Logo
२४ बैशाख २०८१, सोमबार
(April 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चार महिना पिछा गरेर प्रहरीले समात्यो सुन कारोबारी

प्रहरीले चार महिनासम्म पछ्याएर सुन कारोबारी समूहलाई नियन्त्रणमा लिएको छ।

एक किलो सात सय ६८.२५ ग्राम सुन र एक करोड ४३ लाख ६० हजार रुपैयाँसहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सात जना कारोबारीलाई नियन्त्रणमा लिई शुक्रबार सार्वजनिक गरेको हो।

सुन कारोबारी समूहलाई प्रहरीले काठमाडौं महानगरपालिका वडा नम्बर २४ धुछेन्नीबाट बिहीबार राति नियन्त्रणमा लिएको थियो। चार जना नेपाली र तीन जना भारतीय नागरिकलाई प्रहरीले सुन कारोबार आरोपमा नियन्त्रणमा लिएको हो।

दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ३ टाँटेका ४७ वर्षीय गणेशदत्त बडू, २१ वर्षीय आयुष बडू, भारतको महाराष्ट्रका ३७ वर्षीय अमोल बिभुते, १८ वर्षीय ऋषिकेशप्रकाश बिभुते, १८ वर्षीय गणेशसतिश बाल्टे, झापा बिर्तामोड नगरपालिका वडा नम्बर ३ का ३० वर्षीय दिनेश खरेल र २२ वर्षीय भरतराज खरेललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

घटनाको अनुसन्धानमा खटिएकी डिएसपी सुरक्षा केसीका अनुसार सुन कारोबारीहरूलाई फरक-फरक घरबाट नियन्त्रणमा लिइएको हो। गणेशदत्त, ऋषिकेशप्रकाश, अमोल, दिनेश, गणेशलाई एक घरबाट र भरतराज तथा आयुषलाई फरक घरबाट पक्राउ परेका हुन्।

उनीहरूमध्ये पाँच जनाको साथबाट एक हजार २.४ ग्राम सुन र एक करोड २६ लाख रुपैयाँ बरामद भएको प्रहरीको भनाइ छ। साथै पक्राउ परेका दुई जनाको साथबाट सात सय ६६.२५ ग्राम सुन र १७ लाख रूपैयाँ बरामद भएको हो।

डिएसपी केसीका अनुसार यो समूहले सुन कारोबार गर्छ भन्ने करिब चार महिना पहिले नै प्रहरीलाई जानकारी आएको थियो। डिएसपी केसी र दुई जना इन्स्पेक्टरले यो समूहको पिछा गरेका थिए।

‘उनीहरूले अवैध सुन कारोबार गर्छन् भन्ने थाहा पाए पनि प्रमाणसहित र एकैपटक पक्राउ गर्ने योजनाले पर्खिरहेका थियौं,’ डिएसपी केसीले भनिन्, ‘सून कारोबार हुने सूचना पाएपछि बिहीबार त्यस ठाउँमा पुग्यौं। एक घरमा कोठा भाडामा लिएर सुन कारोबार गर्ने गरेको भेटियो। त्यहाँबाट पाँच जना र अर्को घरबाट दुई जनालाई नियन्त्रणमा लिएको हो।’

सुन कारोबारका मुख्य अभियुक्त गणेशदत्त रहेको प्रहरीको दाबी छ। घटनामा संलग्न रहेका चार जना नेपाली नागरिक भने गणेशदत्तकै आफन्त रहेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार गणेशदत्त लामो समयदेखि अवैध सुन कारोबारमा संलग्न रहेको देखिन्छ। यसअघि २०७४ भदौ १९ गते काठमाडौं धोबीचौरबाट बरामद भएको ८८ किलो सुन प्रकरणमा पनि उनी पक्राउ परेका थिए।

त्यसबेला छुटेका उनी पुन: सुन कारोबारमा संलग्न रहेको पाइएको प्रहरीको भनाइ छ। ‘त्यतिबेला पक्राउ परेर पनि उनी छुटेका रहेछन्। कसरी छुटे भन्ने बुझ्ने काम भइरहेको छ, त्यसपछि पनि उनी सुनको अवैध कारोबारमा लागेको देखिन्छ,’ उनले भनिन्।

गणेशदत्तले सुनको कारोबारका लागि छोरा र आफन्त प्रयोग गरेको खुलेको छ। बिहीबार पक्राउ परेका २१ वर्षीय आयुष उनकै छोरा रहेको प्रहरीको भनाइ छ। आयुष अन्यत्र कुनै जागिर नखाई सुन कारोबारमै संलग्न रहेको दाबी प्रहरीको छ।

भरतराज र दिनेश भने गणेशका साढुदाइका छोरा रहेको प्रहरीको भनाइ छ।

‘विश्वासका लागि उनले आफ्नै परिवार र आफन्तलाई आबद्ध गराएको भन्ने बताएका छन्। यसबारेमा सम्बन्धित परिवारका अन्य सदस्य पनि जानकार रहेको हाम्रो आकलन छ,’ उनले भनिन्।

डिएसपी केसीका अनुसार काठमाडौंको बाफलमा गणेशको घर छ। तर सुन कारोबार गर्न उनले भाडामा कोठा लिएका थिए। प्रहरीसँगको बयानमा उनले पहिला आफू सुन पसलमा काम गर्ने गरेको बताएका छन्।

कोराना महामारी मत्थर हुन थालेपछि आफू सुन कारोबारमा लागेको गणेशदत्तले प्रहरीसँग भनेका छन्। पक्राउ परेका तीन जना भारतीय नागरिक सुन किन्ने पक्षका रहेको प्रहरीको भनाइ छ। उनीहरू पनि कोटेश्वरमा लामो समयदेखि भाडामा बस्दै आएको भन्ने खुलेको उनले जानकारी दिइन्।

गणेशले चीनबाट अवैध रूपमा सुन ल्याउने र यहाँका व्यवसायीलाई बेच्ने गरेको पाइएको छ। प्रहरीले यस कारोबारमा संलग्नबारे अनुसन्धान भइरहेको बताए। ‘अब कहाँ-कहाँ कनेक्सन छ भनेर अनुसन्धान हुने काम भइरहेको छ,’ उनले भने।

उनीहरूलाई थप अनुसन्धानका लागि शुक्रबार नै राजश्व विभाग कार्यालयमा बुझाइएको छ।

प्रकाशित मिति: Apr 26, 2024

प्रतिक्रिया दिनुहोस्