Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 7, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेश प्रदेशका लोसपा सांसद अभिराम शर्माको सेवासुविधा रोक्का

मधेश प्रदेशसभा सचिवालयले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मधेस प्रदेशसभा संसदीय दलका नेता अभिराम शर्माको सेवासुविधा रोक्का गरेको छ । माघ महिनादेखि उनको सेवासुविधा रोक्का गरिएको सभामुख रामचन्द्र मण्डलले बताए ।

२०७२ को मधेश आन्दोलनमा मारिएका सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले २८ मंसिरमा शर्मासहितलाई जन्मकैदको सजाय सुनाएको थियो ।

अदालतबाट फैसलासहितको पत्र औपचारिक रुपमा प्रदेशसभामा आएको छैन । सभामुख मण्डलका अनुसार गत माघ १४ गते प्रदेशसभा सचिवालयमा एक कापर थरका व्यक्तिले फैसलाको प्रतिलिपीसहित उजुरी दिँदै प्रदेश सांसद शर्माको पद निलम्बन र सेवासुविधा रोकाको माग गरेका छन् ।

पुससम्मको शर्माको सेवासुविधाको रकम खातामा प्रदेहसभा सचिवालयले पठाइसकेको छ । माघदेखि उनको सबै सेवासुविधा रोक्का गरिएको सभामुख मण्डल बताउँछन् ।

शर्मा महोत्तरी क्षेत्र नं ३ (क)बाट दोश्रो पटक प्रत्यक्ष निर्वाचित छन् । यसअघि २०७४ को निर्वाचनमा सोही क्षेत्राट जितेका शर्मा मुख्यमन्त्री लालबाबु राउतको सरकारमा सामाजिक विकास राज्यमन्त्री बनेका थिए ।

अदालतबाट फैसलासहितको पत्र आएपछि अथवा ७० दिनकटेपछि उनलाई निलम्बन गर्ने सभामुख मण्डलले बताए ।

‘उहाँको जन्मकैद फैसलाको ७० दिन पुगेको छैन । केहीदिन बाँकी छ । ७० दिन भित्र उहाँले जिल्लाको फैसलाविरुद्ध पुनरावेदन गर्न पाउँने कानूनी व्यवस्था छ । अदालतबाट फैसलाको पत्र औपचारिक आयो भने निलम्बन हुन्छ । नभए ७० दिन कटेपछि उहाँको पद निलम्बन हुन्छ ।’ सभामुख मण्डलले भने ।

फैसलाकै बेलादेखि प्रदेश सांसद शर्मा फरार छन् । उनी राष्ट्रिय सभाको चुनावमा मतदानमा समेत भाग लिएनन् ।

प्रकाशित मिति: Feb 7, 2024

प्रतिक्रिया दिनुहोस्