Logo
१८ बैशाख २०८१, मंगलबार
(October 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वायु प्रदूषण र कोरोना संक्रमणविच सकारात्मक सम्बन्ध रहेको छ : अध्ययन

विश्वभर भएको विभिन्न अध्ययनहरुले वायु प्रदूषण र कोरोना भाइरसको संक्रमण दर तथा त्यस मार्फत हुने मृत्युबिच सकारात्मक सम्बन्ध रहेको देखाएका छन् ।

हार्वर्ड विश्वविद्यालयले गरेको अनुसन्धानमा वायुमा हुने खतरनाक प्रदूषित कण (पिएम २.५) को मात्रा प्रति घनमिटरमा एक माइक्रोग्राम मात्रै वृद्धि भएमा पनि कोरोना भाइरसबाट हुने मृत्युदरमा ८ प्रतिशतले वृद्धि हुने देखिएको छ ।

यस्तै बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकहरुले गरेको अर्को अनुसन्धानमा प्रदूषित वायु रहेको क्षेत्रका बासिन्दा र उनीहरुमा कोरोना भाइरसको संक्रमणको गम्भीरताबिच सम्बन्ध रहेको पाइएको छ ।

कोरोना भाइरसको संक्रमणका सम्बन्धमा नाइट्रोजन अक्साइड, कारसहितका सवारी साधानबाट निस्कने धुवाँ तथा इन्धन जलाउँदा निस्कने धुवाँका कारण जमिनको तहमा रहेको ओजोन सबैभन्दा घातक रहेको देखिएको छ ।

प्रदूषित वायुले कोरोना भाइरसका कारण हुने संक्रमणलाई थप सघन र गम्भीर बनाउन सहयोग गर्ने अनुसन्धानकर्ता मार्को ट्राभाग्लिओले बिबिसीसँग बताएका छन् ।
भारतको राजधानी दिल्लीसहित उत्तरी क्षेत्रका अरु विभिन्न शहरमा वायु प्रदूषण पछिल्लो दुई हप्तादेखि लगातार बिग्रने क्रममा छ। वायुको गुणस्तर कम हुँदै जाँदा कोरोना भाइरसविरुद्धको युद्ध थप जटिल बन्दै गएको छ ।

दिल्लीको वायु प्रदूषण अबका केही महिनामा थप गम्भीर बन्ने विज्ञले बताएका छन् ।पछिल्ला हप्ताहरुमा दिल्लीको वायुमा एमपी २.५ को तह १८०-३०० माइक्रोग्राम प्रति घनमिटर रहेको छ ।

जुन विश्व स्वाथ्य संगठनले तय गरेको सुरक्षित स्तर भन्दा १२ गुणा माथि हो ।भारतमा वायु प्रदूषण र कोरोना भाइरस संक्रमण तथा त्यसबाट हुने मृत्युका सम्बन्धमा केन्द्रित भएर भएको अनुसन्धानको प्रतिवेदन आउन बाँकी छ ।

कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै लागु भएको लकडाउनका कारण दिल्लीसहित विश्वका अरु प्रदूषित शहरका बासिन्दाले स्वच्छ हावाको सास लिन पाएका थिए ।तर लकडाउन खुलेसँगै पुनः प्रदूषण बढेको हो ।

तर डाक्टर तथा सरुवा रोग विज्ञहरुले विगत लामो समयदेखि प्रदूषित वायुले कोरोना भाइरस विरुद्धको भारतको युद्धलाई प्रभावित गर्ने चेतावनी दिँदै आएका छन् ।

भारतमा कोरोना भाइरसबाट एक लाख १४ हजार ६ सय भन्दा बढीको ज्यान गएको छ भने संक्रमित हुनेको संख्या ७५ लाख ५० हजार भन्दा बढी पुगेको छ ।

प्रकाशित मिति: Oct 20, 2020

प्रतिक्रिया दिनुहोस्