरकारले चिनियाँ मोबाइल एप्सहरुले भारतीय प्रयोगकर्ताका गोप्य विवरणहरु संकलन गरी चीन पु–याएको आरोप लगाएको थियो ।
चीन र भारतबीच सीमावर्ती लद्धाखका विषयलाई लिएर महिनौंदेखि विवाद छ । तर सैनिक र कुटनीतिक तहमा सीमा विवादका विषयमा वार्ताहरु भइरहे पनि तनाव जारी छ ।
यी वार्तामा अघि सारिएका विषयका बारेमा विवरण सार्वजनिक भइरहेको छैन ।भारतको एप्स प्रतिबन्धलाई लिएर भारतीय सत्तारुढ दलले स्वागत गरेको छ ।
भारतमा हाल चिनियाँ मोबाइल एप्सहरु तिब्र गतिमा विस्तार र लोकप्रिय भइरहेका छन् ।कतिपय चिनियाँ कम्पनीहरुले भारतीय प्रयोगकर्ताका रुचीलाई समेटेर एप्सहरु निर्माण गरेका छन् ।