‘कोरोना’ कहर : श्रीलंकामा आजदेखि कर्फ्यु जारी
श्रीलंकाले ‘कोरोनाभाइरस’को संक्रमण रोक्न भन्दै शुक्रबार साँझदेखि लागू हुनेगरी चार दिनका लागि देशभर कर्फ्यु जारी गरेको छ ।
कोरोनाभाइरसको रोकथाम गर्न राष्ट्रपति गोटबाया राजपक्षले शुक्रबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेका हुन् ।
कर्फ्यु जारी भएसँगै सर्वसाधारण घरबाट निस्कन पाउने छैनन् । महत्वपूर्ण सेवाहरूमात्रै सुचारू हुनेछन् । श्रीलंकामा अहिलेसम्म ५३ जना कोरोना संक्रमित बिरामीहरू फेला परेका छन् ।
यसअघि, श्रीलंकाले सबै अन्तर्राष्ट्रिय उडानहरू बन्द गरेको थियो । गत बिहीबार श्रीलंकाले संसदीय चुनावलाई पनि अनिश्चितकालका लागि स्थगित गरेको थियो ।