हरियो वन तस्करको कब्जामा गएपछि सेना परिचालन !
काठमाडौं, २२ फागुन । नेपालीमा एउटा उखानै बनेको थियो हरियो वन नेपालको धन । तर अहिले त्यही उखान ठिक विपरित बन्दै हरियो वन तस्करको धन बनेको छ ।
यसरी हरियो वन तस्कारको कब्जामा गएको भन्दै सरकारले चुरे लगायतका वन क्षेत्रको संरक्षणमा सेना परिचालन गर्ने भएको हो । यसका निम्ति कानुनी अड्चन रहेतापनी कानूनी संशोधनमार्फत हटाउने तयारी अघि बढाइएको छ । वन तथा भू–संरक्षण मन्त्रालयले कानूनी संशोधनको तयारी तीव्र रुपमा अघि बढाएको हो ।
वन तथा चुरे संरक्षणमा विभिन्न खाले अवरोध सिर्जना भएको, वनका कर्मचारीहरुमाथि हमलाका घट्ना बढेको भन्दै मन्त्रिपरिषद्ले हालसालै नेपाली सेनालाई वन रक्षकको रुपमा काजमा खटाउने निर्णय गरेको थियो ।
यसअघि राष्ट्रिय निकुञ्ज र वन्यजन्तु संरक्षित क्षेत्रमा नेपाली सेना खट्दै आएकोमा सरकारले चुरे लगायत वन क्षेत्रको संरक्षणमा पनि झण्डै ७ सयजना नेपाली सेनालाई परिचालन गर्ने निर्णय गरेको हो ।
सुरक्षा निकायबाट निजामति निकायअन्तर्गत सेनालाई काजमा लैजान कानूनी अवरोध देखिएपछि वन, रक्षा र नेपाली सेनाका अधिकारीहरुले संयुक्त रुपमा विद्यमान अवरोध हटाउन कानून संशोधनको खाका तयार गर्न जुटेको मन्त्रालय स्रोतले बतायो ।