प्रदेश २ सरकारले छठपछि प्रहरी जवानदेखि इन्सपेक्टरसम्म भर्ना प्रक्रिया सुरु गर्ने
प्रदेश २ सरकारले छठपछि प्रहरी जवानदेखि इन्सपेक्टरसम्म भर्ना प्रक्रिया सुरु गर्ने भएको छ ।
प्रदेश सरकारका प्रवक्ता आन्तरिका मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले आइतवार बसेको मन्त्रीपरिषदको बैठकले यसका लागि स्वीकृति दिएको जानकारी दिएका छन् ।
प्रहरी जवान, असई र इन्सपेक्टर पदका लागि प्रदेश लोकसेवा आयोग मार्फत आवेदन आह्वान गरिने उनले बताए । मन्त्री परिषदको बैठकमा उनले प्रहरी भर्ना सम्बन्धि ठाडो प्रस्ताव लगेका थिए ।
प्रदेशको शान्ति सुरक्षाको जिम्मेवारी प्रदेश सरकारको रहेको बताउँदै उनले संघीय सरकारले प्रदेशकालागि प्रहरी भर्ना गर्न नहुने बताए ।
मन्त्री परिषद बैठकमा प्रदेशसभाको चौथो अधिवेशन अन्त्य गर्ने सहमति भएको मन्त्री यादवले बताए ।संघीयता कमजोर पार्न संघीय सरकारले प्रदेशकालागि समेत कर्मचारी भर्ना गरेकोप्रति आपत्ती जनाएका छन् ।
प्रदेश विपत व्यवस्थापन सम्बन्धि प्रदेशको मस्यौदा निर्माणका लागि सैद्धान्तिक सहमति र दलित विकास समितिको उपाध्यक्ष पदको नियुक्ति गर्ने निर्णय गरिएको मन्त्री यादवले जानकारी दिए ।
यसका अतिरिक्त प्रदेश सरकारको कर्मचारीहरुको सरुवा तथा काज सम्बन्धि कार्यविधि २०७७ स्वीकृत गर्ने, प्रदेशको राजपत्र निर्देशिका २०७७को मस्यौदा स्वीकृत गर्ने निर्णय गरिएको हो ।