Logo
१५ बैशाख २०८१, शनिबार
(February 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेश प्रदेश : नेकपा एमालेद्धारा समर्थन फिर्ता लिने तयारी

नेकपा एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । आज मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत दिने दिन एमालेले समर्थन फिर्ता लिन लागेको हो ।

विश्वासको मत लिनका लागि दिउँसो २ बजे प्रदेश सभाको बैठक बस्दै छ । त्यसअघि मध्याह्न १२ बजे एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

एमाले संसदीय दलका नेता सरोज कुमार यादवले सरकारको कामकारबाही सन्तोषजनक नभएको भन्दै समर्थन फिर्ता लिने निर्णय हुन सक्ने बताए ।

‘सरकारको गतिविधि त्यति सन्तोषजनक छैन । यस्तो सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षको पनि मानमर्दन भइरहेको छ ।

त्यसैले आजको दलको बैठकबाट समर्थन फिर्ता लिने निर्णय हुन सक्छ,’ दलका नेता यादवले भने ।

यसअघि गत माघ ९ गते जनमत पार्टीले मधेश सरकार छाड्दै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएपछि मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिन लागेका हुन् ।

जनमत पार्टीले सभामुख रामचन्द्र मण्डललाई पत्र लेख्दै एमालेले सरकारलाई समर्थन कायमै राखेकाले आफूहरुलाई प्रमुख प्रतिपक्षी दलको हैसियत दिन आग्रह गरेको थियो ।

एमालेले मुख्यमन्त्री यादवलाई दुई पटकसम्म विश्वासको मत दिँदै प्रमुख प्रतिपक्षीको बेन्चमा बस्दै आएको छ ।

जनमत पार्टीले प्रमुख प्रतिपक्षीको बेन्चमा दाबी गरेपछि एमालेले समर्थन फिर्ता लिन लागेको एमालेका एक प्रदेश सभा सदस्यले बताए ।

‘आज एमालेले सरकारलाई दिएको समर्थन फिर्ता नलिए प्रमुख प्रतिपक्षी दलको पद गुम्छ । त्यसैले समर्थन फिर्ता लिनैपर्छ ।

आज १२ बजे बस्ने बैठकमा समर्थन फिर्ताको निर्णय हुन्छ,’ ती प्रदेश सभा सदस्यले भने । एमालेले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने र मुख्यमन्त्रीले लिने विश्वासको मत विभाजनमा एमाले विपक्षमा उभिने उनको भनाइ छ ।

मधेश प्रदेश सभामा १०७ सांसदमा एमालेका सबैभन्दा धेरै २४ जना छन् । यसैगरी कांग्रेसका २२, जनता समाजवादी पार्टीका १९, जनमतका १३, माओवादी केद्रका ९, लोसपाका ९ र एकीकृत समाजवादीका ७ सांसद छन् ।

नागरिक उन्मुक्ति पार्टी, राप्रपाका एक र एक स्वतन्त्र सांसद छन् ।

जनमतले सरकारलाई विश्वासको मत नदिने जनमतका सचिव बीपी साहले बताए ।

प्रकाशित मिति: Feb 18, 2024

प्रतिक्रिया दिनुहोस्