Logo
६ जेष्ठ २०८१, आईतबार
(May 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिन्धुली-मरिण डाइभर्सन आयोजनाको सुरुङ आज ब्रेक थ्रु हुँदै

 तराई मधेशमा बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याउने र बिजुली पनि उत्पादन गर्ने उद्देश्यका साथ निर्माण सुरु गरिएको सुनकोशी-मरिण डाइभर्सन आयोजनाको सुरुङ आज वारपार छेडिंदैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सुरुङ ब्रेक थ्रु गर्न लागिएको हो । त्यसका लागि प्रधानमन्त्री प्रचण्ड मंगलबार साँझै सिन्धुली पुगिसकेका छन् । उनले आज बिहान आयोजना अवलोकन गरी बाँकी काम छिटो सम्पन्न गर्न निर्देशन पनि दिएका छन् ।

आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका-२ कुसुमटारबाट सुरुङ खन्न सुरु गरिएको थियो । उक्त सुरुङ सुनकोशी गाउँपालिका-७ को सुनकोशी र तामाकोशी दोभानबाट करिब ९ सय मिटर तल पर्ने कानढुंग्री भन्ने स्थानसम्म छेडिने छ ।

सुरुङ खन्ने टनेल बोरिङ मेसिन (टिबिएम मेसिन) आज सुनकोसी नदी किनारको कानढुंग्रीबाट निस्किने छ ।

सुरुङको यो ब्रेक थ्रुलाई प्रत्यक्ष हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, मन्त्रीहरु, नेपालका लागि चिनियाँ राजदूत र उच्चपदस्थ कर्मचारी र स्थानीय जनप्रतिनिधिहरु सिन्धुलीमा भेला हुँदैछन् ।

आयोजना प्रमुख मित्र बरालका अनुसार २०७९ साल असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सो आयोजनाको सुरुङ २२ महिनाभित्र ब्रेक थ्रु गर्ने लक्ष्य राखिएको थियो तर ३ महिना २ दिनअघि नै सुरुङ ब्रेक थ्रु हुन लागेको हो ।

सो आयोजनामा कुल १३.३ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ ।

चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुपले सुरुङ खन्ने जिम्मा पाएको थियो । नेपालका लागि चिनियाँ राजदूत छन सङले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामा सुरुङ खन्ने काममा विश्व कीर्तिमान बनेको दाबी गत चैत दोस्रो साता गरेका थिए ।

सुनकोशीको पानी सुरुङमार्फत मरिण खोलामा खसालेर ३१ मेगावाट बिजुली उत्पादन पनि गरिनेछ । सोही पानीबाट धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाका कुल १ लाख २२ हजार हेक्टर जमिनमा बाह्रै महिना सिंचाइ सुविधा पुर्‍याउने सरकारको लक्ष्य छ ।

सुरुङमा पानी पठाउन सुनकोशी नदीमा ३० मिटर उचाइ र १ सय ५८ मिटर लम्बाइको बाँध बनाउने काम जारी छ । बाँध निर्माणका लागि नेपालको रमण समूहसँग भारतीय कम्पनी पटेल इञ्जिनियरिङको संयुक्त उपक्रमले जिम्मा पाएको छ ।

बाँध र विद्युत् गृह निर्माणमा केही ढिलाइ भए पनि तोकिएको समयभित्रै पूरा गर्ने निर्माण व्यवसायीको भनाइ छ । २०८४ सालको असोजमा सो आयोजना पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

 

प्रकाशित मिति: May 8, 2024

प्रतिक्रिया दिनुहोस्